|

जनकपुरधाम : महोत्तरीको औरही नगरपालिका २, फूलबरियाका ४० वर्षीय बचु महतोको हत्या यौन प्रलोभन देखाएर भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। 

महोत्तरीको औरही नगरपालिकाकै फूलबरियाकी २२ वर्षीया जितनी देवी महतोलाई गत बिहीबार प्रहरीले हिरासतमा लिएर अनुसन्धान थालेपछि हत्याको रहस्य खुलेको हो । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक किशोर आचार्यका अनुसार हत्यामा ‘यौन’ मुख्य देखिएको जानकारी दिए।

यसरी भएको थियो हत्या

मृतक बेचुले घरदेखि केही पर करिब २ कठ्ठा खेतमा उनले काउली लगाएका थिए । तर नीलगाईले काउली खाएर दुःख दिन थालेपछि उनी केही समयदेखि खेतमै बस्थे। मंसिर २४ गते पनि रात परेपछि उनी खेत पुगे। आफ्नो खेतनजिक उखुबारीमा उनले केही हलचल भएको देखे।

‘सायद नीलगाई लुकेको हुन सक्छ,’ उनले शंका गरे । त्यहाँ पुग्दा उनले छिमेकी जितनी र अर्का २४ वर्षीय छिमेकी सुशील सहनीलाई आपत्तिजनक अवस्थामा देखे । बेचुलाई देखेर सुशील भागे। जितनी अक्क न बक्क परिन् । जितनीको भनाईलाई प्रहरीले उद्धृत गर्दै भने, ‘मलाई उसले (बेचु) हप्कीदप्की गर्‍यो, मोबाइल पनि खोस्यो र लोग्नेलाई भनिदिने धम्की दियो ।’

यसरी धम्कीको कुरा जितनीले प्रेमी सुशीललाई सुनाइन् र यौन प्रलोभनमा पारेर उनको हत्या गर्ने योजना बन्यो। जितनी र सुशीलको योजनाअुसार बेचुलाई यौन सम्पर्कका लागि राति सोही खेतमा बोलाइन्। रातको समयमा खेतमा जितनी पुगिन्। बेचु आफ्नो खेत नजिकै पुगे। सोही क्रममा सुशील र उनका छिमेकी अनिलकुमार शर्मा (ठाकुर) लुकेर बसिरहेको कुरा बेचुलाई थाहा थिएन ।

जितनीसँग गफ गरिरहेका बेचुलाई सुशीलले पछाडिबाट आफैँले लगाएको ज्याकेटले घाँटी कसेर हत्या गरे। मृत्यु भएपछि उनीहरूले शवलाई घिसारेर २००मिटर पर रामराजा ठाकुरको उखुबारीमा राखे। बेचुकी पत्नी राधादेवीका अनुसार हत्याको राति बेचु ८ बजेतिर खेतबाट फर्किएका थिए।

सँगै सुतेका बेचु कतिवेला बाहिर निस्के उनले थाहा पाइनन्। मध्यरातसम्म बेचुको नआएपछि राधादेवीले हल्ला गरिन्। छिमेकी र प्रहरी खोज्दै खेतमा पुग्यो। त्यहाँ नदेखेपछि खोज्ने क्रममै मंसिर २६ गते बुधबार बचुको शव उखुबारीमा भेटियो।

यता पाँच वर्षीय छोराकी आमा जितनीका पति विजय केही समयदेखि सिरक बनाउने कामका लागि काठमाडौंमा रहेका छन्। प्रहरीलाई जितनीले दिएको बयानमा मंसिर २५ गते बेचुले आफूसँग यौनसम्पर्क नगरे मोबाइल नदिने र सबैलाई भनिदिने धम्की दिएको जितनीले दिएको बयानमा उल्लेख छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.