|

हेटौँडा :हेटौँडा उपमहानगरपालिकाले पहिलो चौमासिकमै वार्षिक लक्ष्यभन्दा बढी आन्तरिक आम्दानी गरेको छ। उपमहानगरले एकवर्षभित्र गर्ने लक्ष्य राखेको आम्दानीभन्दा १२ प्रतिशत बढी उपलब्धि पहिलो चौमासिकमै पाएको हो। 

उपमहानगरले प्रथम चौमासिकमा गरेका गतिविधिबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा सूचना अधिकृत भानुभक्त थपलियाले ढुङ्गागिटी बालुवाको करबाट आम्दानी बढेकाले चौमासिकमै वार्षिक लक्ष्य पूरा भएको जानकारी दिए। ‘बजेट घोषणा हुँदा ढुङ्गागिटी, बालुवा उत्खनन् र बिक्री बन्द थियो , असोज महिनापछिबिक्री खुलाइयो, क्रसरहरुको स्टक सामानको पनि मूल्यांकन गरी कर संकलन गरियो, त्यसैले आम्दानी निकै बढ्यो’, थपलियाले भने।

चालू आवमा ३५ करोड १२ लाख ९७ हजार रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको उपमहानगरले पहिलो चौमासिकमै ३९ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको  छ। बाह्य आयमा पनि करिब ३६ प्रतिशत प्रगति हासिल गरेको जनाइएको छ। एक अर्ब ३४ करोड ९५ लाख रुपैयाँ बाह्य आम्दानी हुने लक्ष्य राखिएकोमा प्रथम चौमासिकमा ४६ करोड ६९ लाख ४८ हजार रुपैयाँ आम्दानी गरेको सूचना अधिकृत थपलियाले बताए। 

जम्मा एक अर्ब ७० करोडको बजेट घोषणा गरेको उपमहानगरले आन्तरिक र बाह्य आम्दानी गरी ८६ करोड नौ लाख ५० हजार रुपैयाँ प्राप्त गरिसकेको छ। प्रथम चौमासिकमा जम्मा प्रगति ५०.६१ प्रतिशत देखिएको छ। आम्दानीको तुलनामा खर्च गर्न भने उपमहानगर पछि परेको छ। पुँजीगततर्फ ६७ करोड १४ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य राखिए पनि पहिलो चौमासिकमा आठ करोड आठ लाख २० हजार अर्थात १२.४ प्रतिशत मात्र पुँजीगत खर्च भएको छ। चालु खर्च भने पहिलो चौमासिकमै २८.५ प्रतिशत देखिएको छ। चालुतर्फ एक अर्ब दुई करोड ९४ लाख ४५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएकोमा २९ करोड ३४ लाख ७४ हजार खर्च भइसकेको छ। कुल खर्चमा २२ प्रतिशत प्रगति देखिएको छ। 

उपमहानगरपालिकाबाट पहिलो चौमासिकमा शिक्षा तर्फमा शिक्षकको तलब, बालविकास शिक्षक तलब अनुदान, विद्यालय कर्मचारी तलब, विद्यालय सञ्चालन व्यवस्थापन, आवासीय छात्रवृत्ति, धार्मिक, वैकल्पिक विद्यालाय अनुदान गरी १४ करोड नौ लाख ६४ हजार रुपैयाँ खर्च गरेको जनाइएको छ।  

चालु आर्थिक वर्षको चार महिनाको अवधिमा सामाजिक विकासतर्फ ३८ वटा काम भएका छन्। तीमध्ये १२ वटा काम सम्पन्न भएका छन् भने २६ वटा काम चालु अवस्थामा रहेका छन्। उपमहानगरपालिकाले चार महिनाको अवधिमा १३ हजार आठ सय ८० वटा विभिन्न खालका सिफारिसहरु गरेको जनाएको छ। यो अवधिमा नागरिकता, नागरिकताको प्रतिलिपि, नाता प्रमाणित, खानेपाानी धारा जडान, बिजुली जडान सिफारिस, वस्तुगत विवरण, नक्सा नामसारी सिफारिस, नाता सम्बन्ध, जन्म प्रमाणित र अन्यखालका गरी झण्डै १४ हजारवटा सिफारिस गरिएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.