|

गुल्मी : धुर्कोट गाउँपालिका ५ वस्तुकी चार वर्षीया झरना भण्डारी चिटिक्क परेर सबेरै विद्यालय आउँछिन्। मनोरञ्जनात्मक शैलीमा सिक्छिन्, खेल्छिन्, अनी निद्रा लागे सुत्छिन्। झरनाजस्तै यहाँका धेरै बालबालिकाको दैनिकी एउटै छ।

विद्यालयको आगँनीभरी बालबालिका। चिटिक्क विद्यालय। प्रांगणमा सुन्दर बगैँचा। कलात्मक कोठामा फम र कार्पेटसहितको सहज बसाइँ। भित्तामा विभिन्न किसिमका सृजनात्मक चित्र सहितका अकं, अक्षर, रगंलगायतका सिकाइमूलक सामग्री। कोठाको एक छेउमा टिभी र आरामदायी बिस्तारा। यस्तो वातावरणमा विद्यार्थीले घर नै बिर्सन्छन्। उनीहरूलाई साँझ ४ बजेको पत्तो हुँदैन्। बरू उल्टै शिक्षक शिक्षिकाले घर पठाउनुपर्छ।

धुर्कोट गाउँपालिकाले सातवटा माविका बालविकास केन्द्रलाई नयाँ व्यवस्थापन गरेपछि विद्यालयमा बालबालिकाको उपस्थिति ह्वातै बढेको छ।  बालविकास केन्द्रहरूले बालबालिकाहरूको सिकाइलाई प्रभावकारी र उपलब्धिमूलक बनाउन नयाँ व्यवस्थापन गरेका छन्। बालमैत्री बसाइँ व्यवस्थापन अनि खेल र गीतको माध्यमबाट सिक्न पाइने भएपछि विद्यालयमा बालबालिकाको उपस्थिति बढ्दै गएको छ।

यो वर्ष तीनदेखि पाँच वर्ष उमेर समूहका ३९ जना बालबालिका हिमालय माविको बालविकास केन्द्रमा भर्ना भएको कक्षा १–५ का संयोजक चुरामणि घिमिरेले बताए। त्यस्तै धुर्कोट गाउँपालिका ४ को पाञ्चायन माविमा पनि ३८ जना बालबालिकाले अध्ययन गर्दै आएका छन्। बालविकासको लागि दुई जना शिक्षिका छन्। बिहान १० बजेदेखि चार बजेसम्म बालबालिकाको सवै व्यवस्थापन गर्नुपर्ने भएकाले धेरैलाई भर्ना गर्न मुस्किल भएको विद्यालयका शिक्षक लक्ष्मण पोखरेलले बताए।

यसैगरी वाग्ला माविमा ४८, धुर माविमा ४९, निन्यूखर्क माविमा  २७, गणेश माविमा १२ जना, नयाँगाउँ माविमा १४ जना विद्यार्थी रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख तथा सूचना अधिकारी मधु पन्थीले बताए।

आफ्नै छोराछोरी सम्झेर पढाउँदा आनन्द आउँछ

हिमालय माविको बालविकास केन्द्रकी सहजकर्ता सरस्वती भण्डारी शुरुमा बालबालिका विद्यालय नआउँदा हैरान भइन्। पछि उनीहरूमा बानी पर्‍यो। अहिले बालबालिका विद्यालय आउँन उत्साहित भएको उनी बताउँछिन्। ‘अहिले निकै राम्रो भएको छ, सबै बालबालिका मन लगाएर सिक्छन्' उनले भनिन्, ‘यो बालमैत्री व्यवस्थापनको प्रभाव हो।’

बालबालिकाको शारीरिक, बौद्धिक, संवेगात्मक र सामाजिक विकासका लागि आफूहरूले खेल्दै, रमाउँदै र पढ्दैको विधि प्रयोग गरेर कक्षा सञ्चालन गर्ने गरेको उनले बताइन्। ‘बालबालिका कक्षामा आएदेखि नफर्कने बेलासम्म सिकाउने, खेलाउने, खुवाउने, दिसापिसाब र सुताउनेसमेत गराउँछौ,’ उनले भनिन्,‘ बानी पर्‍यो, आनन्द आउँछ।’

आफ्ना छोराछोरी हुर्केकाले पनि बालबालिका आफ्नै सन्तान जस्तै लाग्ने उनले सुनाइन्। बालमैत्री शिक्षण सिकाइका कारण बीचमै कक्षा छोडेर हराउने बालबालिको दर पनि घटेको पाञ्चायन माविको बालविकास सहजकर्ता जमुना पोखरेलले बताइन्।

गाउँपालिकाद्वारा सात बालविकासलाई सहयोग

धुर्कोट गाउँपालिकाले हिमालय मावि, पाञ्चायन मावि, वाग्ला मावि, धुर मावि, गणेश मावि, नयाँगाउँ मावि र निन्यूखर्क मावि गरी सात माद्यामिक विद्यालयको बालविकास केन्द्रमा नयाँ व्यवस्थापन गरेको गाउँपालिका प्रमुख भूपाल पोखरेलले बताए। जसका लागि गाउँपालिकाले गत वर्ष प्रत्येक सात विद्यालयलाई एक/एक लाखका दरले रकम विनियोजन गरेको थियो। ‘अहिले बालविकासको अवस्था फेरिएको छ, त्यसैले विद्यालयमा शिक्षण सिकाइको फरक शैली सुरु भएको छ,’ उनले भने, ‘विद्यालयको सक्रियता देखिए अझै प्रयाप्त सहयोग हुन्छ।’

त्यस्तै गाउँपालिकाले ‘एक विद्यालय एक बगैँचा’ कार्यक्रम पनि अगाडि बढाएको छ। अहिले धेरै विद्यालयले बगैँचा निर्माण गरेका छन्। जसले विद्यालयको वातावरण सुन्दर र आकर्षक बनाएको सहायक प्रध्यानाध्यापक कृष्ण भण्डारीले बताए।

बालविकासको अवस्था सुधारका लागि बालविकास सहजकर्ताले विभिन्न तालिम लिएका छन्। जसले रचनात्मक रूपमा पठनपाठन गर्न मद्दत गरेको छ भने गाउँपालिका स्तरबाट थप तालिमहरूको आयोजना गरेर सहजकर्तालाई अझै उत्साहित र सृजनात्मक बनाइने धुर्कोट गाउँपालिका शिक्षा शाखा प्रमुख मधु घिमिरेले बताए।

सहजकर्ताको कम पैसा ड्युटी कडा

कामको आधारमा बालविकास केन्द्रका सहजकर्ताको पारिश्रमिक अत्यन्तै न्यून रहेको छ। उनीहरूको अरू कक्षाका शिक्षक शिक्षिकाको जस्तै पिरेड छैन्। १० बजेदेखि चारबजेसम्म बालबालिकासँगै रहनुपर्ने बाध्यता छ। ‘एक मिनेट नजर नपुगे मात्रै पनि बालबालिका दुर्घटनामा पर्न सक्छन्,’ पाञ्चायन मावि बालविकासको सहजकर्ता भगवती पोखरेलले भनिन्,‘कम पैसा ड्युटी कडा।’

सहजकर्ताले बालबालिकालाई सिकाउने, निद्रा लागे सुताउने, उठाउने, खुवाउने, दिसापिसाव गराउनेदेखि आमाको जस्तै माया दिलाउनु पर्ने चुनौति छ। एकजना सहजकर्ताको मासिक पारिश्रमिक ६ हजार मात्रै छ। काम र अहिलेको बजार मूल्यको आधारमा त्यो पारिश्रमिक अत्यन्तै न्यून रहेको सहजकर्ताको गुनासो छ। समयसँगै कामको आधारमा पारिश्रमिक पनि वृद्धि गर्दै लैजानुपर्ने माग उनीहरूको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.