|

इलाम : एन्फाले फागुन २३ गतेबाट चैत्र २ गतेसम्म पाँचौ संस्करणको माईभ्याली अन्तराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको स्विकृती दिएपछि आयोजकहरु तयारी अगाडी बढाउने तरखरमा थिए। तर एक्कासी नेपाली सेनाले ठुलो टुडिखेलमा काँडेतार लगाएपछि प्रतियोगिता अन्यौलता तर्फ धकेलिएको छ। सेनाको स्वामित्वमा रहेको टुँडिखेलमा यसअघि चारवटा संस्करणको प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको माईभ्याली गोल्डकप हुने खेल मैदान सेनाले आफ्नो जग्गा सुरक्षित गर्न भन्दै माथिल्लो भागमा काँडेतार राखेपछि प्रतियोगिता गराउन तोकिएको मिति असंभव जस्तै भएको माईभ्याली फुटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङले बताए।

उनले भने ‘राणा, पञ्चायत तथा बहुदलकालमा समेत विभिन्न प्रतियोगिता निर्वाध संचालन गर्ने वातावरण रहेको टुडिँखेलमा अहिले आएर प्रतियोगिता संचालन गर्न नदिनु दुःखको विषय हो। विगतका वर्षहरुमा पुर्वाञ्चलको प्रतिष्ठित ज्ञानी शिल्ड, कमल शिल्ड, भुकम्प पिडित स्मृति जस्ता प्रतियोगिता संचालन गरेर ख्याति कमाएको इलामे फुटबलको इतिहास अहिलेको नेपाली सेनाको नेतृत्वको व्यवहारले धरापमा परेको छ।’ सेनाले लगाएको काडेतारले जोखिम निम्त्याउने चेम्जोङले बताए। ‘काँडेतारका बीचमा यसपटकको प्रतियोगिता गर्न सकिंदैन, एउटा खेलाडी अथवा दर्शकलाई चोट लाग्दा त्यसको जिम्मेवारी को हुने ?’ चेम्जोङले भने

यता अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रिय सदस्य निरोज खड्गीले पशुपतिप्रसाद गणका गणपति असिमदिप गुरुङसँग बारम्बार वार्ता गर्दा मुखले ठिक्क पार्ने तर व्यवहार भने टुडिँखेलमा कसैलाई प्रवेश गर्न नदिने, खेलाडीहरुलाई अभ्यास सम्म गर्न नदिने जस्ता निरंकुश व्यवहार गर्ने गरेको आरोप लगाए। खड्गीले भने– ‘सेनासँग बाझाबाझ गरेर प्रतियोगिता संचालन गर्न नसकिने अवस्था आएकोले पाँचौ संस्करण गर्न असमर्थ भयौ।

भविष्यमा फुटबललाई बुझ्ने सेनाको नेतृत्व आएपछि हामी प्रतियोगितालाई निरन्तरता दिन्छौं।’ काँडेतार लगाइएको क्षेत्रमा दर्शकहरु बस्नुपर्ने र मान्छे हिंड्ने मुख्य बाटो पनि त्यही भएकाले चोटपटकको सम्भावना बढी भएकाले प्रतियोगिता आयोजना गर्न समस्या भएको अध्यक्ष चेम्जोङको भनाइ छ। माईभ्याली गोल्डकप पुर्वी पहाडको सवैभन्दा ठुलो फुटबल प्रतियोगिता मानिदै आएको छ। एन्फाले समेत मोफसलमा हुने २५ वटा गोल्डकप प्रतियोगिता मध्य ए ग्रेडको सुचीमा राखेको छ ।

राणाकाल देखिनै खेल मैदानका रूपमा प्रयोग भइरहेको यो टुँडीखेललाई नेपाली सेनाले आफ्नो स्वामित्तमा रहेको भन्दै सर्व साधारणलाई प्रवेशमै रोक लगाउनुले जिल्लाकै खेल क्षेत्रलाई पाखा लगाएको खडगीको बुझाइ छ। इलामस्थित पशुपति प्रसाद गणका गणपती असिमद्धीप गुरूङले तारबार गरेर अझ खेलमैदानको संरक्षण गरेको बताए। गुरूङले भने ‘माथिबाटै आफ्ना जमिनको सुरक्षा गर्न निर्देशन भए अनुसार यहाँ काम गरिएको हो, अब तारबार हटाउन माथिबाटै स्वीकृत लिनुपर्छ।’ तर, प्रतियोगिता नै रोक्ने भन्ने नभएको गुरूङको भनाइ छ। अखिल नेपाल फुटबल संघ एन्फाले आगामी माईभ्याली गोल्डकपको यो संस्करणलाई आफ्नो क्यालेन्डमा फागुन २३ गतेदेखि चैत २ गतेसम्म गर्ने गरी स्वीकृति दिएको थियो। एन्फाले आयोजक माईभ्यालीलाई तोकिएको समयमा प्रतियोगिता सम्पन्न गराउन निर्देशनसमेत दिइसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.