|

बाँके : बाँकेमा पर्ने हुलाकी सडक कालोपत्रे सुरु भएपछि स्थानीय खुसी भएका छन्। घाममा धुलो र वर्षातमा हिलोले आवत जावत गर्न नसकेका सर्वसाधारणमा पछिल्लो समय आशा पलाएको छ।

सडक कालोपत्रे भएपछि एक घण्टामा नेपालगन्ज पुग्ने र किनमेल गरेर बेलुकी घर फर्किन सकिने नरैनापुर गाउँपालिका ५ मटेहियाका विश्वजित तिवारीले बताए। ‘कालोपत्रे हुन थालेपछि केही आशा र विश्वास जागेको छ,’ उनले भने। राप्तीसोनारी गाउँपालिका ७ सिमलघारीका श्वेता पटेलले पनि स्थानीयमा खुसी पलाएको बताइन्। उनले कालोपत्रे भएपछि सजिलै साइकलमा नेपालगन्ज आउजाउ गर्न सकिने बताइन्। ‘अव पहिलेको जस्तो दुख गरी नेपालगन्ज आउने दिन गए,’ उनले भनिन्। हुलाकी सडक निर्माण गर्दै आएको गणपति ग्रुप अफ कन्स्ट्रक्सनले पुरैनादेखि राप्ती नदीसम्मको चार किलोमिटर सडक कालोपत्रे गर्न सुरु गरेको हो।

पहिलो चरणमा नेपालगन्ज उपमहानगरपालिका २० पुरैनादेखि राप्ती पुलसम्म कालोपत्रे गर्न आइतवारबाट सुरु भएको गणपतिका प्रमुख तुलसीराम भण्डारीले जानकारी दिए। उनले पुरैनादेखि राप्ती नदीसम्म चार किलोमिटर कालोपत्रे यही पुस महिनाभित्र पूरा गर्ने गरि आइतबारबाट काम सुरु भएको बताए। चिसोमा कालोपत्रे गर्न नमिल्ने भएकोले चिसो नबढ्दै काम सक्ने प्रयास गरिरहेको उनले बताए। ‘शीतलहर र वर्षातले साथ दिए पुस महिनाभित्र चार किलोमिटर कालोपत्रेको काम सम्पन्न हुनेछ,’ उनले भने। 

उनले नेपालगंजको पुष्पलाल चोकदेखि बसपार्कसम्मको एक हजार १०० मिटर सडक कालोपत्रेको काम पनि १० पुसभित्र सुरु हुने बताए। नाला निर्माण र दुई चरणको ग्राभेल विछ्याउने कार्य सम्पन्न भइसकेको बताउँदै उनले नालाको ढक्कन फेर्न परेका कारण कालोपत्रे गर्न ढिलाई भएको बताए। उनकाअनुसार पहिले १० सेन्टिमिटरको ढक्कन राख्ने सहमति अनुसार राखेको र पछि गएर १५ मेन्टिमिटर मोटाइको ढक्कन राख्दा ढिला भएको हो। ‘हाम्रो कारणले नभई हुलाकी सडकका कारण कालोपत्रे गर्न ढिलाई भएको हो,’ उनले भने,‘अब १० दिनभित्र कालोपत्रेको काम सुरु भएर त्यसको एक हप्ताभित्र काम सम्पन्न हुने छ।’

नेपालगंजदेखि सुइयासम्मको ४४ किलोमिटर सडक आगामी २० साउन २०७६ मा सक्नु पर्ने छ। उनका अनुसार हालसम्म ६० प्रतिशत निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ। पुष्पलाल चोकदेखि फत्तेपुरको झगडियासम्मको २२ किलोमिटरलाई पहिलो फेज र झगडियादेखि सूइयासम्मको २२ किलोमिटरलाई दोस्रो फेजमा राखेर काम भइरहेको कन्स्ट्रक्सनका उनले बताए। उनले पहिलो फेजको २२ किलोमिटर सडकको स्टक्चरको ९० प्रतिशत काम सम्पन्न भएको जानकारी दिए।

‘पहिलो फेजको २२ किलोमिटरमा नाली निर्माण, होमपाइप, स्ल्याप कल्भर्ट, बक्स कल्भर्ट र ग्याभिङ (दुई चरणको ग्राभेलिङ गर्ने काम) को ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ,’ उनले भने। उनका अनुसार दोस्रो फेज अन्तरगतको सडकचौडा भई ६० प्रतिशत स्टक्चरको काम सम्पन्न भएको छ। उनले माघ महिनाभित्र ४० प्रतिशत काम सम्पन्न गरी काम भइरहेको बताए।

'दोस्रो फेजको सडकअन्तर्गत २१ किलोमिटरमा पहिलो चरणको ग्राभेल विछ्याएर सकिएको छ,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.