|

हेटौंडा : सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योगले करिब एकअर्ब रुपैयाँ खर्चेर क्षमता बढाउने भएको छ। लामो समयदेखि घाटामा सञ्चालन हुँदै आएको हेटौंडा सिमेन्ट उद्योग विगत चार वर्षदेखि मुनाफा गर्न सफल भएसँगै अझै लगानी थप गरी उत्पादन बढाउनेतर्फ उद्योगले तयारी अगाडि बढाएको हो।

उद्योगले मेसिनहरूको स्तरोन्नतिका लागि गत आर्थिक वर्षमा ४५ करोड रुपैयाँ सञ्चित गरेर राखेको र चालु आर्थिक वर्षमा ५५ करोड रुपैयाँ जोहो गरेर आफ्नो क्षमता विस्तार गर्ने भएको हो। ‘आगामी आर्थिक वर्षमा झन्डै १ अर्ब खर्चिएर सिमेन्ट उद्योगको क्षमता विस्तार गरी उत्पादन बढाउँछौं।’ उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहका अनुसार हाल उद्योग ५० प्रतिशतमात्र क्षमतामा सञ्चालन भइरहेको छ।

आगामी वर्षबाट उद्योगले आवश्यक थप मेसिन जडित गरेसँगै उद्योग पूर्णरुपमा सञ्चालनमा आउने छ। हाल दैनिक सातसय ५० टन सिमेन्ट उत्पादन भइरहेको छ। क्षमता विस्तार गरी दैनिक २ हजार टनसम्म सिमेन्ट उत्पादन गर्ने उद्योगको लक्ष्य छ। आगामी आर्थिक वर्षबाट उद्योगले सिमेन्टको प्रतिबोरा लगात घटाउने समेत जनाएको छ। हेटौंडा सिमेन्टको अहिले एक बोरा सिमेन्टको उत्पादन लागत ६८१ रुपैयाँ रहेको छ। सिमेन्टका मूल्य प्रतिबोरा ८४७ रुपैयाँ रहेको छ। जुन निजी उद्योगकोभन्दा करिब १०० रुपैयाँ महँगो हो।

हेटौंडा नगरपालिका ९ लामसुरेमा रहेको उक्त उद्योगको निम्ति दैनिक एकहजार टन चुनढुंगाको आवश्यकता पर्छ। उद्योगको दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता छ। ‘उद्योगको खानीमा विभिन्न समयमा स्थानयीबाट हुने गरेको अबरोधले गर्दा समय समयमा उद्योग बन्द हुने गरेको छ। यसवर्षबाट उद्योगको खानीमा कुनै पनि समस्या आउन नदिने स्थानीय निकाय, प्रदेश सरकार र संघीय सरकारले हामीलाई आश्वासन दिएका छन्। अब लगात घटाउने र उत्पादन बढाउनेतर्फ नै हाम्रो ध्यान रहेको छ’, सिंहले भने।

उद्योगले धादिङस्थित जोगीमारा, मकवानपुरको आमभन्ज्याङस्थित मजुवा, भैंसे र ओखरे खानीबाट चुनढुंगा ल्याएर उद्योगले सिमेन्ट उत्पादन गरिरहेको छ। मजुवा तथा जोगीमाराको उच्चगुणस्तरको चुनढुंगा नमिसाइकन उत्पादन गरेको सिमेन्ट गुणस्तरहीन हुने गर्छन्। उद्योगले आव २०७४/०७५मा २३ करोड ५० लाख ५६ हजार रुपैयाँ मुनाफा गरेको थियो। त्यसअघिको वर्ष करिब २२ करोड रुपैयाँ उद्योगले नाफा गरेको थियो।

‘चालु आवमा ३५ करोड रुपैयाँभन्दा बढी नाफा गर्ने लक्ष्य लिएका थियौं,’ उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले भने,‘गत आवमा नै ३० करोडभन्दा बढीको नाफा हुने थियो। नाकाबन्दीका कारणले समस्या भोग्नु परेको थियो। नाकाबन्दीका कारण कोइला भारतबाट आयात गर्न समस्या परेकाले उद्योग ४५ दिन बन्द भएको थियो। उद्योग डेढ महिना बन्द हुँदा पनि मुनाफा झन्डै २४ करोड रुपैयाँ गर्न सफल भयौं।’

विगतका वर्षमा दैनिक ३५० टन मात्र क्लिंकर उत्पादन हुन्थ्यो, अहिले झन्डै साढे सात सय टनभन्दा बढी हुन्छ। उद्योगले आव २०७४/०७५ मा २१ लाख २० हजार ८२५ बोरा सिमेन्ट उत्पादन गरेर बिक्री गरेको थियो। अघिल्लो आवमा २० लाख नौहजार बोरा सिमेन्ट उत्पादन गरेको थियो।

३३ वर्षको अवधिमा सबैभन्दा बढी मुनाफा गत आवमा भएको हो। उद्योगमा ४०० जना कर्मचारी र कामदारहरू छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.