|

धनगढी : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्वउप–प्रधानमन्त्री कमल थापाले हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा जनमत बढिरहेको दाबी गरेका छन्। आइतबार धनगढीमा राप्रपाको सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै थापाले हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा माहोल बन्दै गएको दाबी गरेका हुन्।

वर्तमान सरकारका गतिविधिले जनतामा हिन्दुराष्ट्रसहितको राजसंस्था प्रति जनभावना विकास भइरहेको उनले दाबी गरे। ‘विगत १२ वर्षको घटनाक्रमलाई हेर्ने हो भने आखिर नेपाली जनताले के पाए त!’ थापाले प्रश्न गर्दै अगाडि थपे, ‘देशको वर्तमान अवस्थालाई हेर्ने हो भने हाम्रो एजेण्डाको औचित्य र महत्त्वलाई सहजै बुझ्न सकिन्छ। १२ वर्षको असफलताको कारणले गर्दा अहिले विस्तारै तर निश्चित रूपमा हिन्दुराष्ट्र र राजसंस्था सहितको पक्षमा जनताको आकर्षण र जनमत बढ्दै गइरहेको छ।’

थापाले आफूहरूको एजेण्डाअघि बढाउँन पार्टी कार्यकर्ता र नेताहरूलाई निर्देशन दिएका थिए। ‘नेपालको राष्ट्रिय राजनीतिमा क्रियाशील प्रमुख पार्टीमध्ये संसदमा प्रतिनिधित्व गर्ने, हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डा बोक्ने पार्टी राप्रपा मात्रै हो’ अध्यक्ष थापाले भने, ‘हामी पलायन भयौँ भने, निक्रिय भयौँ भने, हामीले विश्वास गरेको एजेण्डा हिन्दुराष्ट्र र राजसंस्था सधैंको निम्ति समाप्त हुन्छ।’

राप्रपालाई अग्रेणी पार्टी बनाउन एकता गर्न लागिएको थापाले बताए। उनले पशुपति शमशेर राणाको नेतृत्वमा रहेको राप्रपा (प्रजातान्त्रिक) र डा. प्रकाश चन्द्र लोहनीको नेतृत्वमा रहेको (एकीकृत राप्रपा राष्ट्रवादी) संग एकताका लागि सबै कुरामा सहमती भइसकेको दाबी गरेका छन्।

राजसंस्थासहितको लोकतन्त्र र हिन्दुराष्ट्र पुनर्स्थापनाका कार्यक्रम गर्ने निर्णय गरेको राप्रपाको देशव्यापी अभियान चलाइरहेको छ। अभियानअन्तर्गत आइतबार थापा धनगढी पुगेका हुन्। राप्रपाको आइतबारको प्रदेशस्तरीय सम्मेलनमा राप्रपाका नेता तथा प्रतिनिनिधिसभा सांसद राजेन्द्र लिङ्देन, प्रदेश संयोजक श्याम शाही, विभिन्न जिल्लाका अध्यक्षलगायतको सहभागीता रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.