एक सिजनमै एउटा परिवारको छ लाख आम्दानी

|

पाँचथर : मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बाका तेजबहादुर लावतीले बोटमै साढे ६ लाखका सुन्तला बेचे। उनको सुन्तला टिप्ने बेला नहुँदै व्यवसायी धनकुमार लावतीले खरिद गरेका हुन्। २२ वर्षदेखि सुन्तला खेती गर्दै आएका तेजबहादुरको १५ रोपनी जग्गामा ६०० बोट सुन्तला छ।

जेतबहादुरकी बुहारी इन्द्रकुमारीको पनि सुन्तला खेती छ। २०७३ सालमा सुन्तला खेतीबाटै जिल्लाको उत्कृष्ट कृषक हुँदै राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार समेत पाएकी इनद्रकुमारीले वार्षिक पाँच लाख रुपैयाँभन्दा बढीको सुन्तला बेच्दै आएकी छन्। २२ वर्षदेखि सुन्तला खेती गर्दै आएकी उनको करिब २० रोपनी जग्गामा लटरम्म सुन्तला देख्न पाइन्छ।

यस क्षेत्रमा तेजबहादुर र इन्द्रकुमारी मात्र होइन, उनीहरुजस्तै ४९ घरपरिवारले व्यवसायिकरुपमा सुन्तला खेती गर्दै आएको वडा कार्यालयले जनाएको छ। सुन्तला खेतीका लागि माटो र हावापानी उपयुक्त मानिएको कुरुम्बामा बर्सेनि व्यवसायिक रुपमा सुन्तलाको खेती गर्ने किसान बढ्दै गएको वडाध्यक्ष अविशन लावतीले बताए। ‘स्थानीय बिक्री मूल्य ३५ देखि ४० रुपैयाँ प्रतिकिलो छ। कुरुम्बाबाट वार्षिक एक करोड १० लाख रुपैयाँको सुन्तला निर्यात हुन्छ,’ उनले भने, ‘व्यवसायिक रुपमा खेती गर्ने एक परिवारले वार्षिक एक लाख रुपैयाँ आम्दानी गर्छन्। त्यसैले किसानको सुन्तला खेतीमा किसानको आकर्षण बढ्दो छ।’

कुरुम्बालाई कृषि ज्ञान केन्द्र पाँचथरले सुन्तलाको पकेट क्षेत्र घोषणा गरेको छ। तर, किसानलाई सहयोग पुग्ने कार्यक्रम ज्ञान केन्द्र र गाउँपालिकाको कृषि शाखाले सञ्चालन नगरेको किसानहरुको दुःखेसो छ। तर, वडा कार्यालयले भने चालु आर्थिक वर्षमा किसानलाई प्रोत्साहित गर्न केही कार्यक्रमहरु सञ्चालन गरिने वडाध्यक्ष लावतीको भनाइ छ।

किसानको दुखेसो

किसान इन्द्रकुमारीले स्थानीय बजार मूल्य निक्कै कम रहेको बताइन्। बोटमा ३५ देखि ४० रुपैयाँ प्रतिकिलो सुन्तला टिपेर ब्यवसायीले कम्तीमा ८० रुपैयाँमा बेच्ने गरेको उनको भनाइ छ। स्थानीय सरकारले व्यवसायी र किसान दुवैलाई लाभ पुग्ने गरी मूल्य निर्धारण गर्नु पर्ने उनको जोड छ।

अर्का किसान तेजबहादुरको पनि गुनासो उचित मूल्य नपाएको भन्ने नै छ। तर, व्यवसायी धनकुमार भने सुन्तला टिप्ने सिजनमा मूल्य कम नै हुने गरेको बताउँछन्। आफूले पनि प्रतिकिलो ५÷७ रुपैयाँ नाफा राखेर झापासहित मोरङका व्यवसायीहरुलाई बेच्ने गरेको उनले बताए।

पाँचथरमा गत वर्ष ६५ दशमलव ६५ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो। यसवर्ष फल लागेको बेला असिना नपरेकाले अझै बढी उत्पादन हुने कृषि ज्ञान केन्द्र पाँचथर–ताप्लेजुङका सूचना अधिकारी नरहरि निरौलाको अनुमान छ। जिल्लाको सबै क्षेत्रमा सुन्तला उत्पादन हुने गरेको छ। यहाँको लिम्बा, रबी, आङसराङ, रानीगाउँ, नागी, अमरपुर, सिदिन, याङनाम सुन्तलाको पकेट क्षेत्र हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.