‘६८ वर्ष पुगे पनि मसँग जाँगरको कमी छैन’

|

रुकुम : धेरैको सोचाई हुन्छ सरकारी जागीर खाने र 'रिटायर्ड' जीवन परिवारसँग आनन्द तरिकाले बिताउँने। तर केही यस्ता ब्यक्तिहरू पनि हुन्छन्, जसले रिटायर्ड जीवन पनि आनन्द तरिकाले बसेर होइन यसअघिकै जस्तै काममा पनि लाग्ने गरेका छन्। त्यस्तै उदाहरण बनेका छन रुकुम पश्चिमका एक शिक्षक।

रुकुम पश्चिम मुसिकोट नगरपालिका ३ माछिमीका गोपालसिंह केसी रिटायर्ड शिक्षक हुन्। तर उनी अहिले पनि शिक्षण पेशामा बिगत जस्तै क्रियाशील छन्। यति फरक हो उनी पहिले सरकारी स्कुलमा पढाउने गरेका थिए अहिले निजीमा। निजी विद्यालयमा शिक्षक भएका कारण पनि उनी पहिलेको भन्दा झनै खटिएर शिक्षण गर्दछन्। उनी अहिले सदरमुकाम खलंगास्थित एभरेष्ट बोडिङ स्कुलमा शिक्षण गर्दछन्। रिटायर्ड जीवन पछि उनलाई निजी विद्यालयमा शिक्षण नगरे पनि खान लाउन पुग्छ।

मध्यम वर्गीय परिवारमा जन्मिएका केसी लामो सरकारी जागिर अनि रिटायर्ड पछिको पेन्सन जीवन गुजारालाई त कुनै समस्या नै थिएन। उनी माबि प्रथम क्षेणीका शिक्षक थिए। उमेरले ६८ वर्ष पार गरे पनि हालसम्म पनि उनी शिक्षण गर्ने र साना बालबालिकासँग खेल्ने जाँगर मरेको छैन। ‘मसँग भएको ज्ञान सीप र जाँगरलाई नेपाल सरकारको सेवा अवधिको सिमाले हटाउन सकेको छैन’ उनी भन्छन्, ‘मेरो ज्ञान र सीप तथा जाँगरको सदुपयोग गरेर थोरै पारिश्रमिकमा पनि सेवा दिइरहेकोको छु। जसको उदेश्य पैसा कमाउने भन्दा पनि म आफूलाई सधै सक्षम बनाई राख्न र सकेसम्म बालबालिकालाई ज्ञान बाँढ्नु नै हो।’

आफू सरकारी विद्यालयमा शिक्षण गर्दा विद्यालयको सञ्चालक समिति, विद्यार्थी, शिक्षक र साथीसामु सबैको प्रिय भएको भन्दै कुशल शिक्षकको रुपमा सेवाबाट अवकास पाएको उनको दाबी छ। सरकारी सेवाबाट आवकास भएको एक सातामै निजी विद्यालयमा शिक्षकको रुपमा जोडिएका केसी हालसम्म पनि उक्त विद्यालयमा पनि कुशल शिक्षकको दर्जामा छन्। ‘हुनत सरकारी शिक्षक हुँदा पनि मैले मिहिनत नगरेको भन्ने अर्थ होइन। तर ३५ वर्षीय सरकारी शिक्षकको भन्दा पनि झन मेहनत र परिश्रम लगाएर निजी विद्यालयमा शिक्षण गरिरहेको छु’ उनले भने, ‘स्वास्थ्ले भ्याएसम्म म अझै केही वर्ष आफ्नो ज्ञान र सीप बाँढ्नेमा तत्पर छु।’

सरकारी विद्यालयमा माथीबाटै प्रशासन केही फितलो हुने भएका कारण गुणस्तरमा कमजोरी हुने गरेको बताउने केसी त्यसको ठीक विपरित निजी बोडिङहरूमा शिक्षकले अन्यन्त जिम्मेवारीपूर्वक भूमिका निर्वाह गरेको पाउछन्। नेपालको हालको शिक्षाप्रणाली पुरानो शिक्षाप्रणाली भन्दा केहि सुधारिएर फरक अनुभूति गर्ने केसी अझै पनि शिक्षा प्रणाली सैद्धान्तिक तथा रटिरटाऊ भन्दा पनि पूर्ण व्यवहारिक बनाउनेमा जोड दिन्छन्।

सरकारी विद्यालय स्तरमा नाताबाद कृतबाद र विद्यालय निरीक्षकहरू आफनो कार्यप्रति बफादार नभएको पनि उनको अनुभव छ। त्यसका लागि शिक्षकलाई सक्रिय बनाउन हालका कार्यकारी अधिकार सहितका गाउँपालिका वा नगरपालिकाले गोप्य निरीक्षकहरूको व्यवस्था गरी राम्रो गर्नेलाई प्रोत्साहन र नराम्रो गर्नेलाई ठाउँको ठाउँ कारबाही गर्नुपर्ने उनको सुझाव छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.