|
दुर्घटनाका घाइतेहरू, फोटोः रासस

नुवाकोट : दुप्चेश्वर गाउँपालिका १ घ्याङफेदीमा शुक्रबार साँझ मिनीट्रक दुर्घटनामा मृतकको संख्या १८ पुगेको छ। दुर्घटनामा १६ जना घाइते भएका छन्।

घाइते सबैको उद्दार भइरहेको प्रहरीले जानकारी दिएको छ।

दुप्चेश्वर गाउँपालिका ६ सिम्टाङबाट घ्याङफेदीको सिसीपुतर्फ गइरहेको बा ३ ख ३९१३ नम्बरको मिनीट्रक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको दुप्चेश्वर गाँउपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिएका छन्। उनका अनुसार दुर्घटनामा तीन महिला र १५ पुरुषको मृत्यु भएको हो। उनीहरू सबैको घटनास्थलमा नै मृत्यु भएको हो। मृतकमध्ये घ्याङफेदीका रिभल तामाङ, आइते तामाङ र शिखरवेँशीका रितेश पण्डितको सनाखत भएको छ।

घटनास्थलबाट उद्धार गरिएकामध्ये सात जनालाई उपचारका लागि अस्पतालतर्फ पठाइएको छ भने बाँकीलाई यातायातका साधन नहुँदा उपचारका लागि पठाउन कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले बताए। अहिले घटनास्थलमा उद्धार कार्य भइरहेको उनले जनकारी दिए।

मिनिट्रकमा ४० भन्दा बढी व्यक्ति सवार रहेको प्रहरीले जानकारी दिएको छ। सिम्टाङस्थित आफन्तकहाँ आयोजित घेवामा सहभागीलाई बोकेर फर्किरहेको गाडी साँझ पाँच बजेतिर दुर्घटनामा परेको थियो। कच्ची सडकमा उकालोतर्फ जाँदै गरेको मिनीट्रक दुर्घटना भई सडकबाट झण्डै ५०० मिटर तल तादी खोलामा खसेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.