|

डडेल्धुरा : बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले गन्यापधुरा गाउँपालिकामा कृषि फर्म स्थापना गरी सञ्चालन गरिएको छ। गाउँपालिकाको १५ लाख बराबरको लागतमा कृषि फर्म सञ्चालन गरी युवालाई कामको जिम्मेवारी दिइएको हो। 

कृषि फर्ममा नर्सरीदेखि कृषि जन्य वस्तु उत्पादन र पशुपालन समेत थालिएको छ। गाउँपालिकाअन्तर्गत कृषि र पशु शाखाको प्राविधिकसँगै केही रकम पनि कृषि फर्ममा लगानी गरिएको छ। कृषि फर्ममा व्यवसायिक रुपमा च्याउ उत्पादनसँगै गिरीराज जातका कुखुरा, स्थानीय गड्डी भैँसी, बाख्रा पालन र सिमी, खुर्सानीलगायतका तरकारी खेती पनि गरिएको छ।

बाँझो रहेको करिब तीन सय रोपनि जमिनमा कृषि फर्म सञ्चालन गरिएको हो। ४० परिवारको साझा रुपमा रहेको आवादी बाँझो जमिन स्थानीयले १५ वर्षसम्म निःशुल्क रुपमा गाउँपालिकालाई दिने निर्णय गरेपछि कृषि फर्म सञ्चालन गरिएको गन्यापधुरा गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बताए। 

स्थानीय देउवाहरूको नाममा आवादी जमिनसम्म सडक पुगेको, पानीको सुविधा भएको तथा गाह्रा कान्ला भएको खेतीपाती योग्य जनिममा खेती पाती गर्न छाडेपछि बाँझो रहेकाले बहुउद्देश्यीय कृषि, पशु, नर्सरी सञ्चालन गरी बढ्दो बेरोजगारीलाई कम गर्न गाउँपालिकाले कृषि फर्म सञ्चालन गरेको अध्यक्ष मल्लको भनाइ छ। 

कृषि फर्ममा पशु शाखाले तीनवटा स्थानीय गड्डी जातका भैँसी खरिद गरी अनुदान दिएसँगै अहिले दुईवटा भैँसीले दूघ दिने गरेका छ। भैँसी पालनको जिम्मेवारी सम्हालेका युवाले अहिले दुईवटा भैँसीको दूध बडाल बजारमा बिक्री गर्न थालेका छन्। फर्ममा आबद्ध युवाले व्यवसायिक रुपमा च्याउ खेती सुरु गरी एकपटक च्याउ पनि बिक्री गरेको बताए। 

कृषि फर्ममा पहिलो पटक ४०० बलमा च्याउ खेती थालिएपछि १० क्विन्टल जति बजारमा बिक्री गरेको अरु उत्पादन स्थानीयलाई समेत बाडिएको च्याउ खेती सञ्चालन गरेका स्थानीय हिरा भण्डारीले बताए। ‘नर्सरीमा कल्किलगायतका फुलका विरुवा बाहिर बिक्री गरी पठाइयो।’ उनले भने, ‘अहिले दोस्रो पटकमा अनार, मौसम, कागतीलगायतका फलफुलका विरुवा उत्पादन गरेका छाैं। यहाँ नै माग भए बमोजिम विरुवा उत्पादन गरिएका हुन्।’ 

बाँझो रहेको जमिनमा पहिलो पटक तरकारी खेती गर्न थालिए पछि सिमी र खुर्सानी लगाएको बताउँदै आर्का स्थानीय जुन देउवाले अनार, चुक, मौसम र कागतीका विरुवा पनि रोपेको बताए। ‘एकरएक हजार भन्दा बढी फलफूलका विरुवा र दुईरदुई रोपनीमा सिमी र खुर्सानी लगाएका छौँ।’ उनले भने, ‘भैँसी र बाख्राका लागि विभिन्न जातका डाले घाँस पनि रोपेका छौँ।’ 

नर्सरीमा विभिन्न फलफुल, डाले घाँस, रिठा, कोइराल, पुष्प गरी ७५ हजार विरुवा उत्पादन गरिएका छन्। कृषि फर्ममा भु क्षय रोक्नसँगै प्रसस्त मात्रामा पशुलाई आहारको सहजै उपलब्ध गराउन इलाका वन कार्यालय गन्यापधुराले पाँचहजार डालेघाँस र कल्की फूलका विरुवा उत्पादन लगायत नर्सरीको घेरबार र पूर्ण रुपमा प्राविधिक सहयोग गरेको सहायक वन अधिकृत गोकुल पौडेलले बताए।

व्यवसायिक पशुपालन विकास गर्न डालेघाँसका विरुवा उत्पादन गरी लगाइन लागेको हो। उनले भने, 'वनमा चाप कम गर्न पनि घाँसका विरुवा उत्पादन गरिएको हो' उनले थपे, ‘कल्की फूलले मौरीपालनमा पनि सघाउँछ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.