|

पर्वत : रुख कटान आदेश नपाउँदा राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी प्रसारण करिडोरको काम प्रभावित भएको छ। प्रसारण लाइनको म्याग्दीको दानादेखि पर्वतको खुर्कोट खण्डमा रुख काट्ने आदेश नपाउँदा काम प्रभावित भएको हो।

मन्त्रिपरिषदले रुख काट्न अनुमति दिने निर्णय कार्यान्वयन नहुँदा २२० केभिए क्षमताको दाना–खुर्कोट प्रसारण लाइनमा ३० वटा टावर निर्माण कार्य रोकिएको छ। २०७४ पुस १३ को मन्त्रिपरिषद् बैठकले ३० वटा टावर निर्माण हुने वन क्षेत्रको २ दशमलब ५८ हेक्टर जग्गा भोगाधिकार र चार हजार २०८ वटा रुख काट्न अनुमति दिने निर्णय गरेको थियो। तर, उक्त निर्णय एक वर्षसम्म कार्यान्वयन नहुँदा वन क्षेत्रमा टावर बनाउने काम हुन नसको आयोजनाका प्रमुख चन्दनकुमार घोषले बताए। 

वन क्षेत्रमा ओगट्ने क्षेत्रफल बराबरको सट्टा जग्गा उपलब्ध गराउनुपर्ने वन विभागसँगको सम्झौता कार्यान्वयनमा आयोजनाले उदासीनता देखाएकाले बाध्य भएर कटान आदेश रोकिएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ। जग्गा उपलब्ध गराउन नसके बिरुवा रोप्न र हुर्काउने लागत समेत हिसाब गरी सट्टा जग्गाको मूल्य उपलब्ध गराउन सकिने विकल्प छ। तर, वनलाई उपलब्ध गराउने उपयुक्त जग्गा खोजी गर्दा नभेटिएकाले जग्गाको मूल्य निर्धारण गरिदिए सो बापतको रकम उपलब्ध गराउन तयार रहेको आयोजना प्रमुख घोषको भनाइ छ।

नेपाल विद्युत प्राधिकरणले म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा निर्माणाधीन जलविद्युत आयोजनाबाट उत्पादित विद्युत केन्द्रीय ग्रिडमा जोड्न दाना र खुर्कोटमा सबस्टेसन राखेर ३९ किलोमिटर प्रशारण लाइन बनाइरहेको छ। 

आयोजनाबाट म्याग्दीको ११ वटा सामुदायिक वन क्षेत्र प्रभावित छ। म्याग्दीमा ४७७ ठूला रुख र ९८१ साना बिरुवा काट्नुपर्ने छ। आयोजनाको ११४ वटामध्ये हालसम्म ८१ वटा टावर निर्माण भएको छ। अन्नपूर्ण गाउँपालिका–३ दाना र पर्वतको कुश्मा नगरपालिका–१ खुर्कोटमा विद्युत् सबस्टेसन निर्माण भइरहेको छ। टावर निर्माण भएको ठाउँमा छ किलोमिटर तार तानिएको छ।

एशियाली विकास बैंकको सहयोगमा सन् २०१६ मा दानादेखि खुर्कोट जोड्ने प्रसारण लाइन र सबस्टेसन निर्माण गर्न दुई अर्ब ९० करोड रुपैयाँमा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीसँग ठेक्का सम्झौता भएको थियो। २०१८ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको ठेक्का सम्झौताको म्याद छ महिना थप भएको छ। हालसम्म ७० प्रतिशतभन्दा बढी काम भएको आयोजनाले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.