|

काठमाडौं : नेकपाका स्थायी कमिटी सदस्य रघुवीर महासेठविरुद्ध नेकपाकै केन्द्रीय सदस्यले उजुरी हालेका छन्। नेकपाको केन्द्रीय सचिवालय बैठकले स्थायी कमिटी गठन गर्दा स्थायी कमिटीका लागि अयोग्य व्यक्तिलाई मनोनीत गरेको भन्दै नेकपाका केन्द्रीय सदस्य श्रीप्रसाद साहले उनीविरुद्ध पार्टीलाई उजुरी हालेका हुन्।

नेकपाको अन्तरिम विधानअनुसार न्यूनतम् योग्यता नपुगेका व्यक्ति महासेठलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको भन्दै केन्द्रीय सदस्य साहले नेकपाको अध्यक्ष र महासचिवलाई उजुरी हालेका हुन्।

नेकपाको अन्तरिम विधान-२०७५ को धारा ३४ (ख)अनुसार केन्द्रीय कमिटीको पदाधिकारी र स्थायी कमिटी सदस्य हुन कम्तिमा एक कार्यकाल पोलिटब्युरो सदस्य भएर वर्तमान केन्द्रीय कमिटीको सदस्य हुनुपर्ने भन्ने उल्लेख गरिएको छ। तर नेता महासेठ हालसम्म कुनै पनि कमिटीमा पार्टीको पोलिटब्युरो सदस्य नभएको भन्दै नेता साहले उक्त निर्णय बदर गरी सच्याउन आग्रह गर्दै पार्टी अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल 'प्रचण्ड' र महासचिवलाई उजुरी हालेका हुन्।

'कमरेड रघुवीर महासेठसमक्ष अनेकन अलौकिक दक्षता होलान् तर स्थायी कमिटीको सदस्य हुन चाहिने न्यूनतम् योग्यता रहेको छैन। किनकि उहाँ २०५४ मा तत्कालीन नेकपा एमालेको विभाजनपश्चात् गठित नेकपा मालेको बैकल्पिक केन्द्रीय सदस्य र पूर्ण सदस्य हुँदै पार्टी पुनः एकीकरण हुँदा केन्द्रीय उद्योग व्यवसाय विभागको सदस्य हुनुभयो', उजुरी पत्रमा भनिएको छ, '२०५९ सालमा जनकपुरमा भएको सातौँ महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजीत भएपश्चात् केही समयको अन्तरालमा पुनः केन्द्रीय सदस्यको जिम्मेवारी प्राप्त गर्नुभयो। तर पोलिटब्युरोको निर्वाचनमा पुनः पराजीत हुनुभयो।'

२०७१ सालको काठमाडौंमा भएको तत्कालीन नेकपा एमालेको नवौं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजीत भएका नेता महासेठ एमालेको २०७४ सालमा सञ्चालित मेची-महाकाली अभियानको पूर्वसन्ध्यामा झापा स्थायी कमिटी बैठकबाट मनोनित २१ जना तराई/मधेसका अगुवाहरूमध्ये परेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.