भद्रगोल महासमिति

|

काठमाडौं : नेपाली कांग्रेसको महासमिति बैठकमा पेस हुने मुख्य दस्तावेज विधान मस्यौदामाथि सहमति जुटाउने प्रयास पुनः असफल भएको छ। विधान मस्यौदामाथि लामो समयदेखि सहमतिका लागि प्रयासरत नेताहरूले अहिलेसम्म सहमति गर्न सकेका छैनन्। 

केही दिनयता साँझ सहमति गर्ने र बिहान त्यही सहमति उल्टाउने क्रम बढेको छ। आइतबार साँझ पनि नेताहरूले विवादित विषयमा सहमति गरेका थिए। तर बिहान उक्त सहमति उल्टिएको थियो। उक्त सहमतिमा प्रवक्तासहित ९ जनाको पदाधिकारी राख्ने अनौपचारिक सहमतिको भएको थियो। सोमबार राति पनि नेताहरूले १२ जनाको पदाधिकारी बनाउने सहमति गरेका थिए। 

एक सभापति, दुई उपसभापति, तीन महामन्त्री, पाँच सहमहामन्त्री र एक कोषाध्यक्षसहित १२ जना पदाधिकारी प्रस्तावमा लगभग सहमति भएको थियो। तर मंगलबार बिहान अन्तिम टुंगो लगाउन बस्ने भनिएको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा भने यो सहमति उल्टिएको थियो। सभापति शेरबहादुर देउवा समूहका केही नेताहरूले यो सहमति मान्न तयार नभएको बताएपछि सहमति भाँडिएको हो। उक्त सहमति भाँडिदा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्न सकेन। 

उनीहरूले आन्तरिक रूपमा गुटगत छलफल गरे। तर सहमति बने जुट्न सकेन। सोमबार साँझ भएको सहमतिअनुसार उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा एक/एक जना मनोनीत गर्ने तयारी थियो।

उक्त विषयमा सहमति भाँडिएपछि बैठकबाट बाहिरने क्रममा सभापति देउवा निकट केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना निकै आक्रोशित देखिन्थे। ‘किन बढी नाटक गर्नु? कांग्रेस त्यसै बनेको हो। मान्छे मरेका छन्। हिन्दुस्थानमा गोली खाएका छन्’, उनले भने, ‘यहाँ हामी नाटक गर्न आएका? अब हामी ठूलो मान्छे भयौँ? त्यहाँ उपस्थित केही नेताले ‘मिडिया अगाडि छन्। सबै कुरा प्रष्ट भएको थियो। लुकाउने कुरा के छ?’ उनले यसो भनिरँहदा सभापति देउवा पनि होमा हो मिलाइरहेका थिए। ‘हो हो। अब लुकाउने कुरा केही छैन’, देउवाले भने। 

महासमिति बैठक स्थगित गरेर सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय पुगेका देउवालाई एक्लै महासमिति बैठक स्थल नजान नेताहरूले सुझाइरहेका थिए। 

अहिले पनि केही शीर्ष नेताहरू सहमतिका लागि संसदीय दलको कार्यालयम बैठक बसिरहेका छन्। पदाधिकारीका लागि भने नयाँ प्रस्ताव आएको छ। उपसभापति दुई, महामन्त्री दुई र सहमहामन्त्री दुई गरी आठ जना पदाधिकारीको प्रस्ताव आएको छ। 

जसमा एक जना महाधिवेशनबाट निर्वाचित गर्ने र अर्को एक जना पार्टीको निर्वाचन समितिले केन्द्रीय समितिमार्फत निर्वाचित गर्ने प्रस्ताव आएको छ। यो विषयमा पदाधिकारी निर्वाचित गर्नुपर्ने अडान राखेका नेता अर्जुनरसिंह केसी पनि सकारात्मक देखिएका छन्। तर यो विषयमा भने देउवा केही पनि बोलेका छैनन्। 

पदाधिकारीबाहेक कुनै सदस्यताको विषयमा पुनारावेदनको उजुरी तल्लो तहबाट लिने कि व्यक्ति आफैँले केन्द्रीय समितिमा दिने भन्ने विषयमा पनि विवाद छ। असन्तुष्ट समूहले तलैबाट आउनुपर्ने अडान राखेको छ भने संस्थापन समूहले केन्द्रीय समितिमा आए लिने प्रावधान राख्न खोजिरहेको छ। यस्तै असाधारण स्थितिमा पार्टी केन्द्रीय समितिले निर्णय लिनुपर्दा केन्द्रीय समितिमा कति संख्या चाहिने भन्नेमा पनि विवाद छ।

संस्थापन समूहले साधारण बहुमतमै हुन्छ भन्ने प्रस्ताव राखेको छ भने असन्तुष्ट समूहले दुई तिहाई बहुमतले मात्र निर्णय गर्न सक्ने प्रवधान राख्न दबाब दिएको छ। 
‘महाधिवेशनको मिति नजिकिन लागेकोले एक वर्ष बढाउनका लागि उहाँहरू साधारण बहुमतमा हुने राख्नुपर्नेमा हुनुहुन्छ’, असन्तुष्ट समूहका एक नेताले भने, ‘तर यो उचित हुँदैन भन्ने हाम्रो निष्कर्ष हो।’

भद्रगोल महासमिति 

विधान मस्यौदामा केन्द्रीय समितिमा सहमति नजुट्दा जारी महासमिति बैठक भद्रगोल बनेको छ। केन्द्रीय समितिले पारित नगरी विधान महासमितिमा ल्याउँदा झन् भद्रगोल हुने भन्दै पार्टीले केन्द्रीय समितिमै सहमतिका लागि प्रयास गरिरहेको छ। तर सहमति हुन नसक्दा भने देशभरबाट आएका महासमिति सदस्य भने बेरोजगार बनेका छन्। 

छलफलका लागि शीर्ष नेता जानुपर्ने भएकाले बैठक नै स्थगित गर्ने अवस्था आउँछ। महासमिति सदस्यहरूले पनि सभापति र अन्य शीर्ष नेता नभए आफूहरू बैठक चल्न नदिने बताउँदै आएका छन्।

त्यसकारण सोमबार करिब तीन घण्टा बैठक स्थगित भयो भने मंगलबार त केही समय सुरु भएर स्थगित भएको बैठक एकै पटक दिउँसो ३ बजे मात्रै सुरु भएको थियो। त्यो समय महासमिति सदस्यहरू बैठक स्थल बाहिर भौतारी रहेका थिए। उनीहरू बिजनेसविहीन बन्दा बाहिर घाम तापेर बस्न बाध्य छन्। बैठकमा सहभागीमध्ये केही माहासमिति सदस्यहरूले नेताहरूले सहमति गर्न नसक्दा बैठक बस्न नसकेको भन्दै घर फर्कन थालेका छन्। 

बैठकमा विधान मस्यौदा पेस नहुँदा महासमिति सदस्यहरूले आपत्ति जनाएका छन्। त्यही क्रममा पार्टी सहमहामन्त्री प्रकाशरण महत र नुवाकोट सभापति जगदीश्वरनरसिंह केसीबीच माइक खोसाखोसको अवस्था आएको थियो। 

महासमिति लम्बिने निश्चित

केन्द्रीय समितिबाट विधान मस्यौदा पारित हुन नसक्दा महासमिति बैठक लम्बिने निश्चित भएको छ।  निर्धारित कार्यतालिकाअनुसार मंगलबार नै बैठक सकिनुपर्ने हो। तर बैठकको मुख्य दस्तावेज विधान अझै केन्द्रीय समितिबाट पारित नहुँदा बैठक सर्ने निश्चित भएको हो।

‘विधान मस्यौदामा आज सहमति जुटे पनि ७० पृष्ट लामो मस्यौदालाई प्रेसमा छाप्नै एक दिन लाग्छ’, एक पदाधिकारीले भने, ‘त्यसकारण बैठक लम्बिने त निश्चित नै हो।’ बुधबारभित्र महासमिति बैठक सक्ने लक्षका साथ कांग्रेसले सिंहदरबार अगाडिको यगम्बर पार्टी प्यालेस बुधबारसम्मका लागि ‘बुक’ गरेको थियो। तर बैठक नसकिने भएपछि कांग्रेसलाई समस्या भएको छ। उक्त पार्टी प्यालेसमा बिहीबार अर्कै कार्यक्रम छ। 

अब भने सानेपास्थित पार्टी कार्यालयमा बैठक स्थल सार्ने तयारी भइरहेको छ। यसका लागि पार्टी कार्यालयमा पन्डाल टाग्न सुरु गरिएको कांग्रेसले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.