|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि आक्रमण भएको भन्दै आक्रोश व्यक्त गरेका छन्।
नेपाल कानुन व्यवसायी संगठनहरुको एकता घोषणा कार्यक्रममा आइतबार पार्टी कार्यालय धुम्बाराहीमा सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रपतिको आलोचना र विरोध गर्न नहुने बताए।'कहिले राष्ट्रपतिलाई गाडी भन्या छ ? कहिले प्रहरीको तालिम केन्द्र सार्ने भनेको छ ? कहिले के भन्या छ ? राष्ट्रपति कुन दलको भन्या छ ?', उनले भने, 'यसरी चौतर्फी आक्रमण गर्नु हुँदैन।'

कार्यक्रममा प्रधानमन्त्री ओलीले महाराजगन्जमा रहेको तालिम केन्द्र प्रहरीलाई साँघुरो भएको बताए। 'त्यहाँको ठाउँ सानो भएपछि काभ्रेमा सार्ने निर्णय १५ वर्ष अगाडि भएको थियो', उनले भने, 'फुटबल खेल्न पनि नपुग्ने ठाउँमा प्रहरीलाई कसरी तालिम हुन्छ ?' राष्ट्रपतिलाई पनि स्थान थोरै भएको प्रधानमन्त्री ओलीले बताए। उनले भने, 'सानो ठाउँमा कसरी बस्ने ? कसरी काम गर्ने ?'

नेपाली कांग्रेसप्रति आक्रमक देखिएका ओलीले नेकपालाई कसैले पनि किस्तीमा राखेर सत्ता नदिएको बताए। 'हामीले पाएको जनमतको कदर गर्न प्रतिक्रियावादीहरूले सक्नुपर्छ', उनले भने, 'हामीले गरेको कामको प्रसंशा गर्नुपर्छ। राम्रा काम गरेका छौँ।'

नेकपामा दुई अध्यक्ष रहेर राम्रो काम गरेको बताउँदै ओलीले भने, 'संविधानले मान्दैन। नत्र दुई वटा प्रधानमन्त्री बनाउँथ्यौँ।' ओलीले दुई वटा प्रधानमन्त्री बनाउने कुरा गर्दै हलमा रहेका नेता तथा कार्यकर्ता हाँसेका थिए।

प्रधानमन्त्री ओलीले आफूलाई धेरै नबोल्न भनेर दिएको सुझावप्रति पनि आपत्ति जनाए। 'म राजनीतिक मान्छे हो, नेकपाको अध्यक्ष हो। प्रधानमन्त्री पनि हो', उनले आक्रोशित हुँदै भने, 'म नबोलेर को बोल्छ ? बोल्छु।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.