|

काठमाडौं : नेपालको संविधानले सबैलाई समान अधिकार र अवसरको कुरा गरेको छ। तर हामीलाई कतै जागीर खानुपरे अवसर छैन। किनकि मेरो नागरिकता छ तर नागरिकता अनुसारको स्वरूप मसँग छैन।

यो गुनासो हो तेस्रोलिंगी महिला भूमिका श्रेष्ठको। भूमिकाको नागरिकताको नाम कैलाश हो। उनी जन्मदा छोरा भएर जन्मिए। तर हुर्कदै जाँदा उनको स्वभाव, इच्छा, चाहना छोरीको जस्तै बन्दै गयो। अहिले भूमिका आफूलाई तेस्रोलिंगी महिला भन्छिन्। उनीजस्ता धेरै मानिस छन् जो जन्मदा छोरी भएर जन्मिनेहरू पनि हुर्कदै बढ्दै जाँदा उनीहरूको रुची, इच्छा, चाहनाहरू समयक्रमसँगै परिवर्तन हुँदै जान्छन्। भूमिका तिनै समुदायको अधिकारका निम्ति वकालत गर्दै आएकी छिन्।

यो अप्रकृतिक नभएर प्राकृतिक रूपमा नै हुने गरेको भए पनि राज्यको नीति, ऐन, कानुनले नसमेट्दा आफ्नो समुदायमा ठूलो समस्या रहेको भूमिका बताउछिन्। कार्यक्रममा भूमिकाले जन्मदा जन्मिएको पहिचानले अहिले फेरिएको पहिचान स्वीकार नगर्दा समस्या उत्पन्न भएको बताए। 'नागरिकतामा मेरो नाम फरक छ। फोटोमा ढाका टोपी लगाइएको छ। तर अहिले मेरो स्वरूप फरक छ, यसले समस्या बनाउछ', उनले भनिन्।

यौनिक तथा लैंगिक अल्पसंख्यक भनिन्छ यस्तो समुदायलाई जसमा समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगी, द्विलिंगी लगायतका समुदायमा पर्छन्। यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको महासंघ नेपाल र राइट हेयर राइट नाव नामक संस्थाले आयोजना गरेको कार्यक्रममा स्थायी तहका उपप्रमुखहरूसँग छलफल गर्दै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायहरूले आफ्नो समुदायको अधिकारका निम्ती सहयोग गर्न आग्रह गरे।

कार्यक्रममा निल हिरा समाजका अध्यक्ष पिंकी गुरुङले यौनिक तथा लैंगिक अल्पसंख्यकहरू अप्राकृतिक नभएर पहिचान मात्रै फरक भएको बताए। 'हामी अप्राकृतिक होइनौं। हाम्रो पहिचान मात्रै हो। तर हामीलाई फरक ढंगले हेर्ने गरिन्छ', उनले भने। उनले स्थानीय तहबाट पाउने सहयोगका निम्ती आफ्नो समुदायका बारेमा जानकारी दिन चाहेको बताए। 

कार्यक्रममा उनीहरूले स्थानीय तहले यौनिक तथा लैंगिक अल्पसंख्यकहरूलाई पनि समेट्न आग्रह गरे। उनले यस शीर्षकअन्तर्गत बजेट छुट्याएर संविधानले दिएको समान अधिकारको सम्मान गर्नसमेत आग्रह गरे। 'स्थानीय तहले हामीलाई सहयोग गर्नुस्। हाम्रो अधिकारका निम्ति हामीले अझ धेरै गर्नुछ', कार्यक्रममा भूमिकाले भने 'यौनिक तथा लैंगिक अल्पसंख्यकलाई स्थानीय तहमा नीति, बजेट, कार्यक्रम बनाउदा समेट्न आग्रह गर्छौं।' 

त्यस अवसरमा सहभागी स्थानीय तहका उपप्रमुखहरूले यो समुदायका बारेमा समाजमा अहिले पनि जानकारी नभएको भन्दै त्यसका बारेमा जानकारी दिन आग्रह गरे। अझै पनि आफ्नो पहिचानबारे खुल्न नसक्ने समस्या रहेको भन्दै उनीहरूले यसबारे सचेतना कार्यक्रम बनाउन र त्यसका निम्ति सहयोग गर्न स्थानीय तह तयार रहेको उनको भनाइ थियो।

कार्यक्रममा किर्तिपुर नगरपालिकाका उपप्रमुख सरस्वती खड्काले नगरपालिकाले यस वर्ष तेस्रो लिंगी समुदायका निम्ति दुई लाख बजेट छुट्याएको बताए। त्यस अवसरमा टोखा नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डंगोल, नागार्जुन नगरपालिका उपप्रमुख शुसिला अधिकारी, तारकेश्वर नगरपालिका उपप्रमुख भवानी डोटेल, गोकर्णेश्वर नगरपालिका उपप्रमुख शान्ति नेपाली र चन्द्रागिरी नगरपालिका उपप्रमुख लिशा नकर्मीले स्थानीय तहमा लक्षित वर्गअन्तर्गत बजेट हुने तर यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका निम्ति भने नछुट्याएको बताए। तर अब सचेतना कार्यक्रम सञ्चालन गरेर बजेट छुट्याउने प्रतिबद्धता जनाउने। तर त्यो समुदायको पहिचान पनि गरिनुपर्ने उपप्रमुखहरूको भनाइ थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.