|

बैतडी : बैतडीका सात स्थानीय तहमा एम्बुलेन्सविहीन छन्। यहाँका पञ्चेश्वर, शिवनाथ, दोगडाकेदार, डिलाशैनी, सिगास, सुर्नया गाउँपालिका र मेलौली नगरपालिकामा एम्बुलेन्स छैन। ती स्थानीय तहमा अझै पनि सडक सञ्जाल नपुगेकाले एम्बुलेन्स खरिद नगरेको बताइएको छ।

मेलौली नगरपालिकाले एम्बुलेन्स खरिद गरिसकेको र केही दिनमै नगरपालिकामा पुग्ने नगरप्रमुख कृष्णसिंह नायकले बताए। सुर्नया गाउँपालिकाले एम्बुलेन्स खरिद गर्न टेण्डर भइसकेको र निकट भविष्यमै एम्बुलेन्स आउने गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले बताए। दोगडाकेदार गाउँपालिकाले चालु आर्थिक वर्षमा एम्बुलेन्स किन्ने निर्णय गरेको भए पनि आफैंले नकिन्ने र प्रदेश सरकारसँग अनुरोध गरेको गाँउपालिका अध्यक्ष चक्र कार्कीले बताए।

यस्तै, शिवनाथ गाउँपालिकाले पनि प्रदेश सरकारलाई अनुरोध गरेको छ। पञ्चेश्वर गाउँपालिकाले पनि एम्बुलेन्स किन्ने तयारी गरेको प्रवक्ता दशरथ मंगोलाले बताए। सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकाको केन्द्र र अन्य केही वडामा सडक सुविधा नपुगेकाले सडक पुगेपछि मात्रै एम्बुलेन्स खरिद गरिने जनाएका छन्। सिगास गाउँपालिकाले सडकलाई प्राथमिकतामा राखेकाले सडक पुगेपछि मात्रै एम्बुलेन्स किन्ने गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए।

स्थानीय सरकारले एम्बुलेन्स सेवा दिन नसक्दा जटिल बिरामी तथा दुर्घटना हुँदा उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता रहेको छ। एम्बुलेन्स सुविधा नहुँदा यहाँका नागरिकले बिरामीलाई अझै पनि बोकेर स्वास्थ्य संस्था तथा अस्पताल लैजानुपर्ने बाध्यता रहेको छ।

दशरथचन्द, पाटन र पुर्चौडी नगरपालिकामा मत्रा एम्बुलेन्स सेवा सञ्चालन छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.