पाँचथर, धनकुटा र तेह्रथुमका वेंशी क्षेत्रमा खडेरीले हिउँदे बाली सखाप

|

पाँचथर : दक्षिणी पाँचथरको बेँशी क्षेत्रका किसानहरूका लागि यति बेला हिउँदे बाली थन्क्याउने चटारोको हुने सिजन हो। मकै, जुनेलो, कोदो, बदामसँगै दलहन बालीहरू थन्क्याउन भ्याइनभ्याइ हुन्थ्यो। तर, यस वर्ष असोज किसानहरू फुर्सदिला छन्। खडेरीले हिउँदे बालीले उत्पादन नदिएपछि लगाएका बालीहरू असोजमै काटेर गाईवस्तुलाई घाँस दिन बाध्य भए।

त्यसैले बाली थन्क्याउने चटरो हुने सिजन बाली थन्क्याएर फुर्सदिलो हुने माघ÷फागुनजस्तै भएको छ। घरका भकारी खाली छन्। किसानले अन्नको एक दाना पनि थन्क्याउन पाएनन्। ‘वर्षे बाली दानै भित्रिएन। हिउँदे पनि उस्तै। बारीमा हरियो भन्ने केही रहेन,’ तुम्बेवाको ढुकुरेका गोपाल दाहालले दुखेसो पोख्दै भने, ‘घरमा उब्जनी भन्ने केही थन्क्याइन। रित्तो भो घर। सबै सखाप भो।’

वेँशी क्षेत्रका किसानहरुले अन्न किनेर खान थालेका छन्। अघिल्ला वर्षहरुमा अन्न बेचेका उनीहरुले यस्तो समय २०३४ सालपछि यस वर्ष आएको तुम्बेवा गाउँपालिका– १ तेर्सेका ७१ वर्षीय नेत्रबहादुर देवान बताए। ‘बसाइँ जाऔँ कहाँ जाने? बसौँ यस्तो समय आउँछ। के खाएर बस्ने’ उनले भने, ‘परार सालको अन्न खाँदै छु । बढो बिजोग भो।’

पाँचथरको तुम्बेवा, कुम्मायक, तेह्रथुमको छथर, मेन्छ्यायेम, आठराई र धनकुटाको चौबिसे गाउँपालिकाको वेँशी क्षेत्रमा खडेरीले हिउँदे बालीनाली सखाप छ। वर्षे नभए पनि हिउँदे बाली हुँदा केही राहत पुग्ने गरे पनि यस वर्ष दुवै सिजनमा बाली उत्पादन भएन। जसले गर्दा यस वर्ष खाद्य संकट निम्तिने अवस्था आएको नेत्रबहादुरले बताए। ‘भात खान नपाइएला जस्तो छ। पैसा हुनेले चामल किनेर खालान् नहुनेको बेहालत हुने भो,’ उनले भने, ‘यस्तो समय कहिल्यै नआओस्।’ दुवै सिजनमा हुने बाली खडेरीले सखाप भएपछि किसानहरुलाई खानेसँगै बीउको पनि चिन्ताले सताएको छ।

प्रदेश १ सरकारले स्थानीय सरकारमार्फत खडेरीले प्रभावित क्षेत्रका तीन जिल्लाका तीन हजार ७९० परिवारलाई जनही पाँच हजार रुपैयाँका दरले राहत प्रदान गरेको थियो। प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रवहादुर आङ्बोका अनुसार राहत स्वरुप किसानहरुलाई एक करोड ८९ लाख ५० हजार रुपैयाँ गत असोजको अन्तिममा दिएको हो। यता दुई हजार ५०० रुपैयाँ दिने भनेको स्थानीय सरकारले भने अझैसम्म राहत नदिएको खडेरी प्रभावित किसानहरूको गुनासो छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.