फिचर

छोराको आशमा आधा दर्जन बढी छोरी
SHARES

पुस ४, २०७५

    ओखलढुंगा : नेपाली संस्कार र संस्कृतिको आडमा आधा दर्जन बढी सन्तान जन्माउने आमाहरू प्रशस्त मात्रामा भेटिने गरेका छन्। वंश जोगाउने र छोराको आशमा धेरै सन्तान जन्माउने आमाहरू गाउँघरमा भेटिने गरेका हुन्। शिक्षाको पहुँचबाट टाढा रहेको ग्रमीण भेगमा परिवार नियोजनका अस्थायी साधनको पहुँचबाट समेत टाढा भएका कारण र धर्म, संस्कृति र संस्कार जोगाउने आडमा सन्तान बढी जन्माउने गरेको पाइन्छ।

    हिन्दु संस्कारमा छोरा नभए पुण्य नहुने तथा स्वर्ग नगइने डरले पनि छोराको आशमा आफूले १० वटा सन्तान जन्माएको सिद्धिचरण नगरपालिका- ९ की ७२ वर्षीया विष्णुकुमारी खड्काले बताइन्। सन्तान धेरै जन्मिए पनि आफू आजसम्म स्वस्थ रहेको उनको भनाइ छ। काम गर्न मेलामा गएकै बेलामा पनि आफूले सन्तान जन्माएको स्मरण गर्दै खड्का भन्छिन्, 'आजका नानीहरूको शरीर कस्तो भएको हो, दुईवटा सन्तान जन्माएपछि रोगी भइहाल्छन्। हाम्रा पालामा जस्तो औषधि उपचार नहुने भए धेरैले बच्चा जन्माउन नसकेर नै ज्यान गुमाउनुपर्ने रहेछ!' 

    आजका महिलाहरूलाई संकेत गर्दे उनले भनिन्, 'के विघ्न रोगी भएका! सधैा अस्पताल मात्रै धाएका देखिन्छ। मैले धेरै छोरी पाएर के भयो र! छोरीहरू सबैले रोजगारी पाए। सबैले पढेका छन्। म धेरै खुसी छु।' आफूले छोरी धेरै जन्माए पनि सबै छोरीहरू आआफ्नो काम गर्न थालेकामा खुसी लाग्ने गरेको उनको भनाइ छ।

    त्यस्तै, लिखु गाउँपालिका-  ६ की गंगा भट्टराईले छोराको आशमै सात छोरी जन्माएको उनी बताउँछिन्। आफूले जन्माएका सन्तानमध्ये एउटी छोरी कक्षा ६ मा पढ्दै गर्दा निमोनियाका कारण मृत्युसँग जुध्न नसकेकी भए पनि छ छोरी र एक छोरासँगै रहेको उनले बताइन्। सन्तान धेरै जन्माएको भए पनि आफू आजसम्म स्वस्थ नै रहेको उनको भनाइ छ। आफ्नो कुल र वंश धान्नकै लागि आफूले सानो परिवारको कल्पना गर्दा गर्दै आठवटा सन्तान जन्मिएका गणेशप्रसाद भट्टराईले बताए। भट्टराई बन्धुहरूको वंशावली तयारी हुँदा आफ्नोसम्म नाम उल्लेख भएको र परिवारमा दाजुभाइ कसैको पनि वंश अगाडि बढ्न नसक्दा र लामो समयसम्म छोरो नहुँदा आफूलाई नरमाइलो लाग्ने गरेको भट्टराईको भनाइ छ। छोरो जन्मिएपछि आफनो वंश पनि एक पुस्ता अगाडि बढेको देख्न पाउँदा आफूलाई खुसी लागेको उनले बताए।

    लिखु गाउँपालिका- ८ का भीमप्रसाद पौडेलका पनि आठवटी छोरी मात्रै जन्मिए छोराको आशा गर्दा गर्दै सन्तान धेरै भएको पौडेल बताउँछन्। वंश धान्नका लागि भने पनि एउटा छोरा चाहिने भनेर धेरै सन्तान जन्माएको तर श्रीमतीको उमेर सकिएपछि सन्तान जन्माउन बन्द भएको उनले बताए। तर पछि आएर छोरा होस् या छोरी, सन्तान आफ्नै हुन्। छोराको काम छोरीले पनि गर्न सक्ने रहेछन् भन्ने होस खुलेको र छोराको आशमै धेरै सन्तान जन्माउनु नहुने रहेछ भन्ने होस आएको उनको भनाइ छ।

    सिद्धिचरण नगरपालिका- ९ का एक परिवारले पनि आफ्नो वंश धान्नकै लागि सातवटी छोरीको जन्मपछि अब बुढ्यौलीले छोयो भनेर सन्तान नजन्माउने सल्लाह गरे पनि गाउँमा रिसइवीका कारण 'अपुत्राको सम्पत्ति प्यारो' भनेर कुरा काट्न थालेपछि श्रीमान् श्रीमतीको सल्लाहमा नवौँ सन्तानका रूपमा छोरा जन्मिएपछि आफू खुसी भएको बताए। त्यसपछि कसैले अपुत्रा भनेर भन्न नसकेको ती दम्पत्तीले बताए। आफूले सन्तान धेरै जन्माए पनि आजसम्म कुनै रोग नलागेको त्यो परिवारको भनाइ छ।

    कार्यालय सहयोगीदेखि जनप्रतिनिधि पनि वंश धान्ने चपेटामा

    ओखलढुंगाको लिखु गाउँपालिका- ८ तथा साविकको टारकेराबारी- ४ का विशालकुमार पौडेलले शिक्षण पेसा गर्थे। उनको परिवार  शैक्षिक तथा राजनीतीक रूपमा निकै अग्रस्थानमा देखिने परिवार हो। गाउँकै विद्यालयमा लामो समयसम्म प्रधानाध्यापक भएका उनी २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा एमालेको तर्फबाट निर्वाचितसमेत भए।

    उनी पनि छोराको आशामा आठ सन्तानका बाबु बने। तीन छोरीपछि छोरा जन्मिएको भए पनि 'एउटा छोरो के छोरो, एउटा आँखो के आँखो' भन्ने नेपाली उखानलाई पछ्याउँदै अर्को छोराको आशमा सातवटी छोरी भएको उनी बताउँछन्। आफू पढेलेखेको मान्छे भए पनि पछिल्लो समयको जस्तो प्रविधी र परिवार नियोजनका अस्थायी साधनहरू पाइने भएको भए सन्तान धेरै नहुने उनी बताउँछन्।

    पौडेलले घुमाउरो पारामा स्वास्थ्य क्षेत्रमा अहिलेको जस्तो प्रविधि भएको भए लिंग छुट्टिनेबित्तिकै छोरी भए गर्भ पतन गराउने कुरालाई स्वीकार गरे।

    जिल्लाको सिद्धिचरण नगरपालिका- ३ का नरनाथ दाहाल पेसाले निजामती कर्मचरी हुन्। उनी जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा कार्यालय सहयोगीको रूपमा कार्यरत छन्। आफूले पढेलेखेको भए पनि संस्कार र संस्कृतिको आडमा सन्तान धेरै जन्माएको बताउँछन्।

    पाँच छोरी भएपछि 'फलानाका त छोरा नै नहुने भए' भन्दै गाउँघरका मान्छेले धेरै कुरा काटेको र छोरा नहुँदा त वंशको नाश हुने डरले नै निरन्तर छोरीहरू जन्मिएको दाहालको भनाइ छ। सातवटा सन्तान जन्मिसके पनि छोरा नहुँदा उनलाई नरमाइलो लागेको थियो। आठौँ सन्तानको रूपमा छोरा जन्मिएपछि आफूमा खुसीको सीमा नै नरहेको उनले बताए। सन्तान धेरै भए पनि सबैलाई राम्रोसँग पढाउन नसकेको उनको भनाइ छ। नानीहरूको पढाइ राम्रो भए पनि उनीहरूले भनेको विषय पढाउन नसक्दा कताकता नरमाइलो लाग्ने गरेको दाहालले बताए।

    जिल्लामा यी त केही प्रतिनिधि पात्र मात्रै हुन्। हाम्रो समाजमा छोराको आशमा आधा दर्जन बढी सन्तान जन्माउने आमाबाबु प्रशस्त मात्रामा पाइन्छन्। पचासको दशक अगाडि पहाडी तथा दुर्गम स्थानहरूमा शिक्षाको पहुँचबाट टाढा, शैक्षिक स्तर केही बढी देखिए पनि स्वास्थ्यको पहुँचबाट टाढा रहेका दुर्गम क्षेत्रहरूमा सन्तान बढी हुनु स्वाभाविक भएको स्थानीयहरू बताउँछन्। तर २०५० को दशकको आधा समय गएपछि अर्थात् २०५५ पछि भने हरेक गाउँमा स्वास्थ्यचौकी स्थापनादेखि लिएर गाउँगाउँमा स्वास्थ्यसंबन्धी प्राविधिक शिक्षा अध्ययन गर्नेहरूको संख्या वृद्धि भए पनि लिंगकै आधारमा गर्भ पतन गराउनेको संख्या प्रशस्त मात्रामा पाइन्छ।

मनोज भट्टराई

भट्टराई थाहाखबरका ओखलढुंगा संवाददाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]