|

विराटनगर : प्रदेश १ सामाजिक विकास मन्त्रालयले विभिन्न ३६ वटा कार्यक्रम कार्यान्वयन गर्न आयोजना कार्यान्वयन इकाई गठन गरेको छ। मन्त्रालयले आइतबार एक कार्यक्रम गरी उक्त इकाइ गठन गरेको हो। इकाईमार्फत् चालू आर्थिक वर्षमा सामाजिक विकास मन्त्रालयले ६७ करोड १५ लाख बराबरको बजेट कार्यान्वयन गर्नुपर्ने छ।

इकाईमा चारजना इन्जिनियर, १६ जना सहायक इन्जिनियरसहित ३० जना कर्मचारी रहने मन्त्रालयले जनाएको छ। उक्त इकाईको उद्घाटन गर्दै सामाजिक विकासमन्त्री जीवन घिमिरेले बजेटलाई पूर्ण गतिका साथ कार्यान्वयन गर्ने बाटो खुलेको बताए।

प्राविधिक जनशक्ति चाहिने खालका कार्यक्रम उक्त आयोजना कार्यालय इकाइमार्फत गरिने मन्त्रालयले जनाएको छ। इकाइअन्तर्गत राजनीतिक संग्रहालय निर्माण, जिल्ला र प्रदेशस्तरका अस्पतालको डिपिआर निर्माण, सांस्कृतिक ग्राम निर्माण, शिक्षण संस्थालाई दिनुपर्ने आकस्मिक अनुदान कार्यक्रम, १३ जिल्लाको खेलमैदान तथा रंगशालाको स्तरोन्नती, कोसी अस्पतालको स्तरवृद्धिको काम राखिएको छ।

यस्तै गौरदह कृषि क्याम्पसको स्तरोन्नती, विभिन्न प्राविधिक शिक्षालयको क्षमता विस्तार, मेची अञ्चल अस्पतालको स्तरवृद्धि, रामेश्वर क्याम्पस माम्लिङ संखुवासभाको भवन निर्माण, शहीद मैदान विराटनगरमा फ्लडलाइट जडान, सबै गाउँपालिका र नगरपालिकामा खेलमैदान निर्माण, ब्रम्हकुमारी राजयोगको भवन निर्माण, भक्तराज कङ्दङ्वा क्रिकेट मैदान धरानको निर्माण, मदन भण्डारी स्मृति प्रतिष्ठान चैनपुरलाई अनुदान, मनमोहन स्मृति पोलिटेक्निकल कलेजको क्षमता विकास तथा विराटनगरको बैजनाथुपुर रंगशालामा कभर्डहल तथा क्रिकेट मैदान निर्माणलगायतका कार्यक्रम उक्त इकाईमार्फत् कार्यान्वयन हुनेछ।

त्यस्तै, इकाइले ज्येष्ठ नागरिक ग्राम निर्माणका लागि डिपिआर तयार गर्ने, प्रदेशभित्रका राजमार्गमा शौचालय निर्माण गर्ने, उदयपुर थारूहट रंगशालाको प्याराफिट निर्माण गर्ने, केएनके स्पोर्टिङ क्लबको खेल मैदान निर्माण, च्यास्मीटार खेल मैदान निर्माण, खलंगा खेलमैदान, खोलिटार खेलमैदान निर्माण, जयनारायण आदर्श माविको भवन निर्माण, जलसिंह उमावि चिमखोला भवन निर्माण, दूधे रंगशाला निर्माण, पोलिटेक्निक इस्टिच्युटलाई अनुदान, बाह्रदशी कभर्डहल निर्माण, भुकुटी आधारभूत विद्यालयको भवन, भोजपुर खेलमैदान तथा कभर्ड हल निर्माण, मौवा खोला क्षेत्रीय रंगशाला निर्माण, याशोक खेलमैदान निर्माण र सत्य सेवा गुरु आश्रम निर्माण गर्नेछ।

आयोजना कार्यान्वयनका लागि प्रदेश सरकारले गरि ६७ करोड १५ लाख बजेट विनियोजन गरेको थियो। चालू आर्थिक वर्षभित्रमा सबै आयोजना निर्माण सक्नका लागि संरचना अभाव हुँदा संशय बढिरहेको बेला कार्यान्वयन इकाई उद्घाटन गर्दै प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले काम अघि बढाउने सुरुवात गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.