|

काठमाडौं : नेपाली कांग्रेसको विधान मस्यौदामा १२ जना पदाधिकारी राख्ने सहमति भएको छ। तर निर्वाचन पद्धतिमा नेताहरूबीच मतभेद हुँदा विधान मस्यौदा केन्द्रीय समितिमै अड्किएको छ। महासमिति बैठकमा प्रस्तुत गर्न तयार पारिएको विधान मस्यौदामा केन्द्रीय समितिमा सहमति जुट्न नसकेपछि महासमिति बैठक सुरु भएको तीन दिनमा पनि विधान मस्यौदा महासमिति बैठकमा प्रस्तुत हुन सकेको छैन।

विधानमा सहमति जुटाउन पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार साँझ भएको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा १२ जना पदाधिकारी राख्न अनौपचारिक सहमति भएको नेता अर्जुनरसिंह केसीले जानकारी दिए।

स्रोतका अनुसार बैठकमा महामन्त्री डा. शशांक कोइरालाले एक सभापति, दुई उपसभापति, तीन महामन्त्री, पाँच सहमहामन्त्री र एक कोषाध्यक्षसहित १२ जना पदाधिकारी प्रस्ताव ल्याएका थिए। यसमा अनौपचारिक सहमति भएको स्रोतले जनाएको छ।

तर यसमा निर्वाचन पद्धति कस्तो हुने भन्नेमा विवाद छ। संस्थापन समूहले सबै पदमा एक/एक मनोनीत गर्न प्रस्ताव गरेको छ तर संस्थापनइतर समूह भने यो विषयमा सहमत छैन। नेपालको संविधानमा नभएको व्यवस्था पार्टीको विधानमा राख्न नहुने अडान असन्तुष्ट समूहका नेता अर्जुननरसिंह केसीले राखेका छन्।

सबै पदमा एक/एक मनोनीत गर्ने विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सकारात्मक रहेको स्रोतले तबाएको छ। तर आफू निकटका नेताले नमानेपछि उनी संकटमा परेका हुन्। पदाधिकारीको निर्वाचन पद्धतिमा सहमति जुटाउन मंगलबार बिहान ९ बजे पुनः बैठक बस्ने सहमति भएको छ। संस्थापन समूह भने पदाधिकारी समावेशी बनाउनुपर्ने भन्दै मनोनीतको पक्षमा उभिएको छ।

केन्द्रीय समितिमा सहमति नजुटेपछि महासमिति बैठक लम्बिने संकेत देखिएको छ। पार्टीले तयार पारेको पुरानो कार्यतालिकाअनुसार मंगलबार बैठकको अन्तिम दिन हो। तर बैठक पूर्वनिर्धारित समयभन्दा एक दिन ढिला भएका कारण एक दिन लम्बिने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। मंगलबार विधान पेस भए पनि विधानमाथि छलफल गर्न पर्याप्त समय हुँँदैन तसर्थ महासमिति लम्बिनसक्छ। तर प्रवक्ता शर्माले भने बैठक नलम्बिने दाबी गरे।

‘एक दिन ढिला भएकाले एक दिन लम्बिने पहिलेको तालिका नै हो’, उनले भने, ‘बुधबारभन्दा एक दिन सर्दैन। भोलि विधान मस्यौदा पेस गर्छौं। सम्भव भए भोलि नै छलफल गरेर बिहान बैठकको समापन गर्छौं। नभए बिहानभरि छलफल गरेर बुधबार दिउँसो समापन हुन्छ।’

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.