|

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले च्यासल युथ क्लबलाई पराजित गरेको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा मनाङले च्यासललाई ३–१ गोल अन्तरले पराजित गर्‍यो। मनाङको जितमा एडेलाजा, ओलावाले अफिज र बिमल रानाले गोल गरे। च्यासलका देबेन्द्र तामाङले पेनाल्टीमा एक गोल फर्काएका थिए। खेलको १६औँ मिनेटमा एडेलाजाले गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाएका थिए। अन्जन विष्टले मिलाएको उत्कृष्ट पासमा ओलावाले अफिजले उपलब्ध गराएको बललाई एडेलाजाले पोस्टको दिशा दिए। ७२औँ मिनेटमा अफिजले एकल प्रयासमा गोल गर्दै मनाङलाई २–० को स्थितिमा पुर्‍याए। जारी लिगमा अफिजले गोल संख्या ६ पुर्‍याएका छन्। खेल सकिन २ मिनट बाँकी छँदा बिमल रानाले गोल गर्दै मनाङलाई जितको नजिक पुर्‍याएका थिए। खेलको अन्तिम समयमा च्यासलले पेनाल्टीको अवसर पायो। मनाङका डिफेन्डर मोहमद आसिफले डि बक्सभित्र फल गरेपछि प्राप्त पेनाल्टीमा देबेन्द्र गोल गर्न सफल रहे।  जितसँगै मनाङले ९ खेलबाट २१ अंक जोडेको छ। च्यासल १३ अंकसहित तालिकाको सातौ स्थानमा यथावत छ।

यस्तै मंगलबार नै भएको पहिलो खेलमा विभागीय टिम एपीएफले मछिन्द्र क्लबलाई पराजित गरेको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा एपीएफले मछिन्द्रलाई ३–१ गोल अन्तरले हराएको हो। पहिलो हाफमा २–१ को अग्रता लिएको एपीएफले दोस्रो हाफमा थप एक गोल गर्‍यो।

खेलको चौथो मिनेटमा आशिष लामाले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए। लगत्तै श्याम कुमार नेपालीको पासमा युवराज खड्काले हेड गोल गर्दै एपीएफको अग्रता दोब्बर बनाए। ३४औँ मिनेटमा मछिन्द्रका अल्बा एडिमोलाले गोल गर्दै गोल अन्तरलाई घटाउने प्रयास गरे। जारी लिगमा मछिन्द्रको यो पहिलो गोल हो। खेल सकिन एक मिनेट बाँकी छँदा रुपबहादुर लामाले गोल गर्दै एपीएफको जित निश्चित गरेका थिए।

जितसँगै एपीएफले ९ खेलबाट १३ अंक जोडेर तालिकाको आठौँ स्थानमा रहेको छ। मछिन्द्र ३ अंकसहित तालिकाको पुछारमा यथावत छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.