|

काठमाडौं : महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा मगरले सरकारले महिलालाई स्वरोजगार बनाउन विभिन्न कार्यक्रमहरू संचालन गरिरहेको बताएकी छन्। गुडविल फाउण्डेशन, टिएआर चाइना र तिब्बत विश्वविद्यालयको सहयोगमा सफा सुनौलो नेपाल नामक संस्थाले आयोजना गरेको ३० दिने एड्भान्स सिलाइ तथा बुनाइ कार्यक्रमको सोमबार समापन गर्दै मन्त्री थापाले त्यस्तो बताएकी हुन्।

कार्यक्रममा बोल्दै मन्त्री थापाले नेपाली महिलालाई स्वरोजगार बनाउन विभिन्न सीपमूलक तालिम प्रदान गर्दै आएकामा चीन सरकारलाई धन्यवाद दिइन्। 'यसले नेपाली महिलाको सशक्तीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। चीन सरकार र त्यहाँका नागरिकको मिहिनेत, पसिनाले जुन हिसाबले मुलुकलाई समृद्ध बनाएको छ, त्यसबाट हामी पनि सिक्न चाहन्छौँ', मन्त्री थापाले भनिन्।

लामो समयको संघर्षपछि मुलुकमा स्थायी सरकार आएको भन्दै उनले सरकार समृद्धिको बाटोमा अगाडि बढेको बताइन्। मुलुकलाई आर्थिक समृद्धिमा लैजानका निम्ति यहाँ भएका विभिन्न संभावनालाई परिचालन गरेर अगाडि बढ्ने योजनामा सरकार रहेको उनको भनाइ थियो।

विशेषगरी कृषि, पर्यटन, वन पैदावरसँग सम्बन्धित विषयलाई परिचालन गरेर मुलुकलाई आत्मनिर्भर बनाउने दिशामा अगाडि बढ्ने योजनामा सरकार रहेको मन्त्री थापाले बताइन्।

कार्यक्रममा नेपालस्थित चिनियाँ राजदूताबासका काउन्सिलर च्याङ फान, तिब्बत विश्वविद्यालयका सेक्सन प्रमुख टुडेङकेजुले नेपाली समुदायलाई जनस्तरबाट सहयोग गर्दै लगेर सबल बनाउने चीन सरकारको आकांक्षा रहेको बताए।  

देशभरका विभिन्न क्षेत्रका ५५ जना महिलाहरू सहभागी प्रशिक्षण कार्यक्रममा ३२ जनालाई सिलाइ तथा २४ जनालाई बुनाइको प्रशिक्षण दिइएको थियो। त्यस अवसरमा सहभागी सबैलाई सिलाइ मेसिन तथा बुनाइ सामग्री प्रदान गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.