|

इलाम : इलामको पर्यटकीय क्षेत्र श्रीअन्तुमा वर्षेनी पर्यटकको चाप बढदै गएपछि पूर्वाधारको अभाव भएको छ। सूर्योदयको दृश्यावलोकनसँगै हरियाली चिया बगानमा रमाउन दैनिक सातहजार पर्यटक श्रीअन्तुमा पुगे पनि पर्यटकीय पूर्वाधारको अभावमा सास्ती व्याेहोर्दै आएका छन्।

ग्रामीण पर्यटकीयस्थलको गन्तव्य अन्तुमा पार्किङस्थल, पदमार्ग, खानेपानी र सार्वजनिक शौचालयको अभाव भएको छ। बिहान झिसमिसमा सूर्योदय हेर्न जंगलको बाटो भएर जानुपर्ने भएपनि सडक बत्ति नहुँदा अलमलमा परेको झापाबाट घुम्न आएका मिलन बस्नेत बताए। स्थानीय समुदायले पर्यटन प्रवर्द्धनको काम गरेको अन्तुमा दैनिक आउने पर्यटक होम स्टेमा अटाउन छोडेका छन्।

परिवारका सदस्यझै बसेर रात कटाउन सकिने भएपछि अन्तु पुग्ने पर्यटकको चाप बढेसँगै होम स्टेले थाम्न छोडेका हुन्। होम स्टेमा अटाउन छोडेपछि पर्यटकहरू त्रिपाल टाँगेरै भए पनि रात कटाउने गरेको अन्तु पर्यटन केन्द्रका अध्यक्ष धनकुमार आलले बताए। २० वर्ष अघिदेखि होम स्टेमा पर्यटकलाई स्वागत गरी पर्यटन प्रवर्द्धनमा जुटेका अन्तुबासीलाई शुक्रबार र शनिबार त्यहाँ पुग्ने पर्यटकलाई अटाउन मुस्किल पर्ने आलेले बताए।

४३ वटा होम स्टे र १५ वटा होटल लजमा २५०० पर्यटक अटाउने क्षमता भए पनि शनिवारको सूर्योदय हेर्न एकैदिन ७ हजार पर्यटक पुगेपछि अन्तु पर्यटन प्रवर्द्धन केन्द्रले होमस्टे दर्ता नभएका घर र त्रिपाल टाँगेर पर्यटकलाई पठाएको थियो। सूर्योदय, हरियालि चिया वगान,अन्तु पोखरीमा डुंगा सयर, सीमावर्ती भारतीय भू-भागको अवलोकन र कंचनजंघा हिमालको दृश्यवलोकन गरिए पनि पूर्वाधार निर्माण गर्नुपर्ने झापाबाट घुम्न आएका पत्रकार डिकेस लामाले बताए।

‘सूर्योदयको दृश्य हेर्न राती नै अन्तुडाँडा पुग्नुपर्ने भएकाले सडक बत्ति नहुँदा समस्या भयो लामाले भने, ‘हजारौँ पर्यटक आउने अन्तुमा सार्वजनीक शौचालय, फोहोर सरसफाई र बाक्लो शित पर्ने भएकाले पर्यटक बस्ने टहराहरू निर्माण गर्नुपर्छ।’ सडक कालोपत्रे भएसँगै पर्यटकको चाप बढेकाले गाडी पार्किङस्थल नहुँदा समस्या भएको सूर्योदय नगरपालिका १० का यातायात व्यवसायी राजन गुरुङले बताए।

अन्तुडाँडा छेउमा सानो पार्किङस्थल भएपनि धेरैजसो पर्यटक आफ्नै गाडीमा आउने भएकाले पार्किङस्थलमा नअटाएर सडक र स्थानीयको घर आगानमा गाडि पार्किङ गर्दा समस्या भएको हो। अघिल्ला वर्षहरूमा असाेज, कात्तिक, मंसिर, फागनु, चैत्र र बैशाख महिनामा मात्रै पर्यटकको चाप हुने गरे पनि अहिले १२ महिना नै पर्यटकले होम स्टेमा खान बस्न र अन्तु घुम्नका लागि बुक गर्दै आएको पर्यटन व्यवसायी खगराज घिमिरेले बताए।

गत वर्ष दैनिक रुपमा ४०० सम्म पर्यटक आउने गरे पनि यो वर्ष असोज, कात्तिक र मंसिर महिनामा दैनिक तीन हजारदेखि सात हजारसम्म पर्यटक आउने गरेको घिमिरेले बताए। सूर्योदय नगरपालिका ४ र ५ मा पर्ने अन्तु पर्यटकीयस्थलमा रहेको अन्तु टावरमा प्रवेशका लागि नगरपालिकाले प्रति पर्यटक ५० रुपैयाँ लिने गरेको छ। अन्तुडाँडा पर्यटन सामुदायिक वन क्षेत्रमा रहेको अन्तु टावरको ५०० पर्यटक अटाउने क्षमता भए पनि पर्यटकको चाप बढेपछि धेरै जसो पर्यटकले भुँइमै बसेर सूर्योदयको दृश्य हेर्दै आएका छन्।

पर्यटक टावर प्रवेशमा सामुदायिक वनका सदस्य र होम स्टे संचालकलाई निःशुल्क गरिएको छ। अन्तुमा नेपाल भार र भुटानका पर्यटक पुग्ने गरेका छन्। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.