|

दार्चुला : दार्चुलाको गोकुलेश्वर विमानस्थल पुनः सञ्चालनका लागि दक्षिण दिशामा रहेका घर र पुल बाधक हुन सक्ने भएको छ। २५ वर्षदेखि बन्द रहेको विमान स्थल पुनः सञ्चालनका लागि अध्ययन गर्न शुक्रवार दार्चुला पुगेको प्राविधिकहरुको टोलीले यस्तो बताउको हो। 

२०४६ देखि सञ्चालनमा आएको यस विमानस्थल २०५० मा बन्द भएको थियो। इन्जिनियर बालकिशोर रेग्मीको नेतृत्वमा आएको नागरिक उड्डयन प्राधिकरणका तीन सदस्यीय प्राविधिक टोलीले गोकुलेश्वर विमानस्थलको अध्ययन गरेको हो। इन्जिनियर रेग्मीका अनुसार अहिले विमान स्थलको सामान्य अध्ययन गरिएको हो। उनले भने, ‘अहिले विमानस्थलको समान्य अध्ययन गरेका हौँ, अध्ययनपछि प्रतिवेदन तयार पारेर विभागलाई बुझाउँछौँ।’

टोलीको प्रारम्भिक अध्ययनमा घर र पुल विमानस्थल सञ्चालनको बाधक हुने देखिएको छ। विमानस्थल नजिकैका २/३ वटा घर र दार्चुला–बैतडी जोड्ने मोटर पुल विमान स्थल सञ्चालनमा बाधक देखिएको टोली प्रमुख रेग्मीले बताए। उनले भने, ‘घर र पुलको समस्या समाधान गर्न सके विमानस्थल सञ्चालनमा अन्य समस्या छैन।’

दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सांसद गणेशसिंह ठगुन्नाले विमानस्थल सञ्चालनका लागि अघिल्लो वर्ष पनि प्राविधिक टोली आएको बताए। जिल्लाको विकासको मेरुदण्डको रुपमा रहेको विमानस्थल सञ्चालनका लागि पहल भइरको सांसद ठगुन्नाको भनाइ छ। ‘गोकुलेश्वर विमानस्थल सञ्चालनका लागि कहिल्यै थाकिन्न,’ उनले भने, ‘सकारात्मक रिपोर्ट आए विमानस्थलको काम अघि बढ्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.