|

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कहिले संस्थापन समूह त कहिले असन्तुष्ट समूहमा ढल्किएको आरोप लाग्ने गरेको छ। गत वर्ष भएको कांग्रेस संसदीय दलको निर्वाचनमा सभापति शेरबहादुर देउवालाई सहयोग गरेको आरोप लागेका कोइराला पछिल्लो समय असन्तुष्ट समूह निकट देखिन्छन्। उनी वरिष्ठ नेता रामचन्द्र पौडेलको प्यानलबाटै १३औँ महाधिवेशनमा महामन्त्रीमा निर्वाचित भएका थिए तर महामन्त्रीमा निर्वाचित भएपछि भने उनले क्रमश: पौडेलको समूह छाड्दै छुट्टै उपगुट चलाउँदै आएका थिए। 

देउवासँग केही समय नजिकिएका कोइराला पछिल्लो समय भने देउवाविरुद्धको मोर्चामा सक्रिय छन्। उनले देउवाविरुद्धको मोर्चालाई पटक पटक आफ्नै निवासमा बोलाएर छलफलसमेत गरिसकेका छन्। तर महासमिति बैठकमा उठाउनुपर्ने केही एजेन्डामा भने उनको छुट्टै ‘लाइन’ देखिएको छ। उनले असन्तुष्ट समूहको भन्दा छुट्टै मत राखेका छन्। महासमिति बैठकमा उनले हिन्दु धर्मका विषयमा पनि एजेन्डा उठाउने मनस्थिति बनाएका छन्।

धर्मका विषयमा जनमतसंग्रह गर्नुपर्ने बताउँदै आएका महामन्त्री कोइरालाको विचारसँग असन्तुष्ट समूहका नेता नै सन्तुष्ट छैनन्। संविधान बनाउन नेतृत्व गर्ने पार्टी संविधानमा व्यवस्था भएको धर्मनिरपेक्षको खिलाफमा जान नहुने संस्थापनइतर समूहको निष्कर्ष छ। असन्तुष्ट समूहका नेता कृष्णप्रसाद सिटौलाले पनि शशांकको यो मुद्दालाई रुचाएका छैनन्। धर्मको मुद्दाले कुनै हालतमा पार्टी ठूलो हुन नसक्ने उनको तर्क छ। 

महामन्त्री कोइराला आफ्नो एजेन्डासँग असन्तुष्ट समूहका नेताहरूको एजेन्डा नमिलेपछि उनी बेलाबेला समूहबाटै टाढिने गर्छन्। तर पार्टीमा फुट होइन, एकता आवश्यक रहेको उनी बताउँछन्। ‘आमकार्यकर्ताले पार्टी एक ढिक्का भएको देख्न चाहन्छन्। अब हामी एक ढिक्का हुनुपर्छ’, डा. कोइरालाले भने, ‘शेरबहादुर दाइ र रामचन्द्र दाइ एक हुनुहोस्, यसका लागि म जस्तोसुकै सहयोग गर्न तयार छु।’

असन्तुष्ट समूहमा रहेका कोइरालको एजेन्डा भने उनीहरूको भन्दा अलिक फरक छ। अहिले विधान मस्यौदामा शीर्ष नेताहरूबीच निकै चर्चाचर्की चल्दै छ। महासमिति बैठक सुरु भइसकेको छ। महासमितिको मुख्य उद्देश्य विधान संशोधन गर्नु हो तर उक्त विधान मस्यौदामाथि केन्द्रीय समितिमै नेताहरूले सहमति गर्न सकेका छैनन्। नेताहरूबीच सहमति नहुँदा महासमितिमा अहिले अन्य दस्तावेजमाथि छलफल भइरहेको छ। विधान मस्यौदामाथि नेताहरू गुटगत रूपमा विभाजित हुँदा विधान मस्यौदामा सहमति जुट्न सकेको छैन। 

संस्थापन समूह र असन्तुष्ट समूहबीच आआफ्नै स्वार्थका कारण विधानले अन्तिम रूप पाउन सकेको छैन। संस्थापन समूहका नेताहरूले आधा पदाधिकारी निर्वाचित र आधा मनोनीत गर्नुपर्ने अडान राखेको छ भने संस्थापनइतर समूहले सबै पदाधिकारी निर्वाचित गर्नुपर्ने अडान राखेको छ। असन्तुष्ट समूहले केन्द्रीय समितिको आकार बढाउँदा पदाधिकारीको पनि बढाउनुपर्ने र उपसभापति वा सहमहामन्त्रीमध्ये एउटा पदमा सात जना राख्नुपर्ने धारणा राखेका छन्। 

तर यो विषयमा भने संस्थापनइतर समूहकै मनिएका महामन्त्री कोइरालाको भने फरक मत छ। उनले सभापतिलाई कमजोर बनाउन नहुने बताएका छन्। ‘सभापतिलाई कमजोर बनाउनुहुँदैन’, उनले भने, ‘त्यस कारण मनोनीत गर्ने अधिकार पनि हटाउनुहुँदैन।’ पदाधिकारीको संख्याको विषयमा पनि उनको फरक मत छ। पदाधिकारीलाई पूर्णतः ‘पिरामिड’ शैलीको बनाउनुपर्ने उनको भनाइ छ। ‘पदाधिकारी पिरामिड शैलीको हुनुपर्छ। यसमा म स्पष्ट छु’, उनले भने, ‘उपसभापति दुई, महामन्त्री तीन र सहमहामन्त्री चार हुनुपर्छ भन्ने मेरो भनाइ हो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.