विचार

विपीसँगको एक मात्र भेट
SHARES

पुस ५, २०७५

    यस्तो समय पनि आउँदोरहेछ जीवनमा, जहाँ आफूलाई हरेक कुरो थाहा छ जस्तो लाग्ने तर ठूलाबडाको नजरले अनजान नै देख्ने। अनि आफैँले गरेका र भोगेका कार्य सम्झँदा कहिले रोमान्चकता बढ्ने त कहिले हाँसो उठ्ने। सायद ‘टिनएज’ प्रवेशताका जीवनमा यस्तो मोड आउँदोरहेछ। सबै विषयमा आलोकाँचो।

    मेरो उमेरको त्यो संक्रमणकालीन उमेरताका पंचायती व्यवस्था अवसानोन्मुख थियो। मुलुकले असफल सत्याग्रह पनि देखिसकेको थियो। रामराजाप्रसाद सिंहको अगुवाइमा राजधानीमा बमकाण्ड पनि मच्चिसकेको थियो। ‘नेपाल अधिराज्य’को अदालतले मृत्युदण्डको सजाय सुनाएको पनि समाचारमा सुनिएको थियो- तिनै रामराजाप्रसाद सिंहलाई, जो भारत निर्वासित थिए।

    त्यही समयताका नेपाली र भारतीय मुद्राबीच सधैँ एउटै विनिमय दर कायम हुनुहुँदैन भन्ने खरो राष्ट्रवादी आवाज उठ्ने गरेको थियो। नेपाल राष्ट्र बैंकले नेपाली मुद्रालाई केही बलियो बनाउँदै भारुसँगको सटही दरमा केही कमी पनि ल्याएको थियो। तर बजारको मागलाई धान्न नसक्दा त्यो निर्णयबाट पछाडि हट्नुपरेको थियो। वाह! यस्ता कुरासमेत थाहा पाउने भइसकेको थिएँ म।

    त्यही बेला नेपाली र भारतीय मुद्राको सटही दरमा परिवर्तन ल्याउँदा केही असर पर्छ वा पर्‍यो भन्ने समाचार बनाउन राष्ट्र बैंकले वरिष्ठ पत्रकारहरू मदनमणि दीक्षित, मणिराज उपाध्याय र गोपाददास श्रेष्ठलाई वीरगंजको सीमा बजार रक्सौल घुमाउन लग्यो। ती सबै पत्रकार नेपाली पत्रकारिताका इतिहासमा विशिष्ठ नाम हुन्। जब आफू पत्रकार बनियो अनि थाहा पाइयो, समयको कुनै खण्डमा आफूले त्यस्ता अग्रजको सामीप्य महसुस गर्न पाएको रहेछु भन्ने।

    राष्ट्र बैंकको जनसम्पर्क प्रमुख र प्रवक्तासमेत भएका कारण मेरा बाबाले उनीहरूलाई त्यसबेला टलक्क टल्कने ‘ब्रान्ड न्यू’ पजेरो जीपबाट वीरगंज लिएर गए। जाडो बिदा परेका कारण म पनि जीपको सबैभन्दा पछाडि बसेर इतिहासका ज्यूँदा साक्षी ती बुढा टोलीहरूसँगै त्यता लागेँ। जीवनमा दोस्रो वा तेस्रो पटक नागढुंगा काटेको त्यही बेला थियो। मस्तिष्कको ‘स्टोर’ गर्ने क्षमता केही कसिलो भएपछि सायद दोस्रो पटक नागढुंगा काटेर पोखरा गएजस्तो लाग्छ- बाबाकै पछि लागेर। त्यसबेलाको भ्रमण राष्ट्र बैंकका तत्कालीन गर्भनर कल्याणविक्रम अधिकारीका साथमा गरिएको थियो।

    त्यो बेला अलिक सानै थिएँ। त्यो भ्रमणको धुमिल सम्झनाबाहेक केही छैन मसँग। तर वीरगंज यात्रामा भने काठमाडौं छाडेदेखि घर फर्कंदासम्म अनौठो रोमान्चकता मात्र दियो। 

    बुढाहरू मलाई बच्चै देख्थे। तातोपानी ‘एभ्री डे’ नामको धूलो दूध पनि पहिलो पटक नै खाइयो। त्यो भ्रमणका बेला। ती तीनमध्ये एक जना त्यो दूधको सौखिन थिए। मलाई पनि कलिलै देखेर दूध खान कर गर्थे। म सजिलै खाइदिन्थे। उनीहरूलाई के थाहा त्यही बेला एक-दुई पटक बियरसमेत घुट्काइसकेको बालक हो यो भन्ने। त्यसैले खुलेरै कुरा गर्थें। राजनीतिदेखि कूटनीति अनि सुरादेखि सुन्दरीसम्मका। बस्, जीपको पछिल्लो सिटमा बस्यो, गफ सुन्यो, मैले गर्नसक्ने त्यही थियो। कुनै महफिलमा उपस्थिति जनाए बुढाहरूसँगै बस्यो। अनि ‘टिनएज’मा मनमा काउकुती लगाउने गफमा मस्त भयो। यसरी नै बितेको थियो, सजिलैसँग। त्यो तीन-चार दिनको भ्रमण। सबै कुरा लेखिसाध्य पनि नहोला र नमिल्ला पनि। त्यहीताका नेपाल टेलिभिजनबाट एउटा पाकिस्तानी टिभी सिरियल आउँथ्यो। एउटा पात्र थिए, ‘हाकु बाबा।’ उनीहरूले त्यो भ्रमणकै बेला मेरा बाबालाई जिस्काउने नाम पाए, ‘हाकु बाबा।’

    त्यही बेला मैले थाहा पाएँ। विपीको हठका कारण कसरी नेपालमा बहुदलीय व्यवस्था आउन अर्को १० वर्ष कुर्नुपरेको रहेछ भनेर, पत्नीको घोर आपत्ति अनि पारिवारका प्राय: सबैको विरोधका बाबजुद पनि तत्कालीन राजा वीरेन्द्र कसरी २०३६ सालमा नै बहुदलीय व्यवस्था घोषणा गर्न तयार भएका थिए भन्ने। राज परिवार र पंचायतका कुटिल शासकहरूले फ्याँकेको पासामा विपी कोइराला थाहै नपाईकनै कसरी फसेका रहेछन् अनि कसरी उनी जनताबाट अनुमोदन गराएरै बहुदलीय व्यवस्था लागू हुने विश्वासमा फसेछन् भन्ने। हितैषीहरूले सम्झाउँदासमेत विपीको जनतामाथिको अडिग विश्वासका कारण बहुदलीय व्यवस्थाको आगमन लम्बिएको रहेछ। विपीको विश्वासमा त्यो बेला जनताले धोका दिएका थिएनन् रहेछ। सूर्यबहादुर थापाहरू जस्ता धुर्त खेलाडीको राजनीतिक पेचमा फसेर विपीले हार स्वीकार गर्नुपरेको रहेछ। 

    सबैलाई थाहा थियो- बहुमत जनता बहुदलीय व्यवस्थाकै पक्षमा थिए भन्ने। सायद विपीको विश्वास गलत र कमजोर थिएन तर सूर्यबहादुर थापा जस्ता धुर्त शासकले जनताको मतको हत्या गर्ने आशंका सबैले गरेका रहेछन्। सम्भवतः विपीले पनि। तर पनि उनी आफ्नो अडानबाट हट्न सकेनछन्। सूर्यबहादुर थापाले पंचायती व्यवस्थालाई जनमतबाट अनुमोदन गराउन त्यसबेला विदेशबाट समेत चुनावी विशेषज्ञहरू ल्याएका रहेछन्। चुनावी घुर्ततामा माहिर खेलाडीहरू, जसको काम पंचायती व्यवस्थालाई जिताउने अनि धाँधली पनि नभएको जस्तो नतिजा पनि तयार पार्ने। त्यसबेला विपीको विश्वासको अगाडि सूर्यबहादुरको धुर्तता बलियो ठहरियो। नतिजा यस्तो आयो कि अन्तर्राष्ट्रिय समुदायले पनि त्यसलाई सहज स्वीकार गर्‍यो।

    मनैदेखि बहुदलीय व्यवस्थाको आगमनको स्वागत पनि गरियो नै तर धन्य! कुनै राजनीतिक पार्टीको सदस्यता लिने, कार्यकर्ता बन्ने वा कुनै वादमाथि अन्धो विश्वास राख्ने कार्य कहिल्यै गरिएन। सदस्यता लिन दबाब पनि खेपियो तर अहँ सदस्य बनिएन।

    सायद भारत पनि त्यतिबेला त्यस्तै नतिजा चाहन्थ्यो। भारत, विशेषगरी इन्दिरा गान्धी विपीलाई फेरि नेपाली राजनीतिमा जमेको हेर्न चाहँदिन थिइन्। त्यसैले ती धुर्त विदेशी चुनावी पंडितहरूकै डिजाइनमा शहरी क्षेत्रहरूमा बहुदल र ग्रामीण भेगमा पंचायतलाई अत्यधिक मत आएको देखाइएछ अनि समग्रमा पहेँलो रङ (पंचायतको चुनावी रङ)ले जनमतसंग्रह जित्यो। जनादेश घुर्तताको सामु घुँडा टेक्न बाध्य बन्यो। सुधारिएको नाममा अर्को एक दशक त्यो व्यवस्था जनताको टाउकोमा लादियो। बुढाहरूले गर्ने यस्ता कुराहरूले पनि मेरा कानलाई तान्थे। 

    त्यो बेला पंचायतको घुर्तता देखेर मनमनै रिस उठेको थियो, जसरी अहिलेका शासकहरूको शैली देख्दा उठ्छ। तर अहिले पनि म कुनै वाद वा व्यवस्थाको पक्षपाती बन्न सकेको छैन। बस्, चाहना यति मात्र छ- देशले उन्नति गरोस्, चाहे व्यवस्था जे आओस् वा जाओस्। 

    त्यही भ्रमणकै बेला मैले थाहा पाएँ- हरेक दिनजसो हाम्रो घर आइरहने साइनोले मेरा बुढा मामा पशुपतिदेव पाण्डे महेन्द्रको शासनकालमा कति शक्तिशाली व्यक्ति रहेछन् भन्ने। पशुपतिदेव पाण्डे अनि हाम्रा छिमेकी सरदार विष्णुमणि आचार्यले महेन्द्रको शासनमा प्रयोग गरेका सत्ता शक्तिका कथा कुनै किंवदन्तीझैँ लाग्यो। तत्कालीन राजा महेन्द्रका विश्वासिला ती पात्र कहिल्यै मन्त्री पनि भएनन् तर हरेक मन्त्री मण्डलको सदस्य छान्ने जिम्मा उनीहरूको हुन्थ्यो रे! सरदार साहेब शुद्ध बाह्मण, झोल पदार्थबाट सधैँ टाढा रहने। तर पशुपति मामा भने पानीभन्दा बढी बोतलको झोलमा ध्यान दिने। त्यसैले उनी हरेक साँझ महेन्द्रको हजुरीमा पुग्नै पर्ने पनि रहेछ। महेन्द्रको हरेक विदेश भ्रमणमा उनको अनिवार्य उपस्थिति रहने गर्दोरहेछ। महेन्द्रको मृत्युपछि वीरेन्द्रले पनि उनलाई च्याप्न खोजेका थिए। अंचलाधीशसमेत बनाए। तर मदिराका सौखिन मेरा मामाबाजेले वीरेन्द्रको चाप्लुसीभन्दा बोतललाई नै प्यारो बनाए। अन्ततः उनको मृत्युको कारण नै त्यही बन्यो।

    मैले उनको मृत्यु देखेँ। परिवारका सदस्यबाहेक एकाध बाहिरिया मलामी थिए। सत्ताको चरम स्वाद लिएका व्यक्तिको अन्त्य सम्झनलायक रहेन। औपचारिकताका लागि दरबारले शोक सन्देश पठाएर आफ्नो परमभक्तप्रति सहानुभूति देखायो। मैले विपीको मृत्यु त नभनौँ, मृत शरीर भने देखेँ। चमक थियो- मुढा बनिसकेको मुहारमा पनि। विपी पनि हाम्रा छिमेकी नै थिए। विपी मरे भन्ने सुनियो। को विपी, के विपी? थाहा थिएन।

    मेरो उमेर नै व्यक्तिको महानता खुट्याउन सक्ने थिएन। ठूलाबडाको साथ लागेर म पनि अन्तिम दर्शनका लागि उनको निवास मित्रपार्क पुगेँ। लाइनमा बसेंँ। एउटा ढलिरहेको अचेत दाह्रीवाला बुढाको लासमा फूल चढाएँ, नमस्ते गरेँ- अरूले झैँ। अनि अन्तिम यात्रामा केही बेर उनको मृत शरीर राखेको ट्रक पछाडि लागेर पनि हिँडियो। किन हिँडियो, त्यो पनि थाहा थिएन। सायद हुलसँग हिँड्दा रमाइलो लागेको हुनुपर्छ। उमेर नै त्यस्तो, सारा मुलुक शोकमा डुब्दा पनि केही पत्तो नलाग्ने। पशुपतिनाथमा विशाल जनसमूहका अगाडि उनलाई जलाइएको पनि हेरियो। विपी खरानी बने।

    एउटा इतिहासको अन्त्य भएको रहेछ। विपीसँग मेरो एक मात्र भेट त्यही थियो। तर जे भए पनि, आज सोच्दा मन फुरुङ्ग नै हुन्छ। जे भए पनि अनजानबस् नै किन नहोस्, मैले नेपाली राजनीतिका एक महापुरुषलाई अन्तिम पटक हात जोडेको रहेछु। एउटा राष्ट्रवादीको अन्तिमयात्रामा केही बेर भए पनि सरिक भएको रहेछु। त्यसमै धन्य भएँ।

    विपीले अन्तिम श्वास फेरेको त्यो घरको दूरवस्था देख्दा अहिले कांग्रेसीहरूको जिब्रोमा मात्र उनको सपना टाँसिएको छ कि क्या हो भन्ने जस्तो भने लाग्छ। उनले केही वर्ष कैदी जीवन बिताएको बन्दीगृह संग्रहालय बनिसक्यो तर उनले अन्तिम श्वास लिएको घर कुनै व्यावसायिक उत्पादनको कारखाना बनेको छ। कोइराला परिवारको नगण्य आम्दानीको स्रोत बनेको छ, जसरी उनको ‘सपना’ नेता बन्ने भर्‍याङ बन्दै छ। 

    नेपाली पत्रकारिताका इतिहाससँग बिताएको त्यो तीन-चार दिन पनि मनमा जमेको छ, मिठास छर्दै छ, अझै पनि। तीनमध्ये दुई जना मणिराज उपाध्याय र गोपालदास श्रेष्ठ भगवान्‌लाई प्यारो बनिसके। मदनमणि दीक्षित ज्यूँदै छन् तर सरकार वा जनस्तरबाट उनलाई सम्झने कार्य कमै हुन्छ। स्मरणशक्ति कमजोर भएको रहेछ। एक पटक अस्पतालमा भेटेको थिएँ। मुहारमा पुरानो राप थिएन। चिनाउन खोज्दा पनि चिनेनन्। 

    इतिहास लेखेका र भोगेका यस्ता व्यक्तित्वहरू हाम्रा गहना हुन्। बलेको आगो ताप्ने र खरानीलाई निधारमा टाँसेर शक्तिको उपासना गर्ने बानी परेका हामीले अडिग र अचल वृक्षलाई पुज्न जानेका त छौँ तर तिथि मिति हेरेर मात्र। औपचारिकताका लागि मात्र। दु:ख लाग्छ।

    हुनत पछि २०४६ सालको जनआन्दोलनमा पनि सरिक भइयो- केही रहर अनि केही संगतका कारण। शासन परिवर्तनले जीविकाका हरेक पाटामा परिवर्तन ल्याउँछ भन्ने बुझेका हामी जस्ता मूर्खले सक्नेजति खटियो। तर शासन होइन, राजनीतिक संस्कारमा परिवर्तन चाहिँदोरहेछ भन्ने अहिले आएर बुझिँदै छ। त्यसैले होला, मनैदेखि बहुदलीय व्यवस्थाको आगमनको स्वागत पनि गरियो नै तर धन्य! कुनै राजनीतिक पार्टीको सदस्यता लिने, कार्यकर्ता बन्ने वा कुनै वादमाथि अन्धो विश्वास राख्ने कार्य कहिल्यै गरिएन। सदस्यता लिन दबाब पनि खेपियो तर अहँ सदस्य बनिएन।

    अहिले गर्व लाग्न थालेको छ। नत्र जनतालाई मूर्ख बनाएर महल ठड्याउने समूहको झोला बोकेको भए उनीहरूले गरेका पापको केही हिस्सा पनि बोक्नै पर्थ्यो। आजसम्म कुनै नेताका लागि भोट मागिएन। जनतालाई मूर्ख बनाउने व्यक्तिलाई परोक्ष भए पनि सहयोग गरिएन। त्यो पापबाट सधैँ मुक्त बनियो। देशको बाहेक कसैको झण्डा बोकिएन। तर एउटा कुरा महसुस गरियो- कुनै पनि शासन व्यवस्थाले मात्र निमुखा जनताको मुहारमा हाँसो ल्याउन सक्दैन रहेछ। जबसम्म शासक इमान्दार बन्दैनन्, तबसम्म देश विकासको ‘ब्याक गियर’मा हिँड्छ नै- चाहे त्यो पंचायत होस् वा संवैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवस्था वा गणतन्त्र।

चेतन पाण्डे

पाण्डे साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय छन्। pandechetan@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]