|

जनकपुरधाम : जनकपुरधामको रामस्वरुप रामसागर बहुमुखी क्याम्पस सुधारको मागसहित प्रमुख जिल्ला अधिकारीमार्फत उप–कुलपतिलाई ज्ञापनपत्र बुझाएको छ। राष्ट्रिय विद्यार्थी संघद्वारा बिभिन्न १९ वुँदे मागसहित सोमबार धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलद्वारा उप–कुलपतिलाई ज्ञापनपत्र बुझाएको हो।

कुनै बेलामा देशमै ख्याति कमाएको राराब क्याम्पसका परीक्षा प्रणाली तथा अध्ययन अध्यापन दयनीय अवस्थामा पुगेको तथा क्याम्पस प्रमुख बिजयलाल दासलाई ध्यानाकर्षण गराउँदा समेत लापरवाही देखाएको भन्दै ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्रमा विद्यार्थीको मुद्दामा क्याम्पस प्रमुखले कुनै चासो नदेखाई पटक–पटक वार्तामा बोलाउने तर आफै उपस्थित नहुने जस्ता समस्याप्रति ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाइएको राराबका इकाई अध्यक्ष दिनेश यादवले जानकारी दिए।

राष्ट्रिय विद्यार्थी संगठनले क्याम्पसको अध्ययन अध्यापन सुधारको माग गर्दै मूलगेटमा धर्ना, कालोपट्टी र तालाबन्दी सम्मको कार्यक्रम गर्दै आएका थिए। आन्दोलनकै कार्यक्रमअन्तर्गत सोमबार राराब क्याम्पसबाट निस्केको विद्यार्थीको र्‍याली जनकपुरधामको परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा पुगेर एकघण्टा धर्नासहित ज्ञापनपत्र बुझाएका थिए।

जवाफमा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले आगामी ५ गतेसम्म आफूले सुधारको लागि पहल गर्ने आश्वासन दिएको विद्यार्थी नेता रोशन मिश्रले जानकारी दिए। विद्यार्थीले क्याम्पसमा नियमित पठन–पाठन हुनुपर्ने, कक्षाकोठा व्यवस्थापन हुनुपर्ने, शौचालयको उचित व्यवस्थापन गर्नुपर्ने, विभिन्न संकायमा ल्यावको ब्यवस्था हुनुपर्ने, होस्टलको पुनःनिर्माण गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलन गर्दै आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.