|

चितवन : चितवनको सौराहामा अन्तर-प्रदेशसभा अनुभव आदान-प्रदान तथा अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ।

प्रदेश ३ को प्रदेश सभा सचिवालयको आयोजनामा भएको कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले नेपालमा संघीयता नयाँ अभ्यास भएको उल्लेख गर्दै त्यसलाई सफल बनाउने दायित्व सबैको भएको बताए। उनले अधिकार हस्तान्तरण गर्दै संघीयतालाई समृद्ध बनाउँदै जानुपर्नेमा जोड दिए। ‘अमेरिकामा अढाईसय वर्षदेखि संघीयता भए पनि त्यहाँ समस्या छन्,’ सभामुख महराले भने,‘समस्यासँग जुध्दै जाँदा परिपक्व हुन्छ।’

सभामुख महराले संसद सबै विचार र भावनाको अभिव्यक्त गर्ने थलो भएकाले संघीय संसद र प्रदेश सभाबीच साझा फोरम निर्माण गरेर नियमित अन्तरक्रिया र छलफल गरेर समस्या समाधान गर्नुपर्नेमा जोड दिए। 

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसद र प्रदेश सभाले साझा अधिकारका सूचीबारे आगामी हिउँदे अधिवेशनबाट छलफल हुने बताउँदै त्यसपछि प्रदेश सभालाई कानुन बनाउन सहज हुने विश्वास व्यक्त गरे। उनले सरकारले बिजनेस नदिएसम्म प्रदेश सभा कामविहीन हुने उल्लेख गर्दै तर प्रदेश सभाले काम गरेन भनेर गलत प्रचार हुने गरेको बताए। उनले प्रदेश सभामा भौतिक पूर्वाधार र कर्मचारी व्यवस्थापनमा समस्या रहेको बताउँदै ती समस्यालाई समस्या समाधान गर्नुपर्नेमा जोड दिए।

प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले नयाँ संविधान कार्यान्वयनका लागि अन्तर प्रदेश सभाबीचको छलफल फलदायी हुने विश्वास व्यक्त गरे। ‘संसदीय अभ्यासालई प्रक्रियामा लैजान चुनौती छन्,’ उनले भने, ‘संसदीय अभ्यासलाई उचाइमा पुर्‍याउन एउटा इँटाको काम गर्नेछ।’ राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले संघीय संसद र प्रदेश सभाका समस्या साझा रहेको बताउँदै मिलेर समाधान गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा प्रदेश सभाका सभामुख र उपसभामुखले भौतिक पूर्वाधार, मानव संशाधन र मर्यादा क्रम निर्धारण सच्याउनुपर्नेमा जोड दिए।

प्रदेश सभाका सभामुख, उपसभामुखले संसदीय प्रणालीका ज्ञान भएका जनशक्ति नभएको, दरवन्दीको व्यवस्था न्यून रहेको, मर्यादाक्रम नमिलेको, प्रदेशका पदाधिकारी संघ जाँदा समन्वय अभाव रहेको बताए। उनीहरूले साझा सूची व्यवस्थित गर्न ढिला भएको पनि बताए। उनीहरूले संसदमा काम गर्ने कर्मचारीले अतिरिक्त समयको सुविधा नभएको, कर्मचारी प्रदेश सभामा काम गर्न इच्छुक नरहेकोलगायतका अनुभव राखे।

उपसभामुखहरूले भने आफूहरुको मर्यादाक्रम सच्याउनुपर्ने, भूमिका बढाउनुपर्नेमा जोड दिए। संघ र प्रदेश सभाका कानुन निर्माणको अवस्था, समस्या, भौतिक पूर्वाधारसहित आन्तरिक व्यवस्थापनलगायतका विषयमा अनुभव आदान प्रदान गर्न कार्यक्रम गरिएको हो। संघीय संसद र प्रदेशसभाबीच अनुभव आदान-प्रदान गर्न पहिलोपटक गत भदौ ३ गते काठमाडौंको चन्द्रागिरीमा संघीय संसद र प्रदेशसभाको नेतृत्वबीच सामूहिक अन्तरक्रिया भएको थियो।

कार्यक्रममा संघीय संसद (प्रतिनिधिसभा, राष्ट्रिय सभा) तथा प्रदेश सभाका पदाधिकारी एवं सचिवहरूको सहभागिता थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.