सहमतिका सूत्रधार सिटौला आक्रोशित

|

काठमाडौंः सभापति शेरबहादुर देउवाकै समूहले बोली फेरेपछि केन्द्रीय समितिबाट कांग्रेसको विधान मस्यौदा पारित हुन नसकेको नेताहरूले बताएका छन्। देउवा समूहकै नेताले मंगलबार राति भएको सहमति आफूहरूले नमान्ने बताएपछि सहमति भाँडिने सम्भावना भएको छ।

बुधबार दिउँसो बसेको केन्द्रीय समिति बैठकमा देउवा निकटकै नेताहरूले शीर्ष नेताहरूको निर्णय नमान्ने बताएका हुन्। मंगलबार राति कांग्रेसका शीर्ष नेताहरूले विधान मस्यौदामा अन्तिम सहमति गरेका थिए।

मंगलबार शीर्ष नेताहरूको बैठकले आठ जनाको पदाधिकारी बनाउने निर्णय गरेको थियो। एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, दुई सहमहामन्त्री र एक कोषाध्यक्ष बताउने निर्णय गरेको थियो। कोषाध्यक्ष मनोनित गर्ने र अरु पदाधिकारी निर्वाचित भएर आउने शीर्ष तहमा सहमति भएको थियो। प्रवक्ता पनि सभापतिले नै मनोनित गर्ने सहमति बनेको थियो। १६१ सदस्यीय केन्द्रीय समिति बनाउने पनि लगभग फाइनल भएको थियो। 

मंगलबार भएको सहमतिमा सभापति देउवा नै बेखुस भएका कारण सहमति भाँडिने सम्भावना भएको एक केन्द्रीय सदस्यले बताए। देउवाले महासमिति सदस्यको दबाबमा खिन्न मन बनाएर मंगलबार सहमति जनाएको उनको दाबी छ। ‘सभापति नै बेखुस भएका कारण उहाँ निकटका नेताहरूले विरोध जनाउनुभयो,’ उनले भने, ‘नत्र आफ्नै खेमाका नेताहरूलाई बोल्न दिनुहुँदैनथ्यो होला।’

बुधबार बैठक सुरु हुने बितिकै विधान मस्यौदा समितिका संयोजक महामन्त्री पूर्णबहादुर खड्काले मंगलबार राति भएको सहमति सुनाएका थिए। सहमति सुन्ने बितिकै देउवा निकटका केन्द्रीय सदस्यले हात उठाएर बोल्ने समय मागे।

केन्द्रीय समिति बैठकमा बोलेका देउवा निकट केन्द्रीय सदस्यहरूले सबै पदमा दुई मध्ये एक जना मनोनीत गर्न पाउनुपर्ने धारणा राखे। उक्त प्रस्ताव नराखेसम्म विधान केन्द्रीय समितिबाट पारित हुन नदिने उनीहरूको धारणा थियो।

बैठकमा देउवा निकटका मोहनबहादुर बस्नेत, वीरबहादुर बलायर महेन्द्र यादव, फर्मुल्लाह मन्सुर, सीता गुरुङ र किशोरसिंह राठौरले समानुपातिक समावेशीताका आधारमा पदाधिकारी बनाइनुपर्ने अडान राखेका थिए।

‘भरसक पदाधिकारी बढाउन हुँदैन’, केन्द्रीय सदस्य बस्नेतले भने, ‘बढाउने भए समानुपातिक समावेशीताका आधारमा सबै क्लस्टर मिलाएर बढाइनुपर्छ। त्यसो गर्दा सबै जाति, लिङ्गको प्रतिनिधित्व हुन्छ।’

देउवा समूहका नेता बलायरले भने पदाधिकारीमा एक निर्वाचित र एक पछाडि परेको वर्ग र समूदायबाट मनोनीत गर्नुपर्ने धारणा राखे।
केन्द्रीय सदस्यहरू महाधिवेनमा तल्लो तहबाटै निर्वाचित भएर आउनुपर्छ भन्ने प्रवधानमा पनि उनीहरूले असहमति जनाएका थिए। संस्थापन समूहले आरक्षणबाट एक पटकभन्दा बढी पदमा बस्न नपाउने भन्ने व्यवस्था पनि नमान्ने बताएको छ। तर असन्तुष्ट समूहका नेता गगन थापाले भने बैठकमा बोल्दै आरक्षण कोटामा एक÷दुई पटकभन्दा बढी आरक्षणबाट आउन नहुने धारणा राखेका थिए। 

देउवा समूहले नेताहरू व्यवस्थापन गर्न मात्र पदाधिकारी बढाउन लागेको आरोप लगाएका छन्। बुधबारको बैठकमा पनि पदाधिकारी मात्र शीर्ष नेताको बैठकले टुंग्याउने र अरू विषय मस्यौदा समितिले टुंगो लगाउने भन्दै हतार गरिरेको देउवा निकट एक केन्द्रीय सदस्यले आरोप लगाए। 

असन्तुष्ट समूहका नेता गुरु घिमिरेले भने केन्द्रीय समितिमा अनावश्यक विवाद गरेर महासमितिको अधिकार कुण्ठित गर्न लागेको आरोप लगाए। ‘अब केन्द्रीय समितिमा जति सहमति भयो। त्यति नै महासमितिमा ल्याऔँ’, उनले भने, ‘महासमिति पार्टीको एक सर्वोच्च निकाय हो। यसको सुझावमा विधान बनाउनुपर्छ। केन्द्रीय समितिमा विवाद गरेर महासमितिको अधिकार कुण्ठित गर्न हुँदैन।’

उनले देउवा समूहले आरक्षणको कुरा ल्याएर विधान रोक्न खोजेको आरोप लगाए। ‘पछाडि परेको व्यक्तिलाई निश्चित सीमासम्म अरक्षण गरेर ल्याउनुपर्छ’, उनले भने, ‘त्यहाँ ल्याएर योग्य र क्षमतावान बनाइनुपर्छ। अरक्षणको कुरा गर्दै अयोग्य व्यक्तिलाई टुप्पोसम्म पु¥याउन हुँदैन। यो लोकतान्त्रिक पनि हुँदैन।’

कड्किए सिटौला

मंगलबारको सहमति गर्नका लागि मुख्य भूमिका निर्वाह गरेका नेता कृष्णप्रसाद सिटौलाले बुधबारको बैठक भाँडिने अवस्था आएपछि आक्रोश व्यक्त गरेका छन्। पदाधिकारी बढाएरै भए पनि सहमिति गर्नुपर्ने उनको धारणामा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल सहमत भएका थिए।

बुधबारको बैठक स्थगित हुने वित्तिकै उनले महामन्त्री पूर्णबहादुर खड्का र अरू केन्द्रीय सदस्यहरूसँग आफ्नो आक्रोश व्यक्त गरेका हुन्। ‘हामीले एकताको सन्देश दिने भन्यौँ। महासमिति सदस्यहरू पनि विधान कुरेर बस्नुभएको छ। पूर्वनिर्धारित समयभन्दा महासमिति बैठक लम्बिसक्यो’, उनले भने, ‘महासमिति सदस्यहरूले हामीलाई खर्च माग्ने बेला भइसक्यो। अझै कति विवाद गर्ने?’

मंगलबार सिटौलाले पदाधिकारीको संख्या बढाउने देउवाको प्रस्ताव र प्रत्यक्ष निर्वाचनको माध्यमबाट आउने नेता पौडेलको प्रस्तावलाई एकीकृत गराएर सहमति जुट्ने वातावरण बनाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.