फिचर

लिंगकै आधारमा ज्यालामा विभेद
SHARES

पुस ५, २०७५

    ओखलढुंगा : ओखलढुंगामा लिंगकै आधारमा ज्यालामा विभेद छ। गलत संस्कृति र लैंगिक विभेदका कारण महिला र पुरुषबीच ज्यालामा भिन्नता रहँदै आएको छ।

    दिनभर पुरुषले हलो जोते ८०० रूपैयाँ कमाउँछन् भने दिनभर महिलाले कोदालो खने पुरुषको भन्दा आधा अर्थात् ४०० रूपैयाँ मात्र पाउँछन्। लिंगकै आधारमा महिला र पुरुषमा ज्याला असमान हुँदा गरिबीको रेखामुनि रहेका दलित तथा जनजाति महिलाहरू थप मारमा परेका छन्।

    ओखलढुंगा टारकेराबारीकी पार्वती विश्वकर्मा उमेरले ३० नाघिन्। उनी गाउँघरमै मजदुरी गर्छिन्। दैनिक ज्याला मजदुरी नगरे उनको चुह्लो बल्दैन। अरू कुनै सीपमूलक काम जानेकी पनि छैनन्। दिनभर ज्याला मजदुरी गरेवापत उनले ३०० देखि ७०० रुपैयाँ कमाउँछिन्। तर उनीसँगै गाउँमा मजदुरी गर्ने गणेशबहादुर विश्वकर्माले पाउने ज्याला भने उनको भन्दा दोब्बर बढी छ।

    चलनचल्तीमा गाउँघरमा दैनिक ज्याला ८०० देखि एक हजार ५०० रुपैयाँसम्म चलेको छ। पार्वतीले भने दिनभर परिश्रम गरेर पनि त्यति ज्याला पाउँदिनन्। उनी दिनको ४०० देखि ७०० सम्म ज्याला पाउँछिन्। कारण, उनी महिला हुन्। महिलाको ज्याला पुरुषको जति हुन्न भन्ने गलत सोच हट्न नसकेका कारण पार्वतीले पुरुष मजदुरको तुलनामा निकै कम ज्याला पाउने गरेकी हुन्।

    ‘लोग्ने मान्छेभन्दा बढी नै काम गर्छौं तर महिलाले लोग्ने मान्छे बराबर काम गर्न सक्दैनौँ भनेर कम पैसा दिन्छन्’, पार्वतीले भनिन्। उनले आफूले पुरुषको तुलनामा कम ज्याला पाउँदा दुःख लाग्ने गरेको बताइन्। भनिन्, ‘आफूसरह काम गर्ने पुरुषले आफ्नो दोब्बर ज्याला पाउँदा ममाथि अन्याय भयो भन्ने लाग्छ।’

    आफ्नो जमिनको अन्नले तीन महिना पनि खान नपुग्ने भएपछि लिखु गाउँपालिका- ६ गाम्नाङटारकी सरिता भुजेल आफूले जानेदेखि नै ज्यालादारी गर्दै आएको बताउँछिन्। तर अहिलेसम्म पनि आफूसँगै काम गर्ने पुरुषसरह ज्याला नपाएकोमा उनलाई भारी दुःख लाग्छ।

    ‘दैनिक खेतबारीमा काम गर्दा पुरुषभन्दा हामी महिलाको काम बढी हुन्छ तर पनि पुरुषले ६०० पाउँदा हाम्ले ३०० मात्रै पाउँछौँ’, सरिता भन्छिन्, ‘अरूको के कुरा गर्नु, मसँगै खेतबारीमा मेरो श्रीमान पनि ज्याला मजदुरी गर्नुहुन्छ। पैसा थाप्दा उहाँको पैसा मेरोभन्दा दोब्बर हुने।’ एउटै काम गर्दासमेत आफूभन्दा श्रीमानको कमाइ धेरै हुँदा हेपिएको महसुस हुने उनले बताइन्।

    सिद्धिचरण नगरपालिका- ७ कि माङ्गिमा शेर्पा पनि सदरमुकाम आसपासमा पक्की घर निर्माण गर्ने काममा व्यस्त देखिन्छिन्। उनमा पनि एउटै काम गरेवापत पुरुषभन्दा कम पैसा पाउने गरेकोमा ठूलो हीनताबोध छ। माङङिमा दैनिक ज्यालादारी गर्दा ५०० रुपैयाँ पाउँछिन् उनी तर उनीसँगै काम गर्ने बेतिनी रूपसेका डम्बर बिकले भने दैनिक एक हजार रुपैयाँ कमाउँछन्।

    माङ्गिमा, डम्बर, सरिता, गणेश, पार्वतीलगायत दैनिक ज्याला मजदुरीमा काम गर्ने महिला र पुरुषको कामको प्रकृति एउटै हो तर ज्याला किन फरक त? भन्ने प्रश्नको चित्तबुझ्दो जवाफ कसैसँग छैन। यद्यपि, महिलाभन्दा पुरुषको इज्जत र ओहोदा ठूलो छ भन्ने गलत सोचका कारण महिलाले समान काममा पनि पुरुषसरहको ज्याला पाउन नसकेका उनीहरू बताउँछन्।

    एक निर्माण व्यवसायीले ठेक्काको काम सकिएपछि महिला कामदारहरूलाई प्रोत्साहन स्वरूप एक हजारदेखि दुई हजार रुपैयाँसम्म दिने गरेको बताए। बरु प्रोत्साहन स्वरूप हजार/दुई हजार नदिएर पुरुषसरहको ज्यालाचाहिँ किन दिनुहुन्न? भन्ने प्रश्नमा भने वर्षौंदेखि चलिआएको चलन आफूले मात्रै तोड्न नसकेको रोजगारदाताले बताए। महिला मजदुरहरू आफूभन्दा कम श्रम गर्ने पुरुषले ज्याला बढी पाउने तर आफूहरूले भने दिनभर गिट्टी, बालुवा बोक्ने काम गरे पनि पुरुषसरह ज्याला नपाउने अवस्थाको अन्त्य खोजिरहेका छन्। मजदुर पार्वती विश्वकर्माले भनिन्, ‘बोल्नेले बोलिदिन्नन्, हाम्ले बोलेको कसले सुन्छ र?’

    जिल्लामा ज्याला निर्धारण समितिले आर्थिक वर्ष २०७४/०७५ मा दक्ष कामदारका लागि ७७० र ज्यामीका लागि ५५५ रुपैयाँ ज्याला निर्धारण गरेको छ। आर्थिक वर्ष २०७५/०७६ का लागि दक्ष कामदारलाई ८५४ र ज्यामीलाई ६१० रुपैयाँ प्रस्ताव गरेको भए पनि कृषि क्षेत्रमा काम गर्ने कामदारका लागि महिलालाई ४०० र पुरुषलाई ८०० दिने गरेको पाइन्छ।

    निर्माण व्यवसायीहरूले घर निर्माण तथा अन्य काममा पुरुषका लागि एक हजारदेखि एक हजार ५०० सम्म र महिलालाई ६०० देखि ७०० रुपैयाँसम्म दिइएको पाइन्छ। ओखलढुंगामा  न्यूनतम ४४० देखि ८४५ रुपैयाँसम्म सरकारी ज्याला निर्धारण गरिएको भए पनि सरकारी ज्यालामा कुनै पनि स्थानमा मजदुरले काम भने गरेको पाइँदैन। समयअनुसार निर्माण व्यवसायीको कार्यको अनुगमन गरे पनि ज्यालाको कुरा छायामा परेको र समान काममा असमान ज्याला प्रदान गरिएको भनेर कसैले गुनासो गरे कारबाही गरिने ओखलढुंगाकी प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले बताइन्।

    दस्तावेजका रूपमा समान काममा समान ज्याला भए पनि पुरातनवादी सोच र पुरुषवादी समाजको बाहुल्यका कारण समान कामको समान ज्याला हुनुपर्छ भन्नेहरूले नै असमान ज्याला दिने गरेको श्री ग्रामोदय युगकवि सिद्धिचरण क्याम्पसकी उपप्राध्यापक नेत्रकुमारी पौडेलको भनाइ छ। महिलाको नाममा अर्बौं डलर भित्र्याउनेहरू ग्रामीण भेगसम्म आई नपुग्ने र महिला सशक्तीकरणका कार्यक्रमहरू कागजमै सीमित भएका कारण नै यो समस्या रहेको पौडेलले बताइन्।

    महिलाको अवस्था

    ओखलढुंगामा पुरुष कामदारभन्दा महिला कामदार बढी देखिन्छन्। ग्रामीण भेगका हरेक परिवारमा पुरुषहरू शहर पलायन भएकै कारण हरेक काममा महिलाहरू संख्यात्मक रूपमा बढी देखिने गरेका हुन्। निर्माण व्यवसायीहरूले समेत दुई जना मिस्त्रीका लागीिएक जना हेल्पर पुरुष र पाँच देखी सात जना ज्यामी महिलाहरू नै लगाएको पाइन्छ। रोजगारीको सिलसिलामा पुरुषहरू गाउँबाट पलायन हुन थालेपछि महिला मजदुरहरूको संख्या ह्वात्तै बढेको पाइन्छ। जिल्लाका ग्रामीण भेगमा हलो जोत्नदेखि लिएर पुनर्निर्माणमा समेत महिलाहरू प्रशस्त मात्रामा खटिएका छन्।

    युवा र पुरुषहरू अध्ययन तथा रोजगारीका लागि शहर अनि विदेश पलायन हुन थालेसँगै हरेक क्षेत्रमा महिला कामदारहरूको संख्या बढेको भए पनि जिल्लमा यकिन तथ्यांक (अभिलेख) भने नरहेको प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेको भनाइ छ। जिल्लामा विशेषगरी खेतीपाती लगाउने र भित्र्याउने सिजनमा कामदारहरूको आवश्यकता हुने हुँदा यो समयमा पनि महिलाहरू नै बढी काममा खटिएका देखिन्छ।

    जिल्लामा निजी स्वामित्वमा रहेका विद्यालय (बोर्डिङ स्कुल)मा शिक्षकका रूपमा महिला, सहकारी तथा वित्तीय संघसंस्थाहरूमा महिला, निजी अस्पताल र क्लिनिकहरूमा नर्सदेखि डाक्टरका रूपमा महिला, विभिन्न गैरसरकारी संघसंस्थाहरूमा कार्यालय सहयोगीदेखि फिल्ड कर्मचारी र कार्यालय प्रमुखका रूपमा महिला, होटल तथा रेस्टुराँहरूमा वेटरदेखि कुकका रूपमा महिला र संचार क्षेत्रमा संचारकर्मीका रूपमा महिला र खेती किसानी तथा कृषि फार्महरूमा दैनिक ज्यालादारी गर्नका लागि काम गर्ने श्रमिक महिलाहरू नै धेरै भइरहेको पाइएको छ।

    केही महिला संचारकर्मीहरू ज्याला नपाएकै कारण पेसाबाट नै पलायन भएका देखिन्छ। कतिपय संचार माध्यमले मासिक तलब दिने मौखिक सहमति गर्ने र केही महिना बितेपछि तलब नदिने गरेका कारण आफूहरू पेसाबाट नै पलायन हुनुपरेको विभिन्न संचार माध्यममा काम गरी पलायन भएका पुराना महिला संचारकर्मीहरू बताउँछन्। जिल्लामा आधा दर्जन बढी महिला संचारकर्मीले तलब नपाएकै कारण पेसाबाट पलायन हुनुपरेको छ।

    सुरुमा कार्यक्रम संचालिकाको भूमिकामा रेडियो प्रवेश गरेको भए पनि पछिल्लो समय समाचार र प्राविधिक पाटोसमेत आफैँले गर्नुपर्ने बाध्यता भएपछि तलब बढाउने आश्वासन पाए पनि लामो समयसम्म तलब नपाएकै कारण आफ्नो रुचिको विषय भए पनि पेसाबाटै हराउनुपरेको रेडियो श्रोतामाझ लोकप्रिय बनेकी सानु लामाले बताइन्।

    संचार माध्यममा नियुक्तिपत्र नदिएकै कारण आफूहरू कानुनी उपचारबाट वंचित हुनुपरेको तत्कालीन समयमा रमाइलो सामुदायिक रेडियोमा समाचार सहायकको रूपमा कार्यरत मुना खतिवडाले बताइन्। सबैभन्दा बढी श्रम शोषण निजी क्षेत्रमा नै हुने गरेको नेपाल पत्रकार महासंघ ओखलढुंगा शाखाका कोषाध्यक्ष बोधनारायण श्रेष्ठको भनाइ छ।

    मजदुरलाई महिना बित्नासाथ तलब नदिने, कम्पनी तथा निजी क्षेत्रमा नियुक्तिपत्र नदिने, तोकिएको बिदा पनि नदिने चलन रहेको छ। कामदार महिला र निजी क्षेत्रको सम्बन्ध कामदार र व्यवस्थापक नभई मालिक र मजदुरको जस्तो रहने गरेको पीडित बताउँछन्।

    कानुनी व्यवस्था

    श्रम ऐन, २०७४ को दफा ६ मा ‘रोजगारदाताले श्रमिकलाई धर्म, वर्ण, लिंग, जातजाति, भाषा वा वैचारिक आस्था वा अन्य त्यस्तै आधारमध्ये कुनै कुराको आधारमा भेदभाव गर्न पाइनेछैन’ भन्ने उल्लेख गरिएको छ। सोही ऐनको दफा ७ मा समान कामका लागि पारिश्रमिकमा भेदभाव गर्न नहुने भन्दै (१) लिङ्गको आधारमा श्रमिकबीच समान मूल्यको कामका लागि पारिश्रमिकमा भेदभाव गर्न हुँंदैन भन्ने लेखिएको छ।

    श्रम ऐन, २०७४ को दफा २८ मा ‘रोजगारदाताले श्रमिकलाई प्रति दिन आठ घण्टा र एक हप्तामा ४८ घण्टाभन्दा बढी समय हुने गरी काममा लगाउन पाइनेछैन’ भन्ने पनि लेखिएको छ। दफा २८ को उपदफा (२) मा श्रमिकलाई लगातार पाँच घण्टा काम गरेपछि आधा घण्टा विश्रामको समय दिनुपर्नेछ भनिएको छ भने उपदफा (३) मा काम रोक्न नहुने तथा लगातार काम चलाइरहनुपर्ने भएमा श्रमिकलाई त्यस्तो विश्रामको समय आलोपालो गरी दिनुपर्नेछ भन्ने उल्लेख गरिएको भए पनि कानुन कार्यान्वयनको पाटो त परको कुरा, नियमित अनुगमनसमेत भएको पाइँदैन। कानुनमा उल्लेख भएबमोजिम ज्याला नदिए, महिला भएकै आधारमा ज्यालामा विभेद भए कानुनबमोजिम कारबाहीसमेत हुने प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताइन्।

मनोज भट्टराई

भट्टराई थाहाखबरका ओखलढुंगा संवाददाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]