
नवलपरासी : गतवर्षको बाढीमा चितवन राष्ट्रिय निकुञ्जबाट नारायणी नदीले बगाएर भारत पुर्याएका ३ वटा गैंडा मध्ये एउटा गैंडा नेपाल ल्याइएको छ। भारतीय क्षेत्रबाट सुस्ताका स्थानीयले शनिबार गैंडालाई नेपालतर्फ ल्याउन सफल भएपछि चितवन राष्ट्रिय निकुञ्जको टोली सुस्ता पुगेर गैंडालाई लिएर आएको हो।
गैंडा लिनका लागि निकुञ्जका वार्डेन वेदप्रसाद ढकाल सहितको प्राविधिक टोली सुस्ता पुगेको थियो। टोलीले गैंडालाई बेहोस हुने इन्जेक्सन लगाइ डुंगामा राखेर नारायणी पार गराएको हो। नारायणी पार गराएपछि गैंडालाई ट्रकमा राखेर चितवन राष्ट्रिय निकुञ्ज लगिएको छ।
भारतले गैंडा नेपाल फर्काउन रोक लगाएपछि भारतीय भूमि प्रयोग नगरी नारायणी नदीमा डुंगाको सहायताले गैंडालाई पार गराउनु परेको हो। गैंडालाई सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट सुस्ताले सुरक्षा दिएको थियो। सशस्त्र प्रहरी निरीक्षक विष्णुप्रसाद थापाको नेतृत्वमा ११ जनाको टोली खटिएकाे थियाे। स्थानीयले समेत गैंडा नेपाल फर्काउन ठूलो सहयोग पुर्याएका छन्। बाँकी दुईवटा गैंडा विहारकै सिर्सिया जंगलमा रहेकोले तत्काल नेपाल फर्काउन सम्भव देखिएको छैन।
भारतीय बन कर्मचारी र एसएसवीले केन्द्र सरकारको अनुमतिविना गैंडा नेपाल फर्काउन नदिने बताउँदै आएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।