|

रुकुम : दुई दशकअघि रुकुमेलीको दैनिकी यस्तो थियो कि आफूलाई आवश्यक परेको सामग्री किनमेलका लागि मात्र होइन, गाडी चढ्नका लागि सल्यान, दाङ वा नेपालगंज जानुपर्थ्यो। रुकुम पश्चिम आठबीसकोट नगरपालिका- ११, गोइरीका अमृत बटालालाई घिउको बाकस बोकेर हिँडेरै नेपालगंज पुगेको झलझली याद अहिले पनि याद आउँछ। घरमा उत्पादन भएको घिउको बाकस बिक्री गर्ने र उक्त बिक्रीबाट आएको पैसाले वर्षभरि पुग्ने नुन, लत्ताकपडा र चाडपर्वको घरखर्च ल्याउनु हिजोआजको जस्तो सहज थिएन। हिजोआज आफ्नै गाउँघरमा गाडी-मोटर गुड्दा सपना जस्तो लाग्ने उनलाई हिजोआज त घरगृहस्थी गर्न पनि निकै सहज जस्तो लाग्छ।

‘सिंगो गाउँका हटारुहरूसँगै २२ दिन बढी पैदल हिँडेर बजारमा पुग्ने गरेका थियौँ। भारी बोक्दा टाउकाको रौँ झर्ने मात्र होइन, बिना जुत्ता-चप्पल पैदल यात्रा गर्न खुट्टा फाटेर रगत बगिरहेको हुन्थ्यो’, उनले भने, ‘हिजोआज त साँझ-बिहानको नुनतेल, चामल पनि उतिबेलै बजारबाट किनेर खाइन्छ। कतिबेला त लाग्छ, त्यो बेला हाम्रो जस्तो दु:ख कसैले भोगेन।’

उनी मात्र होइन, रुकुम पश्चिम त्रिवेणी गाउँपालिका- १० का रिमबहादुर खड्कालाई पनि बोकेरै नेपालगंजबाट नुन ल्याएको त्यो विगत बिर्सिएको छैन। ‘आजभोलिको पुस्ता त निकै सुकारी (सुखी) हुन्, घरघरमा सडक पुगेको छ, एक घण्टा पनि पैदल हिँड्नुपर्दैन’, उनले भने, ‘यो सब देशको परिवर्तनले बनायो। हाम्रो पुस्ताले दु:ख भोगे पनि छोराछोरी बाइकमै घरघर पुगेका छन्, यो हाम्रा लागि निकै खुसीको कुरा हो।’

यस्तै भोगाइ र अनुभव पुराना धेरै रुकुमेली आमाबुबासँग छ। तर समयले कोल्टो फेरेको छ। २२ दिन पैदल हिँडेर टाढाटाढाबाट नुन बोकेर ल्याएको कुरा हिजोआजका सन्ततिहरूलाई एकादेशको कथा जस्तो बनेको छ। हिजोआज रुकुमका गाउँगाउँमा सडक पुगेको छ। बजारसम्म घिउ तथा खसी, कुखुरा बेच्न आउने पनि गाडीमै आउँछन् र घरसम्म गाडीमै फर्किन्छन्। यो सब अवस्था द्वन्द्वकालपछि देशमा आएको राजनीतिक तथा प्रशासनिक परिवर्तनको उपज भएको स्थानीय बताउँछन्।

रुकुममा सडक विकासको सिलसिला

रुकुम जिल्लालाई राष्ट्रिय सडक संजालमा जोड्ने सल्यान-रुकुम-मुसिकोट सडक खण्ड द्वन्द्वकालमै सुरु गरिएको थियो। केन्द्रीय सरकारको बजेटबाट नै तत्कालीन शाही नेपाली सेनाद्वारा खनिएको उक्त सडकमार्फत् २०६० सालमा जिल्ला सदरमुकाम मुसिकोटमा गाडी पुग्यो। उक्त घटना रुकुमेली सडक विकासको पहिलो कोशेढुंगा सवित भयो। यो सडक सुचारु भएसँगै रुकुम सल्यान र दाङ जिल्ला हुँदै राष्ट्रिय तथा क्षेत्रीय सडक संजालमा जोडियो। त्यस्तै, जिल्ला विकास समिति रुकुममार्फत् जिल्लाकै पहिलो सडकको रूपमा २०५९ सालमा शीतलपोखरी-झुलखेत-चुनबाङ सडक खण्ड खन्न सुरु गरिएको थियो।

केन्द्रीय सरकारले उक्त कृषि सडक निर्माणका लागि जिल्लामा पहिलो पटक १४ लाख रुपैयाँ बजेट जिल्लामा पठाएको थियो भने त्यस वर्ष दुई किलोमिटर मात्र सडक खनिएर सुरुवात भएको थियो। तर जिल्लामा हाल दर्जनौँ सडकहरू खनिएर संचालनमा आए पनि जिल्लाकै पहिलो सडकको रूपमा रहेको उक्त सडक खण्ड हालसम्म पनि पूर्ण भएको छैन। अघिल्लो आर्थिक वर्षसम्म १२ किलोमिटर मात्र ट्र्याक खोलिएको छ तर उक्त सडक खण्डलाई पूर्णता दिँदै स्तरीय सडक बनाउन हाल ग्रामीण सडक सुधार आयोजनाले जिम्मा लिई पक्की सडक निर्माणको कामसमेत थालिसकेको छ।

यस्तै, रुकुमपूर्व र पश्चिमी क्षेत्रको ठूलो विकास सहयात्राको रूपमा रहेको सोलाबाङ-धाउने-बालुवा सडक खण्ड पनि २०६१ सालमा नै सुरु भएको थियो। जिटिजेडमार्फत् संचालन गरिएको उक्त ३४ किलोमिटर सडक सबै डोजरलगायतका अन्य कुनै पनि साधनहरू प्रयोग नगरेरै स्थानीयले खनेका थिए।

शान्तिकालमा सडक क्रान्ति

रुकुम जिल्लामा जे जसरी सडक संजालको विकास भएको छ, त्यो सब तीब्र गतिमा शान्तिकालपछि नै भएको छ। द्वन्द्वकालमा दुई-तीनवटा सडकबाट सुरु भएको सडक विकास यात्रा शान्तिकालपछि दर्जनौँ सडक खनिएका छन्। किलोमिटरको हिसाबले भन्दा २०६३ अघि १०० किलोमिटर पनि नखनिएको सडक २०६४ पछि हालसम्म एक हजार किलोमिटर बढी खनिसकिएको छ। यसरी हेर्दा पनि द्वन्द्वकालमा रोकिएको रुकुमेली सडक विकास शान्तिकालमा सडक क्रान्तिकै रूपमा अघि बढेको पाइन्छ।

जिल्ला समन्वय समिति रुकुम पश्चिमका इन्जिनियर पहल पुन द्वन्द्वपछि रुकुमको सडक विकासको ढोका खोलेको बताउँछन्।

‘द्वन्द्वकालमा सडकको एउटा पनि काम नभएको त होइन, एक-दुईवटा सडक खन्ने काम सुरु भएको पाउाछौँ तर सल्यान-रुकुम सडकबाहेक अन्य स्थानीय सडक उद्घाटन मात्र भए, गाडी चल्ने भएनन्’, उनले भने, ‘द्वन्द्वकालमा करिब १०० किलोमिटर सडक खनिएको रुकुममा शान्तिकालमा त्यसको १० गुणा खनिएको छ।’ उनका अनुसार स्थानीय तह पछि वडा विभाजनमा केही फरकपन आएको भए पनि साविकको गाविसको अवस्था हेर्दा जिल्लाका ४३ वटा गाविसहरूमध्ये ३९ वटा गाविसमा यसअघि नै सडक संजाल पुगेको थियो। ‘अहिले त स्थानीय तहरूले आफूअनकूल सडक खन्ने काम धमाधम गरिरहेका छन्। जिल्ला समन्वय समितिमा खासै सडकको तथ्यांक अपडेट गराउँदैनन् र छैन पनि’, इन्जिनियर पुनले भने, ‘रुकुमपूर्व र पश्चिमको अवस्था हेर्दा प्वाङ, जाङ, सिस्ने र रन्मामैकोटका दुर्गम बस्तीबाहेक अन्य गाउँमा कच्ची भए पनि सडक पुगेको छ।’

यस्तो छ जिल्लाको सडक संजालको विवरण

शान्तिकालपछि खनिएका मुसिकोट-चौरजहारी, सल्ले-गिलबाङ, सल्ले-राडिज्यूला, छिनखेत-सिस्ने र काँक्री-कोल-तकसेरा जस्ता सडक खण्डहरू लामा सडक खण्डहरू हुन्। त्यसबाहेक पनि अन्य लामा दूरीका पनि दर्जनौँ सडक खण्डहरू शान्तिकालमा सुरुवात गरिएका छन्। स्थानीय तहहरूको हिसाबले भन्दा रुकुमपश्चिमको मुसिकोट नगरपालिकामा २८ वटा साना तथा ठूला सडक खण्डहरू निर्माण भएका छन्। मुसिकोटसँगै चौरजहारी र त्रिवेणी गाउँपालिकामा पनि ठूलो मात्रामा सडक खनिएको छ।

तुलनात्मक रूपमा रुकुमपश्चिमको भन्दा रुकुमपूर्वका स्थानीय तहहरूमा खनिएको सडक संख्या धेरै कम छ। स्थानीय सरकारहरू स्थापना भएसँगै पछिल्लो सडक खण्डहरूको यकिन विवरण नभए पनि जिल्ला समन्वय समिति रुकुमपश्चिममा रहेको सडकको अवस्था यस्तो छ।

रुकुमपश्चिम

मुसिकोट नगरपालिका : १००.३१ किलोमिटर

सानीभेरी गाउँपालिका : ६५.२३ किलोमिटर

आठबीसकोट नगरपालिका : १२६.३६ किलोमिटर

बाँफीकोट गाउँपालिका : ६६.७६ किलोमिटर

मुसिकोट नगरपालिका : १६४.९६ किलोमिटर

त्रिवेणी गाउँपालिका : १०७.७० किलोमिटर

छवटा स्थानीय तहको जम्मा : ६३१.३२ किलोमिटर

रुकुमपूर्व

सिस्ने गाउँपालिका : ७८.९५ किलोमिटर

भूमे गाउँपालिका : १६५.८७ किलोमिटर

पुथाउत्तरगंगा गाउँपालिका : ७४.८० किलोमिटर

तीनवटा स्थानीय तहको जम्मा : ३१९.६२ किलोमिटर

मध्यपहाडी लोकमार्ग थप

माथि उल्लेख गरिएका रुकुमका स्थानीय तथा क्षेत्रीय सडक संजालहरूको सूची भए पनि राष्ट्रिय गौरवको आयोजनासमेत रहेको मध्यपहाडी लोकमार्गको समेत धेरै भाग रुकुममा पर्छ। मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम खण्डको काम धमाधम भइरहेको छ। १२३ किलोमिटर लामो सडकलाई विभिन्न आठ खण्डमा विभाजन गरेर स्तरवृद्धिको काम धमाधम भइरहेको हो।

हाल उक्त सडक खण्डमा कालोपत्रेका लागि आवश्यक स्तरवृद्धिका काम भइरहेका छन्। आगामी तीन वर्षभित्र कालोपत्रे गर्ने गरी काम भइरहेको मध्यपहाडी लोकमार्ग सडक आयोजना कार्यालयले जानकारी दिएको छ। कार्यालयका अनुसार सडकको शीतलपोखरीदेखि रिनदहसम्मको १४ किलोमिटर सडकमा सबैभन्दा बढी काम भएको छ। सडकका विभिन्न छवटा खोलामा मोटरेबल पुल निर्माण कार्य पनि भइरहेको छ।

लोकमार्गको स्तरवृद्धिको काम भएपछि त्यस क्षेत्रमा संचालन हुने सवारी साधनहरूलाई पनि सजिलो भएको छ। सडक स्तरवृद्धिको काम धमाधम भइरहेको भए पनि कच्ची सडक खण्डमा पनि यातायातका साधनहरू पनि संचालनम छन्। यसअघि एक दिन लाग्ने रुकुमपश्चिमको खलंगादेखि रुकुमपूर्वको काँक्रीसम्म अहिले चार घण्टामै पुग्न सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.