|

सुर्खेत : संघीय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मालपोत तथा नापी कार्यालयका कर्मचारीलाई आफ्नो छवि सुधार्नु पर्नेमा जोड दिएकी छिन्। मालपोत तथा नापी कार्यालय वद्नाम बन्दै गइरहेको भन्दै मन्त्री अर्यालले कर्मचारीलाई चनाखो बनेर पारदर्शी ढंगले काम गर्न निर्देशन दिएकी हुन्।

सर्खेतको वीरेन्द्रनगरमा मन्त्रालयले आयोजना गरेको प्रदेशस्तरीय समीक्षा गोष्ठी कार्यक्रममा बोल्दै अर्यालले सुशासनको विपक्षमा हुनेलाई कारवाही गर्न समेतपछि नपर्ने बताइन्। मन्त्री अर्यालले सेवाग्राहीलाई छिटो-छरितो सेवा दिन खटेर लाग्न पनि मालपोत तथा नापी कार्यालयका कर्मचारीलाई आग्रह गरिन्। उनले भनिन्, ‘कार्यालय व्यवस्थापनसँगै जनताले परिवर्तनको महसुस गर्ने गरी प्रभावकारी सेवा दिन पनि आग्रह गर्दछु।’

भू उपयोग नीतिको ड्राफ्ट तयार भइसकेको बताउँदै उनले जमिनको वर्गीकरणको खाका तयार पारेर भू उपयोग ऐन पनि तयार गरिसकेको र अब मन्त्रिपरिषद्बारा पारित गर्न बाँकी रहेको जानकारी दिइन्। फरक प्रसंगमा मन्त्री अर्यालले सरकारले अब काम गर्ने बताइन्। ‘कानुनको निर्माणको चरणमा अहिले सरकार रहेको छ,’ उनले भनिन्,‘अब छिटै नै जनताको बीचमा गरेका वाचा कार्यान्वयन गर्ने एक्सन प्लान नै बनाएर सरकार अघि बढ्छ।’

कार्यक्रममा कर्णाली प्रदेशका भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसीले कर्णालीमा भूमिसम्बन्धी धेरै समस्या रहेको भन्दै अब कानुन निर्माण गरेर यी समस्या समाधान गर्न सरकार लागिपरेको बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.