|

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–४ असैनामा शनिवार आयोजित आँखा शिविरमा ७८१ जनाले सेवा लिएका छन्। धनगढी नेपाल आँखा अस्पतालको प्राविधिक तथा नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित आँखा शिविरमा ३२६ पुरुष र ४५५ महिलाले सेवा लिएको जनाइएको छ।

शिविरमा उपचारका लागि पुगेकामध्ये ९३ जनामा मोतिया बिन्दु पाइएको अस्पतालका प्रबन्धक गजेन्द्र चन्दले बताए। मोतिया बिन्दु भएका सबै रोगीको अस्पतालले निःशुल्क शल्यक्रिया गरिने उनले बताए। यस्तै, ३३० जनालाई निःशुल्क चस्मा समेत उपलब्ध गराइएका जनाइएको छ। ‘शिविरमा नजिकबाट पढ्न सकिने चस्मा उपलब्ध गराएका छौं,’ उनले भने, ‘सहभागी अन्य अवस्थाका आँखाका बिरामीलाई अस्पतालबाट २५ प्रतिशत मूल्यमा छुट गरी चस्मा दिने व्यवस्था गरेका छौं।’

शिविर सञ्चालन भएका क्षेत्रका दलित, आदिवासी जनजाति र विपन्न परिवारका मोतिया विन्दुका रोगी अस्पताल आए निःशुल्क शल्यक्रिया गरिने प्रबन्धक चन्दले बताए। आँखाबाट पानी बग्ने, आँखामा मासु पलाएका र जलविन्दु भएका बिरामी समेत शिविरमा फेला परेको छ।  शिविरमा आँखा चेकजाँचका लागि पुगेका सुगर र प्रेसर भएका अधिकांशमा आँखाको जटिल समस्या देखिएको छ। 

शिविरमा आँखा उपचारमा पुगेका बिरामीलाई औषधि र परामर्श समेत निःशुल्क रुपमा प्रदान गरिएको छ। शिविरका लागि औषधि खरिद गर्न शुक्लाफाँटा नगरपालिकाले ५५ हजार रुपैयाँ रकम उपलब्ध गराएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.