‘कांग्रेसले मधेसका मुद्दालाई उठाउन सकेन, तराईमा कमजोर बन्यो’

|

काठमाडौं : तराईलाई नेपाली कांग्रेसको उत्पतिको क्षेत्र मानिन्छ। कांग्रेसकै राजनीतिबाट मधेसका अनुहार महेन्द्रनारायण निधि, महन्थ ठाकुर, पूर्वराष्ट्रपति रामवरण यादव उदाए।

तर, अहिले तराईमा कांग्रेस निकै कमजोर छ। गत वर्ष सम्पन्न विर्वाचनमा कांग्रेस तराईका जिल्लामा चौथो दलमा सीमित भयो। पहिले तराई मधेशका कांग्रेसका दबदबा थियो। तर, क्षेत्रीय दल चुनौतीका रूपमा देखिए र त्यस्ता क्षेत्रीय दलको नेतृत्व गर्ने  प्रभावशाली नेता कांग्रेस छोडेका मध्यबाट छन्।

कांग्रेसको राजनीतिबाट उदाएका धेरैले कांग्रेस छाड्दै क्षेत्रीय दल बनाएका कारण पनि कांग्रेसलाई चुनौती भयो। मधेसमा अनुहारलाई पार्टी केन्द्रीय समितिमा कम मात्रै सहभागिता रहेका कारण पनि पछिल्लो समय मधेसमा कांग्रेस कमजोर भएको विश्लेषण पनि छ। निर्वाचनमा हार व्यहोरेपछि बोलाइएको महासमिति बैठकमा पनि तराईबाट आएका महासमिति सदस्यले कांग्रेस तराईमा हार्नुको कारण पैलाइरहेका छन्। 

महासमिति सदस्यहरूले कांग्रेसले तराईका कार्यकर्तालाई संरक्षण नै नगरेका कारण चुनाव हार्न पुगेको बताएका छन्। तराईमा कांग्रेसले हार्नुको मुख्य कारण तराईको राजनीतिमा प्रभावशाली मानिएका महन्थ ठाकुरले कांग्रेस छाडेर नयाँ पार्टी बनाएकाले पनि हुनसक्ने तराईबाट आएका महासमिति सदस्यहरू बताउँछन्। देशभरिका कांग्रेस कमजोर त बन्यो तर तराईमा बलियो पकड हुँदा पनि  चौथो शक्तिमा झर्दा तराईका नेताहरू बढी चिन्तित देखिन्थे। 

तराईबाट आएका महासमिति सदस्यहरूले कांग्रेसले मधेसको मुद्दालाई बिर्सिएको गुनासो गरेका छन्। ‘कांग्रेसको पुरानो विधानले मधेसलाई राम्ररी समेट्न सकेको छैन’, सप्तरीका महासमिति सदस्य विन्देश्वरप्रसाद साहले भने, ‘मधेसको विकास, नागरिकताको समस्याका विषयमा कांग्रेसले केही गर्न सकेन। अब महासमितिपछि कांग्रेसले मधेसको हितमा काम गर्नुपर्छ।’

कतिपय प्रतिनिधिहरूले मुद्दा बिर्सिएको मात्रै होइन नेताले कार्यकर्तालाई वेवास्था गरेको गुनासो पनि गरेका थिए। ‘कांग्रेसले मधेसका कार्यकर्तालाई वास्थै गरेन। अरू पार्टीले कार्यकर्तालाई संरक्षण गरेको छ’ महोत्तरीकी महासमिति सदस्य जानकीदेवी महतोले भनिन्,‘छोराछोरीलाई खेत बेचेर पढाइयो। अरू पार्टीकाले आफ्ना कार्यकर्तालाई जागिर खुवाउँछन्। हाम्रो चाहिँ घरमै बस्नुपर्ने अवस्था छ।’

अन्य समयमा कांग्रेस हुने र चुनावका बेला कांग्रेसलाई भोट नहाल्ने प्रवृत्तिले पनि पार्टी बिगारेको उनको भनाइ छ। ‘नेपाली कांग्रेसको कार्यकर्ता घटिया छन्’, उनले भनिन्, ‘अरूबेला कांग्रेसी हुन्छन्। चुनावका बेला भोट हाल्नै बिर्सन्छन्।’

कतिपयले तराईका कार्यकर्तालाई कांग्रेसले विभेद गरेको आरोप पनि लगाएका छन्। त्यसकारण तराई केन्द्रित क्षेत्रीय दलले अवसर पाएको गुनासोसमेत गरेका छन्। कांग्रेसलाई अब पहिलो पार्टी बनाउन मधेसी जनतालाई पनि समान रूपमा हेर्नुपर्ने र अवसर दिनुपर्ने उनीहरूको भनाइ छ। 

‘तराईका जनताको विकासमा पनि पहुँच कम छ। त्यसकारण मधेसका दलहरूले अवसर पाएका छन्’, महासमिति सदस्य नारायण यादवले भने, ‘फेरि तराईका जनताले काठमाडौंबाट अपहेलित भएको महशुस पनि गरेका छन्। कांग्रेसले अलिक विभेद गरेको जनताले महशुस गरेका छन्। त्यसकारण कांग्रेस अलिक कमजोर बनेको छ।’ 

कांग्रेसले उठाउनुपर्ने मुद्दा मधेसवादी दलले उठाएका कारण तराईमा संगठन कमजोर भएको तराई मधेसबाट आएका महासमिति सदस्यहरूको निष्कर्ष छ। ‘नेपाली कांग्रेसले जुन आवाज उठाउनुपर्ने थियो। त्यो आवाज कांग्रेसले उठाउन सकेन’, सुनसरीका महासमिति सदस्य सूर्यदेव उराउ भन्छन्,‘ मधेसका मुद्दालाई कांग्रेसले बेलैमा सम्बोधन गरेको भए अहिलेको जस्तो संगठन कमजोर हुने थिएन।’ 

कांग्रेसले मधेसका मुद्दालाई उठाए पनि आफ्नो मुद्दा हो भन्न नसक्दा पार्टीले पराजय भोग्नुपरेको महासमिति सदस्य सेख लालबाबु बताउँछन्। ‘पार्टी हारेकोमा हामी धेरै चिन्तित छौँ। हामीले उठाएका मुद्दलाई पनि प्रचार गर्न सकेनन्। त्यसकारण मधेसी दलले हाम्रो मुद्दा भन्दै प्रचार गरे’, उनले भने, ‘हामीले त्यसलाई चिर्न सकेनौँ। त्यसकारण हामी नराम्रोसँग पराजित बन्न पुग्यौँ।’ 

तर, अब भने जनताले मधेसवादी दललाई पनि चिनिसकेकाले अर्को वर्ष कांग्रेस पहिलो पार्टी बन्ने उनी बताउँछन्। त्यसका लागि नेताहरूले आन्तरिक लडाई छाडेर तराईमा संगठन विस्तारका लागि जानुपर्ने उनको धारणा छ। 

बैठकमा बोल्ने अधिकांश महासमिति सदस्यहरूले पनि अब कांग्रेसले तराईको मुद्दालाई प्राथमिकताका साथ उठाउनुपर्ने बताएका छन्। कांग्रेससँग अझै पनि जता नजिक हुन चाहेको र ‘फरक स्वाद’का लागि मात्र राजपा र फोरमलाई मत खसालेको उनीहरूले बताएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.