|

काठमाडौंः सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले समायोजनले कर्मचारीको वृत्तिविकास नरोक्ने बताएका छन्। काठमाडौं महानगरपालिकाको २४ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले बढी भएको ठाउँबाट कमी भएको ठाउँमा कर्मचारी पठाउने काम अध्यादेशमार्फत हुने बताए।

उनले तीनै तहमा केही समयमै कर्मचारी समायोजन गर्नेसमेत बताए। नेपालीलाई सुखी बनाउनका निम्ति जुन काम अगाडि बढाइएको छ त्यसले सफलतामा पुर्याउने बताए। साथै उनले अब हाजिर गरेर काम नगर्ने कर्मचारीलाई कारबाही गरिने बताए। ‘काम नगरेर तलब पकाउने कसैले गर्नुभएको छ भने अब यो चल्दैन,’ उनले भने, ‘सरकार अब सबै ठाउँमा गइसकेको हुनाले अब केन्द्रले गरिदिएन भनेर पनि हुँदैन।’

उनले काठमाडौं महानगरपालिकालाई स्रोत साधानको अभाव नहुने पनि बताए। ‘म गर्छु र सक्छु भनेर योजनाका साथमा आउनुभयो भने काठमाडौं महानगर देशकै सबैभन्दा उत्कृष्ट महानगर हुनेछ,’ उनले भने, ‘सबैभन्दा बढी जनतालाई सेवा, विकास दिने महनगर हुने दिन आउँदैछ।’ 

सोही कार्यक्रममा बोल्दै पर्यटनमन्त्री रवीन्द्र अधिकारीले काठमाडौं महानगर सांस्कृति महानगर भएकोले यसले सबै संस्कृतिको विकासमा मद्दत गरेको बताए। कला, संस्कृतिमा धनी महानगरले यसको पुनर्निर्माणका लागि जुन ढंगले काम गरेको छ त्यो पनि प्रशंसनीय भएको उनले बताए। धरहरा, काष्ठमण्डपलगायत सम्पदा निर्माणलाई तिब्रता दिएकोमा उनले खुसी व्यक्त गरे।

उनले महानगर र मन्त्रालय मिलेर आगामी २ वर्षमा सम्पूर्ण पुनर्निर्माणको काम सकिने बताए। पर्यटनका माध्यमबाट मुलुकलाई समृद्ध बनाउन लागि परेकाले त्यसका लागि काठमाडौं महत्वपूर्ण क्षेत्र भएको बताए। अब उनले काठमाडौंलाई सफा र प्रविधिमैत्री बनाउनुपर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.