|

काठमाडाैं :  प्लेअफमा स्थान बनाइसकेका दुई उपाधि दाबेदार टिमहरू भैरहवा ग्ल्याडीयटर्स र ललितपुर प्याट्रीयट्सबीच आइतबार भएको खेलमा ललितपुरले प्रभावशाली जित निकालेको छ।

भैरहवालाई ६ विकेटले पराजित गर्दै ललितपुर प्याट्रीयट्स शीर्ष स्थानमा रहेको छ। अब उसले फाइनल प्रवेशका लागि दुईमौका पाउने छ। भैरहवाले प्रस्तुत गरेको ९३ रनको सामान्य लक्ष्य ललितपुरले १४.२ ओभरमा ४ विकेटको गुमाएर सहज रुपमा पूरा गर्‍याे। यद्यपि प्लेअफ समिकरण पूरा हुन बाँकी रहेको छ। प्लेअफ समिकरण सोमबार हुने काठमाडौं किंग्स ११ र विराटनगर वारीयर्सबीचको खेलले तय गर्ने छ।

ललितपुरको जितमा जय किशन कोल्सावालाले २७ बलमा १ चौका प्रहार गर्दै २२ रनमा अविजित रहे। सन्दीप जोराले १० बलमा २ चौका र १ छक्का प्रहार गर्दै १८ रनमा नट आउट रहे। त्यस्तै पवन सर्राफले ३६ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २५ रन बनाउँदा गौरव तोमर ९, ज्ञानेन्द्र मल्ल ४ रनमा आउट भए।

भैरहवाका लागि रायन टेन डेस्काटेले २, शरद भेषवाकर र मोहम्मद नाविदले समान एक विकेट लिए टिमको हार टार्न सकेनन्। त्यस अघि टियू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको भैरहवाले १९ ओभरमा सबै विकेट गुमाएर ९२ रन मात्र बनाउन सक्यो। भैरहवाका लागि रभि इन्दर सिंह र रायन टेन डेस्काटेबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो रनको अंक छुन सकेनन्। सिंह १५ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै २५ रनमा बोल्ड भए।

छैटौं विकेटका लागि रायन टेन डेस्काटे र रोहितकुमार पौडेलले ३४ रनको साझेदारी गर्दै भैरहवालाई सम्मानजनक स्थितिमा पुर्‍याएका थिए। त्यस्तै डेस्काटेले ३७ रन बनाएका थिए। उनले ३६ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए। ललितपुरका बलरसामु निरीह रहेको भैरहवाका आरिफ शेख ४, रोहितकुमार पौडेल ७, कृष्ण कार्की ४, कुशल मल्ल ३ भुवन कार्की र अभिनास बोहरा शून्य रनमा आउट भए।

ललितपुरको जितमा भारतीय स्पिनर सन्नी पटेलले ४ ओभरमा १२ रन खर्चेर ५ विकेट लिए।  त्यस्तै योगेन्द्रसिंह कार्की र राशिद खानले समान २ विकेट लिँदा ललित नारायण राजवंशीलेको नाममा एक विकेट रह्यो।

ललितपुर आजको जितसँगै ५ खेलमा ४ जित र १ मा हारसहित ८ अंक बनाउन सफल भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.