|

विराटनगर : विराटनगर महानगरपालिका १७ धुनिया बस्तीका २२ वर्षीय चुनु मण्डलले बिहीबार राति छुरा प्रहार गरी बाबुको हत्या गरेका छन्। पारिवारिक झगडाको क्रममा विवाद चर्किँदै गएपछि चुनुले छुरा प्रहार गरेर ५० वर्षीय बावु शशी मण्डलको हत्या गरेको प्रहरीले जनाएको छ।

छुरा प्रहारपछि गम्भीर घाइते भएका शशीको उपचारका क्रममा विराटनगरको नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो। छुरा प्रहारबाट उनको बायाँ कोखामा गम्भीर चोट लागेको थियो। प्रहरीका अनुसार शशीले बहुविवाह गरेका थिए। शशी, उनको जेठी पत्नीतर्फका छोरा २५ वर्षीय आकाश मियाँ मण्डल र कान्छी श्रीमतीतर्फका छोरा चुनुबीच घरयासी विवाद हुँदा घटना भएको हो। विवाद बढेर उग्र रुप लिएपछि चुनुले छुरा निकालेर बुवा शशी र जेठी आमातर्फका दाजु आकाशलाई प्रहार गरेका थिए। छुरा प्रहारबाट सौतेनी दाजु आकाशसमेत घाइते भएका छन्। उनको पनि नोबेलमै उपचार भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए।

बुबा र दाजुलाई छुरा प्रहार गरी फरार भएका मण्डललाई प्रहरीले नेपाल भारतको सीमा क्षेत्रबाट पक्राउ गरेको हो। छुरा प्रहार गरी फरार भएका चुनुको खोजी गर्ने क्रममा सीमा क्षेत्र जोगवनीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। छुरा प्रहार गर्ने चुनुलाई पक्राउ गरेर कर्तव्य ज्यान मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चुनु आपराधिक पृष्ठभुमिका युवा हुन्। उनी नेपालबाट मोबाइल चोरी गरेर भारतमा पुर्‍याएर बिक्री गर्ने धन्दामा लामो समयदेखि संलग्न रहेको खुलेको छ।

चुनुकी पत्नी अप्सरा खातुन समेत चोरी मुद्दामै मोरङ कारागारमा छन्। पति र पत्नि नै मिलेर चोरी गर्ने र विभिन्न खालका झैझगडा एवं आपराधिक गतिविधि गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.