'नेताहरू महाधिवेशनमा सुरक्षित हुन लाग्नुभयो'

|

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा शुक्रबार निकै भीडभाड देखिन्थ्यो। पार्टी निर्वाचनमा पराजित भएपछि सानेपामा यस्तो भीडभाड कमै मात्र देखिन थालेको थियो।

शुक्रबार भने देशभरका १६ सय बढी महासमिति सदस्यहरू केन्द्रीय कार्यालयमा उपस्थित हुँदा कार्यालयको मुहार नै फेरिएको थियो। तर कार्यालयमा उपस्थित महासमिति प्रतिनिधिहरूको मुहारमा भने निरासा मात्रै थियो। निर्वाचनमा पराजित भएको घाउ सुक्न नपाउँदै नेताहरू गुटगत रूपमा विभाजित भएको देखेर उनीहरू निकै निरास थिए। पार्टीको महासमिति बैठकमा भाग लिन आएका उनीहरूमा अब नयाँ ऊर्जाका साथ पार्टी चलाउने अपेक्षा थियो। तर काठमाडौं आइपुग्दा नेताबीचको विभाजित राजनीतिले उनीहरू दिक्क भए।

हरेक परिवर्तनको नेतृत्व गर्दै आएको पार्टीको अहिलेको अवस्था देखेर उनीहरू के गरौँ? कसो गरौँको अवस्थामा पुगेको उनीहरूको मुहारमा पढ्न सकिन्थ्यो। पूर्वदेखि पश्चिमसम्मका कार्यकर्ता भेटिएको पार्टी कार्यालयमा उनीहरू नेताप्रति आफूमा भएको दुखेसो एकअर्कामा साटासाट गरिरहेका थिए। ‘तपाईहरू एक हुनुहुन्न जसले पार्टीमा आगो लागेको छ। कसले निभाउँछ? अब निभाउनै पर्ने भएको छ’, रौतहटका महासमिति सदस्य राजदेव साह आफ्नो दुःख पोख्दै थिए। दुःख नपोखुन पनि कसरी अब नयाँ ऊर्जाका साथ काम गरौँ भनेर काठमाडौं आएका उनीहरू केन्द्रीय कार्यालयमा नेताहरूको विवादले निरास भए। बाहिर पार्टीको चिन्ता गर्दै महासमिति सदस्यहरू महासमितिमा कस्ता एजेन्डा प्रस्तुत गर्ने भन्ने योजना बनाइरहेका थिए। तर भित्र नेताहरू भने सहमतिका लागि वार्ता गर्न पनि सकिरहेका थिएनन्।

८५ जनाको केन्द्रीय समितिमा पास नभएको विधान मस्यौदा, राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव र कोषाध्यक्षको प्रतिवेदन महासमिति बैठकमा कसरी प्रस्तुत होला भन्ने चिन्तामा देखिन्थे महासमिति सदस्यहरू। ‘महासमिति बैठकमा पनि नेताहरूले खेल्छन्, महासमिति सदस्यहरूलाई विभाजित गर्ने उनीहरूको रणनीति छ’, झापाका महासमिति सदस्य सुरेश सुब्बाले भने, ‘सानो केन्द्रीय समितिमा पास नभएको प्रस्ताव यत्रो धेरै सदस्य भएको महासमितिमा कसरी पास होला?’

कांग्रेसको महासमिति बैठक शनिबारबाट आयोजना हुँदैछ। त्यसका लागि महासमिति बैठकका लागि देशभरबाट प्रतिनिधिहरू राजधानी आइपुगेका छन्। महासमिति बैठकपछि नवीन ऊर्जा लिएर आफ्नो ठाउँमा काम गर्न जाने योजना बनाएका महासमिति सदस्यहरू अहिले भने निरास छन्।

महासमिति बैठकमा प्रस्तुत हुने दस्तावेज अझै पार्टी केन्द्रीय कार्यालयबाट पारित हुन सकेको छैन। नेताहरू गुटगत रूपमा विभाजित भएका कारण दस्तावेजहरूमा सहमति हुन नसकेको हो।

एकताको सन्देश दिन बोलाइएको महासमिति बैठकमा सहभागी हुन आएका प्रतिनिधिहरू भने नेताहरूबीचको विभाजन देखेर निरास देखिन्थे। महासमिति बैठकमा प्रस्तुत हुने विधान मस्यौदामाथि अहिले पनि नेताहरू सहमतिमा पुग्न सकेका छैनन्। पार्टीको पदाधिकारी संख्या कति राख्ने, त्यसको निर्वाचन पद्धति कस्तो रहने भन्ने विषयमा नेताहरूबीच मतभेद छ।

महासमित बैठक आउन एक दिन मात्र बाँकी रहँदा पनि मस्यौदामा सहमति नजुट्दा आम कार्यकर्ता भने निरास भएको रौतहटका महासमिति सदस्य राजदेव साहले बताए। ‘निर्वाचनमा हार्ने नेताहरूलाई कहाँ दुख्छ र! उनीहरू काठमाडौंमा बस्छन्। शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाजीमा मेल नुहँदा पार्टी एक हुन सकेको छैन’, उनले भने, ‘उहाँहरू प्रधानमन्त्री बन्ने, सभापति बन्ने खेलमा लाग्नुभयो। त्यसकारण पार्टी निर्वाचनमा हार्‍यो। अहिले कार्यकर्ता बेहोस् छन्। नेताहरू झगडा गर्न छाड्दैनन्।’

पार्टीभित्र नेताहरूको विभाजनले कार्यकर्तामा वितृष्णा जागेको छ। महासमितिमा एक भएर जानुपर्ने आवस्थामा नेताहरू विभाजित भएर महाधिवेशनमा नेतृत्व हत्याउने होडमा लाग्दा आम कार्यतामा निरासा छाएको सुनसरीका महासमिति सदस्य उमेश थापाले बताए। ‘१४ औँ महाधिवेशनमा सुरक्षित हुने ध्याउन्नमा नेताहरू लागेका कारण उहाँहरू एक हुन सक्नु भएको छैन’, उनले भने, ‘देशको प्रमुख प्रतिपक्षी दल कमजोर हुँदा आम जनता नै निरास छन्। महासमिति बैठकमा नेताहरूमा एकता देखिनुपर्छ।’

केन्द्रमा भएको गुटबन्दीले पार्टी पराजयको बाटोमा गएको भन्दै तल्लो तहका कार्यकर्ताको मन भतभती पोलेको लम्जुङका महासमिति सदस्य कृष्णप्रसाद कोइरालाले बताए। पार्टीका नेताहरूले तल्लो तहका कार्यकर्ताको मर्म नबुझ्दा पार्टी पराजय हुन पुगेको उनी बताउँछन्। ‘हाम्रो पार्टीमा कार्यकर्ताको मूलयांकन नै छैन। हिजो जिल्लामा काम नगरेका नेताहरू एकै पटक केन्द्रीय सदस्य हुनुभएको छ’, उनले भने, ‘म दाबीका साथ भन्छु उहाँहरूले तलका कार्यकर्ताको समस्या नै बुझ्नुभएको छैन। उहाँहरू आफ्नो हित मात्रै हेर्नुहुन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.