हिन्दुराष्ट्रका पक्षमा केन्द्रीय सदस्य र जिल्ला सभापति कै हस्ताक्षर

|

काठमाडौं : मधेस भइगयो मधेसीको, पहाड वामको

पछिल्लो चुनावलाई हेर्दा, नेपाली कांग्रेस के कामको?

गत वर्ष सम्पन्न तीनै तहको निर्वाचनमा नराम्रोसँग हारेपछि यसरी पार्टीप्रतिको वितृष्ण महासमिति बैठकमा व्यक्त गर्दै थिए, महासमिति सदस्य ललितजंग शाही। आइतबारबाट महासमिति सदस्यको धारणा राख्ने क्रम सुरु भएको बैठकमा शाहीले मात्र होइन अधिकांश सदस्यहरूले पार्टीप्रतिको वितृष्ण व्यक्त गरिहेका थिए।

शाहीले एक जना महिला सदस्यले यो देउडा भाका प्रस्तुत गर्नु भनेको भन्दै उक्त भाकालाई प्रस्तुत गरेको बताए। ‘मलाई एक जना महिला सदस्यले फोन गरेर यो देउडा भाका बैठकमा प्रस्तुत गर्नु भन्नुभएको थियो’, उनले भने, ‘यो देउडा अरूले त बुझ्नुहुन्न होला। तर हाम्रा सभापतिले भए पनि बुझ्नु हुन्छ।’ उनले कांग्रेसले आमजनता र कार्यकर्तामा उत्साह ल्याउने काम नगरेको बताए। ‘एकातिर दुई तिहाईको दम्भले सरकारले संविधान मिचिरहेको छ’, उनले भने, ‘अर्कोतर्फ कांग्रेस एकआपसमा खुट्टा तानाता गर्दै ठीक छ।’

बैठकमा बोल्ने अधिकांशले उनी जस्तै पार्टीको चिन्ता गरिरहेका थिए। चार मिनेट बोल्ने समय पाएका रौतहटका महासमिति सदस्य राजदेव साहले पनि पार्टी पराजित हुनुमा नेताकै हात रहेको बताउँदै बताए। उनले गुट र उपगुटका कारण पार्टी यो अवस्थामा पुगेको बताए। ‘पार्टीभित्र गुट धेरै भयो। अब अन्त्य गर्नुपर्छ’, उनले भने, ‘नभए पार्टी अब डुब्छ।’

आइतबारदेखि आफ्नो धारणा राख्ने मौका पाएका चार मिनेटभन्दा बढी बोल्ने महासमिति सदस्यको माइक आफैँ काटिने छ। पार्टी जिल्ला सभापतिहरूले सबै निर्वाचन क्षेत्रको प्रतिनिधित्व हुने गरी नाम उपलब्ध गराउने र उनीहरूले आफ्नो धारणा राख्ने व्यवस्था मिलाएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। 

महासमिति सदस्यहरूले पार्टीलाई रूपान्तरण गरेर लैजानुपर्नेमा जोड दिएका छन्। केही महासमिति सदस्यहरूले चुनाव हार्नुको कारणका बारेमा पनि आफ्नो धारणा राखेका थिए। प्रतिपक्षमा रहेको कांग्रेसले प्रतिपक्षीको भूमिका खेल्न नसकेको आरोप लगाएका थिए। महासमिति बैठकमा विधानबाहेकको दस्तावेज प्रस्तुत भइसकेको छ। 

विमलेन्द्र निधिको संयोजकत्वमा रहेको राजनीति प्रस्ताव, महामन्त्री डा. शशांक कोइरालाको सांगठनिक, कोषध्यक्षको प्रतिवेदन र सहमहामन्त्रीको प्रतिवेदन बैठकमा प्रस्तुत भएको छ। तर बैठकको मुख्य दस्तावेज विधान मस्यौदा भने केन्द्रीय समितिमा आन्तरिक सहमति जुट्न नसक्दा अझै अन्यौलमै छ। 

‘धर्मनिरपेक्ष होइन, धार्मिक स्वतन्त्रता’

नेपालमा एसिया प्यासिफिक सम्मेलनमा इसाई धर्मको प्रचार भएको र त्यसमा सरकारले सहयोग गरेको भन्दै कांग्रेसले यसको विरोध गरिरहेको छ।

महासमिति बैठक पनि भएका कारण केही नेताहरूले अब धर्म निरपेक्षताको मुद्दा छाड्नुपर्ने बताउँदै आएका छन्। यो विषयमा केन्द्रीय समितिका पदाधिकारीदेखि सदस्यले पनि धारणा राख्दै आएका छन्। महामन्त्री डा. शशांक कोइराला, सहमहान्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य शंकर भण्डारी हिन्दु धर्मको पक्षमा छन्। तर उनीहरू सिधै हिन्दुराष्ट्रको कुरा गर्दैनन्। उनीहरू धार्मिक स्वतन्त्रताको पक्षमा छन्। यसअघि धर्मकै विषयलाई लिएर संस्थापन पक्षका उपसभापति विमलेन्द्र निधि र सहमहामन्त्री महतबीच चर्काचर्कीसमेत परेको थियो।

निधिले तयार पारेको राजनीतिक प्रतिवेदनमा सनातन धर्म संरक्षणको कुरा आएको भन्दै आपत्ति जनाएपछि निधि र महतबीच भनाभन भएको स्रोतले बतायो। आइतबारको पहिलो दिनको बैठबाट बाहिरने क्रममा महामन्त्री डा. कोइरालाले अब धर्म निरपेक्ष होइन धार्मिक स्वतन्त्रताको कुरा उठाउनुपर्ने बताएका थिए। ‘महासमति बैठकमा ग्राउन्डबाट पनि धर्मको कुरा उठ्न सक्छ। तर उठेन भने पनि मचाहिँ उठाउँछु’, उनले भने, ‘अब धर्मनिरपेक्षता होइन धार्मिक स्वतन्त्रता आवश्यक छ।’ हिन्दु धर्ममाथि प्रहार भइरहेकाले अब धार्मिक स्वतन्त्रताको आवश्यक रहेको बताएका हुन्।

बैठकबाट बाहिरिँदै वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि अब धार्मिक स्वतन्त्रताको विषय लिएर अघि बढ्नुपर्ने बताए। यो विषयमा धेरै बोल्न नचाहेका पौडेलले पत्रकारको प्रश्नमा भने, ‘अब धार्मिक स्वतन्त्रतालाई लिएर अघि बढ्नुपर्छ।’

महासमिति बैठकको पहिलो दिनमा आफ्ना धारणा राख्ने केही सदस्यहरूले पनि धर्मबारे अब जनमत संग्रह गर्नुपर्ने बताएका थिए। महासमिति सदस्य विष्णु कँडेलले पनि हिन्दु धर्मको संरक्षण गर्न धार्मिक स्वतन्त्रताको एजेन्डा लिएर अघि बढ्नुपर्ने बताइन्।

महासमिति सदस्य दिनेश कोइरालाले अब धर्मबारे जनमत संग्रह गर्नुपर्ने बताए। ‘सनातन धर्ममाथि निरन्तर प्रहार भइरहेको छ’, उनले भने, ‘धर्म निरपेक्षताले देशमा क्रिष्चियन बढेका छन्। यसका लागि हामीले महासमितिबाट जनमत संग्रह गरेर अघि बढ्ने निर्णय गर्नुपर्छ।’

बैठकमा सबै खाले मत आएकाले सबै मतलाई प्रस्तुत गर्न दिने प्रवक्ता विश्वप्रकाश शर्माले बताए। ‘महासमिति बैठकमा सबै खाले विचारलाई खुला छ। यो सबै खाले विचार खुला ढंगलले प्रस्तुत हुने थलो पनि हो’, उनले भने, ‘सबै विचारलाई समेट्दै अन्तिममा हामी सहमतिका आधारमा निष्कर्ष निकाल्छौँ।’

हिन्दुराष्ट्रका पक्षमा केन्द्रीय सदस्य र जिल्ला सभापति कै हस्ताक्षर

महासमिति बैठकमा हिन्दु धर्मको विषय उठाउनका लागि हस्ताक्षर संकलन सुरु पनि भइरहेको छ। महासमिति बैठक बाहिर हस्ताक्षर संकलन भइरहेको छ। बैद्धिक सनातन हिन्दुराष्ट्र निर्माणका लागि महासमिति बैठकमार्फत् हिन्दुराष्ट्रको एजेन्डाका लागि हस्ताक्षर संकलन सुरु गरिएको हो।

उक्त हस्ताक्षर संकलन अभियानमा आठ सयभन्दा बढीले हस्ताक्षर गरेको बताइएको छ। उक्त अभियानमा नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यदेखि जिल्ला सभापतिसम्मले हस्ताक्षर गरेका छन्।

पूर्वसभामुख तथा पार्टी पूर्वमहामन्त्री तारानाथ रानाभाट पूर्वमन्त्री चिरञ्जीवी वाग्ले, नेतृ पुष्पा भुसाल, केन्द्रीय सदस्य शंकर भण्डारी, नेता अजय चौरसिया, मकवानपुरका सभापति इन्द्र बानियाँ, डडेलधुरा सभापति कर्ण मल्ललगायतले हस्ताक्षर गरेका छन्। संकलित हस्ताक्षरलाई केन्द्रीय सदस्य भण्डारीले महासमिति बैठकमा पेस गर्ने बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.