|
कर्मचारीविहिन गुल्मीको धुर्कोट गाउँपालिका

गुल्मी : गुल्मीका स्थानीय तहमा कर्मचारीको अभाव देखिएको छ। दरबन्दीअनुसार केन्द्रले कर्मचारी नपठाउँदा स्थानीय तहलाई काममा समेत समस्या परेको छ। स्थानीय तहले सेवाग्राहीको कामलाई मध्यनजर गर्दै करारमा कर्मचारी नियुक्त गरे पनि ती पनि पर्याप्त छैनन्। गुल्मीका स्थानीय तहमा तोकिएको दरबन्दीको आधा पनि कर्मचारी छैनन्। नागरिकले स्थानीय सरकारमा सबै काम हुन्छन् भन्ने अपेक्षा गर्छन् तर कर्मचारी नहुँदा भने निराशा पैदा हुने गरेको छ।

कम कर्मचारी हुने गाउँपालिका

गुल्मीको चन्द्रकोट गाउँपालिकाको कुल दरबन्दी संख्या ३४ हो, जसमध्ये प्रशासनमा मात्रै आठ कर्मचारीको दरबन्दी केन्द्रले तोकेको छ। तर त्यहाँ एक जना मात्रै कर्मचारी केन्द्रले पठाएको छ। गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत छन् तर नायब सुब्बा कोही छैनन्, जबकि गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत अधिकृत स्तरको हुन्छ। यदि कारणबस प्रमुख प्रशासकीय अधिकृत बिदामा बसे वा अनुपस्थित भएमा नायब सुब्बा स्तरको कर्मचारीले काम गर्नुपर्ने व्यवस्था छ तर गाउँपालिकामा कोही पनि नायब सुब्बा स्तरका कर्मचारी नहुँदा बेलाबेलामा खरिदारको भरमा गाउँपालिका चल्नुपर्ने बाध्यता रहेको अध्यक्ष द्रोण खत्रीले जानकारी दिए।

साथै उनले चन्द्रकोट गाउँपालिका प्रदेश ५ मै कम कर्मचारी हुने गाउँपालिका रहेको समेत गुनासो गरे। केन्द्रले कर्मचारी नपठाएपछि गाउँपालिकाले करारमा भए पनि कामचलाउ कर्मचारी नियुक्त गरेको छ। गाउँपालिकाले कुल १० जना कर्मचारी करारमा नियुक्त गरेको जनाएको छ, जसमध्ये प्रत्येक वडामा एक/एक जना कार्यालय सहायक, इन्जिनियर र ओभरसियर छन्।

कर्मचारी संख्या ५० प्रतिशत पनि छैन

मुसिकोट नगरपालिकाको कुल दरबन्दी संख्या ४२ हो तर अहिले १८ जना मात्रै दरबन्दीमा छन्। नगरपालिकामा इन्जिनियर, ओभरसियर र सवओभरसियरको दरबन्दी छ तर प्राविधिकतर्फ एक जना पनि कर्मचारी छैनन्, जसका कारण नगरपालिकाले करारमा कर्मचारी नियुक्त गरेर काम गरिरहेको छ। त्यसैगरी नगरपालिकामा कृषिमा दुई जना कर्मचारीको आवश्यकता पर्छ तर दरबन्दीमा एक जना पनि छैनन्। पशु चिकित्सक, स्वास्थ्य क्षेत्र र लेखा अधिकृतको पनि दरबन्दी छ तर त्यो दरबन्दी कागजमै सीमित भएको छ। गाउँपालिका करारमै भए पनि कर्मचारी नियुक्ति गरेर काम गर्न बाध्य भएको नगर प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए। 

छत्रकोट गाउँपालिकामा कार्यालय सहायकदेखि प्रमुख प्रशासकीय अधिकृतसम्म २९ जना कर्मचारीको दरबन्दी छ तर हाल ११ जना मात्र कार्यरत छन्। गाउँपालिकामा अधिकृत स्तरको इन्जिनियरको व्यवस्था छ तर केन्द्रले नपठाएपछि करारमा नियुक्त गरिएको छ। त्यसैगरी अन्य दुई जना इन्जिनियर र कार्यालय सहयोगी दुई जना पनि करारमै नियुक्त भएका छन्। गाउँपालिकामा नायव सुब्बा स्तरका १५ कर्मचारीको दरबन्दी भए पनि छ जना मात्र उपलब्ध छन्। त्यसैगरी प्राविधिकतर्फ आठ कर्मचारीको दरबन्दी भए पनि करारमा एक जना नियुक्त गरेर काम चलाएको प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्यालले जानकारी दिए। लेखा शाखामा पनि दुईवटा दरबन्दी भए पनि एक जनाको पद रिक्त छ। त्यस्तै, गाउँपालिकामा कृषि, प्रशासनलगायतका विभागमा कर्मचारीको अभाव देखिएको अधिकृत पौड्यालले बताए। मदाने गाउँपालिकामा पनि पाँच जना कर्मचारी करारमा नियुक्त भएका छन्।

कम्युटर अपरेटर, ओभरसियर र कार्यालय सहयोगी करारमा छन् भने दैनिक ज्यालादारीमा तीन जनाले काम गरिरहेको सूचना अधिकारी ऋषि पन्थीले जानकारी दिए। त्यस्तै, रेसुङ्गा नगरपालिकामा नायव सुब्बा स्तरको कर्मचारीको अभाव भएको सूचना अधिकारी शंकरप्रसाद गौतमले बताए। धुर्कोट गाउँपालिकाको कुल कर्मचारी दरबन्दी संख्या ३१ हो तर हाल २३ कर्मचारीले मात्र हाजिर गर्छन्। छ जना नायव सुब्बाको दरबन्दीमा दुई जना मात्र उपलब्ध छन्। बाँकी चार पद रिक्त छ। लेखापालमा कर्मचारी भए पनि सहलेखापालको दरबन्दी खाली छ। दरबन्दीका प्राविधिक कर्मचारी एक जना पनि छैनन् भने वडा नम्बर- १ नयाँगाउँमा सचिवको पद रिक्त रहेको प्रमुख प्रशासकीय अधिकृत लोकहरि थापाले जानकारी दिए।

काम गर्नका लागि गाउँपालिकाले करारमा आठ जना कर्मचारी नियुक्त गरेको छ, जसमध्ये पाँचवटा वडामा एक/एक जना कार्यालय सहयोगी र गाउँपालिकामा तीन जना नियुक्त गरिएको थापाले जानकारी दिए। दुई वडा सचिवलाई गाउँपालिकाको प्रशासन शाखाको पनि जिम्मेवारी दिइएको छ।

दरबन्दी संख्याको ३५ प्रतिशत मात्र कर्मचारी

रुरु गाउँपालिकामा पनि ४० जना कर्मचारीको दरबन्दी छ तर यस गाउँपालिकामा १४ मात्रै कर्मचारी हाजिर छन्। अरू आवश्यक केही कर्मचारी करारमा नियुक्त गरिएको प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले जानकारी दिए। स्थानीय तहमा विषयगत शाखाको छुट्टै कर्मचारीको व्यवस्था गरिएको छ, जसअनुसार शिक्षातर्फको दुई स्रोत व्यक्ति (आरपी)को दरबन्दी छ तर रुरुमा आरपी नै छैनन् भने कृषि र भेटरनरीको दरबन्दी नै कायम नगरिएको प्रमुख प्रशासकीय अधिकृत गिरीले जानकारी दिए। छ वटा वडामा चार सचिवले काम गरेका छन्। त्यस्तै, चार वडामा एक-एक जना कार्यालय सहायक करारमा नियुक्त गरिएको छ। थानापति, बलेटक्सार, रुरु र ग्वादीमा करारमा कर्मचारी नियुक्त गरिएको गिरीले जानकारी दिए।

२१ जनासम्म कर्मचारी करारमा नियुक्त

सत्यवती गाउँपालिकामा पनि पाँच जना नायव सुब्बाको पद रिक्त छ। तीनवटा वडामा सचिव नै छैनन् भने प्रत्येक वडामा इन्जिनियर नै नभएको प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले जानकारी दिए। केन्द्रले आवश्यक कर्मचारी नपठाएपछि गाउँपालिकाले कुल २१ जना करारमा कर्मचारी नियुक्त गरेर गुजारा चलाएको छ। गाउँपालिकाको कार्यालयमा दुई जना इन्जिनियर, तीन जना कार्यालय सहयोगी, सबै वडामा कार्यालय सहायक करारमा नियुक्त गरिएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले जानकारी दिए।

एकै सचिवले एकदेखि चारवटा वडासम्म

जिल्लामा कर्मचारीको अभाव भएपछि एकै कर्मचारीलाई धेरै कामको जिम्मेवारी दिइएको छ। सबैजसो स्थानीय तहका अधिकांश कर्मचारीहरूलाई दुई वा सोभन्दा बढी वडा र वडाको जिम्मेवारी पाएका सचिवले गाउँपालिकाको कुनै न कुनै शाखा सम्हाल्नुपर्ने बाध्यता छ। जिल्लाको चन्द्रकोट गाउँपालिका कर्मचारी विनोद भट्टराईले चारवटा वडाको काम गर्छन्। उनलाई वडा नम्बर १, ४, ५ र ६ को काम गर्नुपर्ने बाध्यता छ। सोही गाउँपालिकाकै डिलबहादुर थापालाई पनि वडा नम्बर ७ र ८ को जिम्मवारी दिइएको छ। त्यति मात्र होइन, उनलाई गाउँपालिकाको प्रशासन शाखाको पनि जिम्मा लगाइएको छ। त्यस्तै, मन्जु घिमिरेले वडा २ र ३ तथा गाउँपालिकाको राजस्व शाखा हेर्नुपर्ने बाध्यता रहेको अध्यक्ष द्रोण खत्रीले बताए।

मुसिकोट नगरपालिकामा पनि एउटै कर्मचारीले दुईदेखि तीनवटासम्म शाखाको जिम्मा लिएका छन्, जसमध्ये घनश्याम खरेलले वडा नं. २ र ४ को काम गर्छन्। सूर्य सोमैले वडा नं. ७ र ८ तथा नवराज घिमिरेले वडा नं. ५ र नगरपालिकाको प्रशासन फाँट हेर्नुपर्ने बाध्यता रहेको नगर प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए।

छत्रकोट गाउँपालिकामा पनि पाँच जना कर्मचारीले दोहोरो जिम्मेवारी लिएका छन्। खरिदार हुमनाथ पन्तलाई गाउँपालिकाको प्रशासन र योजना शाखाको जिम्मेवारी तोकिएको छ। भूषण भुसाललाई सूचना प्रविधि अधिकृत र राजस्व शाखाको जिम्मेवारी तोकिएको छ। त्यस्तै, प्रमोद भट्टराईलाई कृषि र पशु शाखा, अशोक श्रेष्ठलाई वडा नं. ४ र ६ तथा मेघलाल पाण्डेलाई वडा नं. १ र २ मा सचिवको जिम्मा लगाइएको गाउँपालिकाले जनाएको छ। धुर्कोट गाउँपालिकामा पनि दुई जना कर्मचारीले दोहोरो जिम्मेवारीमा काम गरिरहेका छन्। ईश्वरी भण्डारी र गिरी श्रीसले गाउँपालिकाको प्रशासन शाखाको जिम्मेवारी लिएका छन्।

काममा समस्या

‘गाउँगाउँमा सिंहदरबार’को मूल मर्म नागरिकको घरदैलोमै सेवा पुर्‍याउनु हो अर्थात् प्रत्येक नागरिकले आफूले सरकारबाट पाउने सेवा सुविधाहरू छिटो, छरितो रूपमा पाउनेछन्। तर स्थानीय तहमा कर्मचारीको अभाव हुँदा नागरिकलाई सोचेजस्तो सेवा दिन नसकिएको स्थानीय तहहरूले बताएका छन्। ‘कर्मचारीको माग गरेका छौँ, पाउने आश्वासन पनि छ’, मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले भने, ‘तर अझैसम्म कर्मचारी आइपुगेका छैनन्, काममा निकै समस्या छ।’ रुरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीका अनुसार गाउँपालिकामा कर्मचारीको अभावले गर्दा योजना निर्माण, योजना कार्यान्वयनलगायतका काममा समस्या छ। ‘नागरिकले कर्मचारीले काम गरेनन् भन्छन् तर यहाँ जनशक्ति नै छैन’, गिरीले भने, ‘सेवा प्रहावमा कठिनाइ भएको छ।’

गाउँपालिकामा विषयगत शाखाको दरबन्दी नै नतोकिनु, आरपी जस्ता महत्त्वपूर्ण पदमा केन्द्रले कर्मचारी नपठाउनु जस्ता पक्ष स्थानीय सरकार संचालनमा दुखद् भएको बताए। गाउँपालिकामा आवश्यक कर्मचारी नहुँदा व्यवसाय दर्ता, योजनाको इष्टिमेट बनाउने, सचिवले दोहोरो जिम्मेवारी पाउँदा समयमै काम नहुने जस्ता समस्या नागरिकले भोग्न बाध्य छन्। ‘एउटै सचिवले धेरैतर्फको जिम्मेवार बहन गर्दा स्वाभाविकै अर्कोतर्फको सेवाग्राहीलाई असर पुग्छ’, मालिका गाउँपालिकाका प्रवक्ता शोभाकर गिरीले भने, ‘अझैसम्म पनि नागरिकलाई गाउँगाउँमा सिहंदरबारको अनुभूति दिलाउन सकिरहेका छैनौँ।’ प्रशासन हेर्दा वडा छुट्ने र वडा हेर्दा प्रशासनको काम छुट्ने भएकाले नागरिकमा समग्र कर्मचारीप्रति नै नराम्रो दृष्टि बनेको मदाने गाउँपालिकाका सूचना अधिकारी ऋषि पन्थीले बताए।

'समाधानको पहल भइरहेको छ'

स्थानीय तहहरूमा भएका समस्याको समाधानका लागि ‘गाउँपालिका महासंघ’ गठन गरिएको छ। कर्मचारीको अभावसम्बन्धमा समाधानको पहल भइरहेको ‘गाउँपालिका महासंघ’ प्रदेश ५ ले जनाएको छ। ‘कर्मचारीको सम्बन्धमा हामी मन्त्रालयमा नै डेलिगेसन गएका छौँ, पठाउने आश्वासन आएको छ’, गाउँपालिका महासंघ ५ नम्बर प्रदेशका अध्यक्ष मधुकृष्ण पन्तले भने, ‘तर केन्द्रले अझै पठाएको छैन।’ लामो समयदेखि नै केन्द्रले आफूहरूलाई कर्मचारीको सम्बन्धमा झुलाउँदै आएको उनले दुखेसो पोखे। यदि केन्द्रले समयमै कर्मचारी नपठाए स्थानीय तहले आफैँ करारमा भए पनि कर्मचारी नियुक्ति गरेर काम चलाउने क्रम नरोकिने उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.