|

धनगढी : धनगढीस्थित सेती अञ्चल अस्पतालको तेस्रो तलमा रहेको अर्थोपेडिक वार्डको ३० नम्बर शय्यामा पावर्ती भक्कानी रहँदा नजिकै रहेको सर्जिकल वार्डको २ नम्बर शय्यामा उनका श्रीमानको निधन भइसकेको थियो।

पार्वतीलाई चाडैँ निको भएर श्रीमानसँगै घर फर्किने रहर थियो। तर उनको रहर पूरा नहुँदै उनका श्रीमानले संसार छोडे। उनकै कुरुवा बसेका श्रीमानको मृत्यु भएपछि पार्वतीमाथि बज्रपात आइपर्‍यो।

गत मसिंर २१ गते रूखबाट लडेर खुट्टा भाँचिएपछि पार्वती दमाइलाई उनका श्रीमान् धनी दमाइले उपचार गर्न धनगढीको सेती अञ्चल अस्पातल ल्याएका थिए। बैतडीको पाटन नगरपालिका– ५ घर भएकी पार्वतीको घाँस काट्ने क्रममा रुखबाट लडेर खुट्टा नचल्ने भएको थियो। श्रीमतीको उपचारका लागि दुई सातादेखि अस्पातलमा कुरुवा रहेका धनीको गए राति निधन भएको हो।

के भएको थियो धनीलाई?

श्रीमातीको उपचार गराउन आएका भएपनि धनीकै स्वास्थ्य अवस्था नाजुक रहेको उनको उपचारमा संलग्न डाक्टर सुरेन्द्र बस्नेतले बताए। उनका अनुसार उपचारका लागि अस्पतालमा भर्ना गर्न आग्रह गर्दा पनि उनले आलटाल गर्दै आइरहेका थिए। तर स्वास्थ्यावस्था जटिल बन्दै गएपछि उनको उपचार सुरु गरिएको उनले बताए।

‘बिरामी श्रीमतीलाई उपचार गराउन आए पनि श्रीमानकै स्वास्थ्यावस्था जटिल थियो। हामीले बारम्बार भर्ना हुन आग्रह गरे पनि मान्नुभएन। हिजो भर्ना गरायौँ, राति अप्रेसनको तयारी गरेका थियौँ तर अवस्था जटिल भएका कारण अप्रेसन सम्भव भएन। उहाँको बिहान मृत्यु भयो’ मृतकको उपचारमा संलग्न डाक्टर सुरेन्द्र बस्नेतले भने।

‘अचानक धनीले पेट दुख्यो भन्न थाल्नुभयो। हामीले चेकजाँच गराउन आग्रह गरेका थियौं,’ बस्नेतले भने, ‘रोग के हो पत्ता लाग्न सकेको थिएन। अप्रेसन नहुँदै मृत्यु भयो।’

धनीको उच्च रक्तचाप रहेकाले सो समयमा अप्रेसन गर्न नसकिएको डाक्टर बस्नेतका बताए। उनले भने, ‘छोरा आउन लागेको छ बिहानसम्म कुर्न भने। छोरा आउनभन्दा अघि नै उहाँको मृत्यु भयो।’

डाक्टर बस्नेतले उनको आन्द्रा बेरिएको वा पेटभित्रको कुनै अंगमा असर भएको हुनसक्ने बताए। डाक्टर बस्नेतले बिरामीलाई यो समस्या लामो समयदेखि भएको हुनसक्ने बताए। ‘यो समस्या एक्कासि भएको भने होइन। पहिलेदेखि नै भएको हुनसक्छ,’ उनले भने।

२१ गते श्रीमतीको खुट्टा भाँचिएर उपचार गराउन आएका धनी त्यो बेलादेखि नै बिरामी रहेको चिकित्सकहरूले बताएका छन्। सोमबार उनको अत्यधिक पेट दुखेपछि बिहान ११ गते इमर्जेन्सीमा भर्ना भएका थिए। उनले आर्थिक समस्या रहेको भनेपछि सामाजिक सुरक्षा इकाइमार्फत् अस्पातलले निःशुल्क उपचारको व्यवस्था गरिदिएको थियो।

पार्वतीको बिचल्ली

‘घाँस काट्दा रूखबाट लडेँ। खुट्टा नचल्ने भएको छ। श्रीमानले अस्पताल ल्याइदिएका थिए,’ पार्वतीले पीडा पोखिन्। एकातिर खुट्टा नचल्दा समस्या झेलिरहेकी उनी मंगलबार नै आफूलाई कुरिरहेका श्रीमानको मृत्युको खबरले स्तव्ध थिइन्।

श्रीमानको निधन भएपछि पार्वतीको बिचल्ली भएको छ।  बिहान ३ बजे उनका श्रीमानको मृत्यु भएपछि उनकी श्रीमतीले भने श्रीमान् बितेको सहर्ष स्वीकार गर्न सकिनन्। ‘अहिले म घर जान्छुँ’ उनले आफ्नै भाषमा रुदै भनिन् ,‘पहिले मैले घर जानाउ, पुइँ आउनु उपचार गद्धाकी, आज मुई उनै सित घर झानीहुँ।’

एउटी छोरी उनैसँग थिइन्। छोरी पनि रोइरहेकी थिइन्। छोरीलाई सुम्सुम्याउँदै श्रीमान बितेको पीडाका बीचमा अस्पतालको शय्यामा खुट्टाको अप्रेसनको दिन कुरेर बसिरहेकी थिइन् पार्वती।

पावर्तको उपचार अस्पातलले गर्ने

कुरुवा श्रीमानको मृत्यु भएपछि बेसहारा भएकी पावर्तीको उपचार सेती अञ्चलले गर्ने भएको छ। अस्पातलले पीडित महिलाको उपचार गर्ने अस्पातललका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले बताए। ‘सामाजीक सेवाअन्तर्गत सबै उपचार हामी गर्छौं’ अस्पतालका मेसु पाण्डेले भने, ‘यस्तो पीडामा हामीले पैसा लिने भन्ने कुरा हुँदैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.