|

बेत्रावती : नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीमा शुक्रबार साँझ मिनीट्रक दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या २० पुगेको र घाइते भएका १५ जनाको काठमाडौंमा उपचार भइरहेको छ। 

दुप्चेश्वर गाउँपालिका–६ सिम्टाङबाट घ्याङफेदीको सिसिपुतर्फ गइरहेको बा ३ ख ३९१३ नम्बरको मिनीट्रक घ्याङडाँडामा दुर्घटना हुँदा घटनास्थलमा नै १८ जना र उपचारका लागि अस्पताल लैजाने क्रममा एक र उपचारका क्रममा थप एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए। उनका अनुसार उक्त घटनामा तीन महिला र १७ जना पुरुषको मृत्यु भएको हो। 

मृतकमध्ये घटनास्थलमा ज्यान गुमाएका घ्याङफेदीका रिभल तामाङ, आइते तामाङ र शिखरवेशीका रितेश पण्डितको पहिचान भइसकेको छ। यसैगरी उपचारका लागि अस्पताल लैजाने क्रममा रामतीमा केनम तामाङको र उपचारका क्रममा शिक्षण अस्पताल काठमाडौ‌ंमा शुकराम तामाङको मृत्यु भएको दुप्चेश्वर गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए। 

उक्त दुर्घटनामा घाइते भएकालाई उपचारका लागि अस्पताल पठाउन सवारी साधनको अभावले ढिलाइ भएको थियो। साँझ भएको घटनामा घाइतेको उद्धार राति ८ बजेसम्म गरिए पनि सवारी साधनको अभावले अस्पताल पठाउन राति १० बजेसम्म कुर्नुपरेको उनले बताए। घाइतेलाई राति अबेर मिनीट्रकमा राखेर पठाइएको र बीच बाटोमा आइपुगेपछि मात्र एम्बुलेन्समार्फत काठमाडौं लगिएको हो। घाइतेमध्ये आठ जनाको शिक्षण अस्पताल र सात जनाको बीपी स्मृति अस्पतालमा उपचार भइरहेको छ। 

मिनीट्रकमा ४० भन्दा बढी यात्रु रहेको र दुर्घटनापश्चात् कोही हामफालेका र कोही मिनीट्रकको पछाडि भएकाले सुरुमा नै खसेर सामान्य घाइते भएका थिए। सिम्टाङस्थित आफन्तकहाँ आयोजित मृत्युसंस्कार पुगेर फर्किन लागेकासहित अन्य यात्रु बोकेको गाडी घ्याङडाँडामा दुर्घटनामा परेको स्थानीयवासी प्रेम स्याङताङले जानकारी दिए।

कच्ची सडकमा उकालोतर्फ जाँदै गरेको मिनीट्रक दुर्घटना हुँदा सडकबाट करिब ५०० मिटर तल तादी खोलामा पुगेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.