|

रौतहट : रौतहटको चन्द्रनिगाहपुरमा पत्नी बलात्कारको आरोपमा पति पक्राउ परेका छन्। जिल्लाको चन्द्रपुर नगरपालिका ५ निवासी एक महिलाले आफ्नै पतिबिरुद्धमा बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता गराएपछि पति गत पुस १ गते पक्राउ परेका हुन्।

३३ वर्षीया महिलाले पतिबिरुद्ध बलात्कारको आरोपमा मुद्धा दर्ता गराएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक युवराज खडकाले जानकारी दिए। पतिले आफ्नो इच्छा विपरित गएको मंसिर २८ गते राती जवरजस्ती करणी गरेको आरोप लगाउँदै ती महिलाले इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी थिइन्। उनीहरूको विवाह २०६१ सालमा भएको थियाे। उनीहरूका ६ र १३ वर्षका दुइजना छोराहरू छन्।

पतिले मादकपदार्थ सेवनगरी कुटपिट गरी आफूलाई जवरजस्ती करणी गर्ने गरेको आफू बाध्य भएर कानुनी बाटो खोज्नु परेको महिलाको भनाइ रहेको छ। आरोपित पुरुषलाई पक्राउ गरी जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिए।

बैवाहिक सम्वन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जवरजस्ती करणी गरेमा पाँच वर्षसम्म कैद हुने मुलुकी अपराध संहिता ऐन २०७४ मा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.