|

पर्वत : बागलुङ, स्याङ्जा र पर्वतका नागरिकलाई पनि पूजाआजाका लागि भेडा आवश्यक परेमा पर्वतका एकबहादुर कार्की (विष्णु)को मोबाइलमा घण्टी बजिहाल्छ। आजभोलि भेडा पाल्ने प्रचलन हराउँदै गएको बेलामा जिल्लाको फलेवास नगरपालिका- ३ शंकरपोखरी टारीका विष्णुले भने व्यावसायिक रूपमा भेडा पालन गरेका कारण धेरै ठाउँका ग्राहक भेडा खोज्दै उनीकहाँ पुग्ने गरेका छन्।

५१ वर्षीय कार्कीले २०४७ सालबाट भेडा पाल्न सुरु गरेका हुन्। यसैबाट राम्रो आम्दानी गर्न सफल भएका छन् उनी। सुरुमा परीक्षणका लागि थोरै संख्यामा भेडा पाल्ने गरेका उनको घरमा यतिबेला भने ४३ वटा मात्र भेडा छन्। ‘हरेक दिन किनबेच भइरहेको हुन्छ। कुनै बेलामा बिक्री गर्दा सकिएर १५-२० वटामा झर्छन्, कहिले डेढ-दुई सय पनि हुन्छन्’, उनले भने।

भेडाको किनबेचबाट उनले वार्षिक एक लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्। कार्कीले ज्यूँदो भेडा प्रति किलो ३५० रुपैयाँको दरमा बिक्री गर्ने गरेका छन् भने पूजाका लागि बिक्री हुने थुमा (भेडाको भाले जाति)को सानाको १० हजारदेखि ठूलाको प्रति गोटा २० हजार रुपैयाँसम्म पर्ने गरेको छ। त्यस्तै, भेडीको मूल्य सरदरमा पाँचदेखि छ हजार रुपैयाँमा पर्ने गरेको उनले सुनाए। आफूले पालेका भेडा बिक्रीका लागि बजारको अभाव नभएका कारण पनि आफू व्यावसायिक भेडा पालनमा झनै हौसिएको बताउँदै विष्णुले भने, ‘हाम्रोतिर भेडाको मासु खाने त्यति प्रचलन नभएकाले बजार पाउन मुस्किल हुन्छ कि भन्ने लाग्थ्यो तर कुनै पनि दिन बिक्री भएन भनेर चिन्तामा बस्नुपरेन।’

भेडा पालनलाई प्रमुख पेसा बनाएका उनले स्थानीय जातका कुखुरा र बाख्रा पालन पनि गरेका छन्। उनको गोठमा अहिले नौवटा बाख्रा र केही स्थानीय जातका कुखुरा पनि छन्। विष्णुले कुखुरा र बाख्राबाट मात्र मासिक झण्डै ५० हजार रुपैयाँ आम्दानी गर्छन्। त्यति मात्र होइन, घरमा रहेका छवटा मौरीघारबाट पनि मह उत्पादन हुने गरेको छ। भेडालाई प्रमुख व्यवसाय बनाएका विष्णुले राँगो पनि पालेका छन्। त्यसले पनि आम्दानीमा राम्रै भएको उनले सुनाए। ‘वार्षिक लगभग १०० जति भैँसी पर्छन्। एउटा भैँसी ब्याउने भएको एक हजार रुपैयाँ लिने गरेको छु’, उनले थपे, ‘राँगो पालेर वार्षिक एक लाख रुपैयाँको कमाइले राम्रै भएको छ।’

यस्तो छ उनको जीवन संघर्ष

एकबहादुर २०२४ सालमा जन्मिएका हुन्। उनका बुबा भारतीय सेनाको सिपाहीबाट निवृत्त भएका थिए। जब उनी सात वर्षका थिए, उनको जीवनमा बज्रपात त्यहीँबाट सुरु भयो। बुबाको मृत्यु भएपछि जेठा छोरा भएको नाताले घर धान्ने जिम्मा सात वर्षीय बालकको काँधमा आयो। श्रीमानको निधन भएको शोकका कारण उनकी आमाले आफैँले आफैँलाई सम्हाल्न नसक्ने अवस्था भयो। बुबाको मृत्यु हुँदा विष्णुका माहिला भाइको उमेर पाँच वर्षको र कान्छा भाइको उमेर तीन वर्षको थियो। बहिनी भने गर्भमा नै थिइन्। जसोतसो ८ कक्षासम्म अध्ययन गरेपछि घरको काम गर्नुपरेका कारण उनी विद्यालय जान नसक्ने अवस्था भयो।

पछि २१ वर्षको उमेरमा घरबाट भागेर भारत प्रवेश गरे। मासिक ३०० रुपैयाँमा उनले तीन महिना कपडा उद्योगमा काम गरेर घर फर्किए। घरको अवस्था देख्दा फेरि किन घर बस्न मन लाग्थ्यो! खानका लागि चामलसमेत नभएको देख्दा उनलाई फेरि भारत नै जाने बाध्यता आयो। गहभरी आँसु पार्दै त्यो बेलाको क्षण सम्झिँदै विष्णु भन्छन्, ‘जम्मा तीन मुरी त धान हुन्थ्यो। के खानु र! अहिले भेडा पालेकै कमाइले ४० मुरी धान फल्ने खेत किनेको छु। केही पैसा बैंकमा राखेको छु। केही गाउँमा नै लगानी गरेको छु।’

पीडाका कारण उनी भारत पसेर फेरि मासिक ३५० रुपैयाँ मासिक तलब पाउने गरी सुन पसलमा काम गरे। ‘भारत जाँदा घरको माया, घर आउँदा पैसाको माया’, आफ्नै जीवनको किस्सा सुनाउँदै उनले भने, ‘फेरि नेपाल फर्केर दुई महिना बसेपछि साहुजीकोमा खाना पकाउने काम गर्न भारत पसेँ।’ भौँतारिएको जीवनलाई ठेगान लगाउने नाममा उनले धेरै पटक भारत आउजाउ गरेका थिए।

यसरी सुरु भयो भेडा पालन

भारतमै काम गरिरहेको बेलामा उनी रातीको समयमा साहुजीकोबाट कोठातर्फ फर्किँदै थिए। घरकी आमालाई सम्झिएर बाटोमा टोलाउँदै हिँडिरहेका उनलाई अचानक मोटरसाइकलले अगाडिबाट हान्यो। उनी भन्छन्, ‘सरदारको छोराले बाइक सिक्दै गरेको रहेछ। अगाडिबाट हान्यो, म पल्टिएँ। केहीबेरमा ब्यूँझिदा आमा आमा भनेको रहेछु।’ त्यही बेलामा उनलाई लाग्यो अर्काको देशमा आज धन्न बाँच्न पाइयो। मरेको भए आमा र परिवारको जिन्दगी के हुन्थ्यो होला? यही सम्झिएर नेपाल फर्किएका थिए उनी।

उनका मामाले पनि भेडा पालन गरेका थिए। सोही कारण उनलाई पनि भेडा पाले कस्तो हुन्थ्यो भन्ने रहर लाग्यो। त्यसपछि मामासँगको सल्लाहमा उनले भेडा पाल्न सुरु गरे। व्यावसायिक रूपमा विभिन्न खालका कृषि उत्पादनमा आवद्ध रहेकाले विभिन्न अनुदान पटक पटक लिने गरेको भए पनि एकबहादुरले खासै अनुदान पाएका छैनन्। आफू धेरै नपढेको र बाहिर निस्केर बुझ्ने प्रवृत्तिको मान्छे नभएका कारण बाहिरको परिवेशबारे नबुझेकाले अनुदान पाउनबाट वंचित भएको उनको भनाइ छ। उनले अहिलेसम्म २०७४ सालमा फलेवास नगरपालिकाबाट ६० हजार र स्वरोजगार कार्यक्रमबाट २२ हजार रुपैयाँ मात्र अनुदान लिएका छन्।

एकबहादुरले अहिले गाउँका युवालाई पनि अरूको देश नजान सुझाव दिने गरेका छन्। केही गर्ने आँट हुने हो भने जहाँ जे गरे पनि सफल हुने उनको विश्वास छ। भेडा पालनमा केही चुनौती रहेका कारण अलिक सावधान हुन सकेमा सफल बनिने उनले बताए। धेरै दौडेमा पल्टिने र मर्ने गरेका कारण भेडा जोगाउन चुनौती हुने उनको अनुभव छ।

अरू रोग लागेमा पनि औषधि गरुन्जेलसम्म पनि मरिसक्ने भएका कारण भेडा पाल्न बाख्रा पाल्न जस्तो सजिलो नभएको उनले बताए। तर काठमाडाैं गएर सात दिने तालिम लिएपछि भने आफ्नाे व्यवसाय फस्टाउँदा उनी मख्ख परेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.