|

सुर्खेत : नयाँ मुलुकी संहिता लागु भए पछि सुर्खेतमा महिलाका तुलनामा आधा भन्दा बढी पुरुषद्बारा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन्। भदौ एक गतेदेखि लागू भएको मुलुकी संहितामा पुरुषले पनि सम्बन्ध बिच्छेदका मुद्दा दर्ता गर्न पाउने भए पछि महिलाद्बारा दर्ता भएका सम्बन्ध विच्छेदका मुद्दाको आधा भन्दा बढी पुरुषले सम्बन्ध विच्छेदका मुद्दा दर्ता गराएका छन्। 

नयाँ मुलुकी संहिता लागु भएपछिको तथ्यांकलाई हेर्दा सुर्खेत अदालतमा ९६ महिला र ५१ पुरुषले सम्बन्ध विच्छेदका लागि मुद्दा दाएर गरेको अदालतमा रजिष्ट्रार भुपाल भण्डारीले जानकारी दिए। यो आर्थिक वर्षमा जिल्ला अदालत सुर्खेतमा जम्मा १८१ ओटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन्। साउनदेखि मंसिर मसान्त सम्म १३० महिला र ५१ पुरुषका सम्बन्ध विच्छेदका मुद्दा अदालत पुगेको जिल्ला अदालत सुर्खेत जनाएको छ।

साउनमा महिलावाट ३४ ओटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन्। मुलुकी अपराध संहिता लागू भए पछि भने भदौमा २१ महिला र १० पुरुषले गरी ३१ सम्बन्ध विच्छेदका मुद्दा जिल्ला अदालत सुर्खेतमा आएका छन्। यसैगरी असोजमा २१ महिला र १० पुरुषले सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएका हुन्।
कार्तिकमा २८ महिलाले र ११ पुरुषले सम्बन्ध विच्छेदका लागि अदालत पुगेका छन्। मंसिरमा २६ महिला र १२ पुरुषले सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएको रजिष्ट्रार भण्डारीले जानकारी दिए। 

मुलुकी अपराध एवं देवानी संहिता लागू भएपछि पुरुषले पनि सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गर्ने क्रम बढेको भण्डारीको भनाई छ। यो क्रमलाई हेर्दा  जिल्ला अदालत सुर्खेतमा दैनिक एउटा भन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा दर्ता हुने गरेका छन्। अधिकांश मुद्दाहरू सम्बन्ध विच्छेद गर्ने मिलापत्रमा टुंगिने गरेको भण्डारीले बताए। केही मुद्दामा दोस्रो पक्षले मन्जुरी नदिएको खण्डमा १ वर्षसम्म फैसला हुन समय लाग्ने गरेकोले पनि सहमतिमा सम्बन्ध बिच्छेद हुने गरेको भण्डारीको भनाई छ।

सम्बन्ध विच्छेदका कारण बालवालिकाको भने बिचल्ली हुने गरेको छ। कतिपय मुद्दा फैसलापछि नावालक बच्चालाई आमा र वुवा दुवैले लिन नमान्ने गरको रजिष्ट्रार भण्डारीले अनुभव सुनाए। सम्बन्ध विच्छेदमा महिलाले प्राय घरेलु हिंसालाई कारण बनाएका छन् भने पुरुषले अरुसँग लागेको, पैसा जथाभावी खर्च गरेको, घरपरिवारमा वास्ता नगरेको जस्ता कारण बनाउने गरेका छन्। यसैबीच जिल्ला अदालत सुर्खेतमा साउनदेखि मंसिर १७ गतेसम्म ३७ वटा जवरजस्ती करणीका मुद्दा परेका छन्। जसमध्ये करणीका ३१ र उद्योगअन्तर्गत ६ ओटा मुद्दा रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.