|

विराटनगर : विराटनगरमा निर्माणाधीन सञ्चारग्रामको भौतिक पूर्वाधारतर्फ ४० प्रतिशत काम सम्पन्न भएको छ। रेडियो नेपाल र विराटनगर महानगरपालिकाको संयुक्त साझेदारीमा निर्माण भइरहेको सञ्चारग्रामको चारतल्ले स्टिल हाउसको जग तथा फलामे संरचनाको काम करिव सकिएको छ। 

आइतबार निर्माणस्थलमै महानगरपालिका, ठेकेदार कम्पनी र रेडियो नेपालका पदाधिकारीबीच भएको समीक्षा बैठकमा नियमित अनुगमन गरिरहेको महानगरपालिकाका इन्जिनियर अर्जुन थापाले ४० प्रतिशत काम सम्पन्न भएको जानकारी दिए। सञ्चारग्राम १८ करोड २५ लाख ५२ हजारको लागतमा निर्माण भइरहेको छ। 

प्रारम्भमा आरसिसी कन्ट्रक्सनको डिजाइन गरिएको भए पनि २०७२ सालमा आएको आम विनाशकारी भुकम्पपछि त्यसको संरचना परिवर्तन गरी स्टिलको भवन निर्माण गर्ने अवधारणा अघि सारिएको थियो। त्यसले करिव ४ गुणा लागत बढे पनि १०० वर्षसम्म पनि केही नहुने र पूर्ण भूकम्प प्रतिरोधी हुने गरी नयाँ डिजाइन गरिएको थियो। यही चैत्र महिनासम्म सम्पन्न गर्ने लक्षसहित ७ महिना अघि आरम्भ भएको कन्ट्रक्सनको ४० प्रतिशत काम सम्पन्न हुनु उपलव्धिमूलक भएको र तोकिएको समयमा भवन सम्पन्न गर्ने गरी काम अघि बढाउन रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले ठेकेदार कम्पनीलाई निर्देशन दिए।

रविना–जोशी जेभीले ठेक्का लिएर काम गरिरहेको भवनकालागि आवश्यक सामग्री नेपालमा नपाइने भएकोले ठेकेदार कम्पनीले भारतबाट सामान ल्याउनकालागि आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ। छलफलमा भारतबाट सामान आउन ढिलाई भए बढीमा ६ महिना समय थप गर्नुपर्ने अवस्था आउनसक्ने ठेकेदार कम्पनीले जनाएको छ। समीक्षा बैठकमा सञ्चारकर्मी, परियोजना समन्वय समितिका पदाधिकारी, निर्माण कम्पनीका प्रतिनिधि तथा नागरिक समाजका प्रतिनिधि तथा जनप्रतिनिधिको सहभागिता थियो। 

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले सञ्चारग्राम रेडियो नेपाल र महानगरपालिकाको मात्र नभएर सबै पत्रकार र आम कलाकर्मीको साझा सम्पति भएको बताए। सञ्चारग्राम नितान्त मिडियासँग सम्वन्धित संस्था भएकोले त्यसलाई अत्याधुनिक, उच्च प्रविधियुक्त, सबैको प्रयोगमा आउने ढंगबाट सञ्चालन गर्न खोजेको उनले बताए। उहाँले सञ्चारग्रामबाट सरकारले आम्दानी गर्न नखोजेको पनि स्पष्ट पारे।

रेडियो नेपालका नायव कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले बहुआयामिक महत्वको भवन निर्माण भएपछि सबैभन्दा धेरै पत्रकारले फाइदा उठाउन सक्ने र त्यसपछि सरकार, स्थानीयवासी, कलाकर्मी लाभान्वित हुने वताए। विराटनगर महानगरपालिकाका कार्यकारी अधिकृत कुमार दाहालले सञ्चारग्रामसँग वस्तीको बाटो विकास गर्न आवश्यक रहेकोले त्यसमा पनि रेडियो नेपालको तर्फबाट पहल आवश्यक रहेकोमा ध्यानाकर्षण गराए। 

सञ्चारकर्मीको तालिम, ध्वनी रेकर्डिङ जस्ता थुप्रै कार्य संचालन हुने यो ग्रामबाट विराटनगर महानगरपालिकाले नगर एफएम संचालन गर्ने छन्। संचारग्रामका लागि विराटनगर महानगरपालिकाले ६ कठ्ठा १८ धुर जमिन उपलब्ध गराएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.