‘हामीलाई साक्षी जस्तो मात्रै बनाइयो’

|

काठमाडौं : नेपाली कांग्रेसको महासमिति बैठक उद्घाटन गर्दै गत शनिबार सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले एकताको सन्देश दिन हात मिलाएरका थिए।

उपसभापति विजयकुमार गच्छदारको आग्रहमा र अर्का उपसभापति विमलेन्द्र निधिको सहयोगमा दुई नेताले हातेमालो गर्दै एकताको घोषणा गरे। वरिष्ठ नेता पौडेलले नचाहँदा नचाहँदै हातेमालो गरेको भए पनि निधिले नै मिल्न आग्रह गरेपछि भने विश्वास लागेको बताएका थिए। उनले भावनात्मक होइन, व्यावहारिक एकता गर्न आफू सधैँ तत्पर रहेको बताएका थिए। तर त्यो हात मिलाएर गरिएको एकता एक दिन पनि टिक्न सकेन। नेताहरूको हात त मिल्यो तर मन मिल्न सकेन।

धेरै महासमिति सदस्यहरूले नेताहरूको हात मिलेपछि अब मन पनि एक हुन्छ भन्ने सोचेका थिए। तर त्यसको भोलिपल्टदेखि नै नेताहरू गुटगत रूपमा विभाजित भए। विधान मस्यौदामा सहमति जुटाउने बेलामा नेताहरू गुटगत रूपमा विभाजित भए। उनीहरूले विधान मस्यौदामा आआफ्नो स्वार्थ लाद्न खोजेपछि अहिलेसम्म सहमति हुन सकेको छैन। नेताहरूले राती सहमति गर्ने र बिहान सहमति भंग गर्ने प्रक्रिया चलाइरहेका छन्। पछिल्लो समय सभापति देउवा र वरिष्ठ नेता पौडेलको धारणालाई समेटर मध्यमार्गबाट सहमति झिकिएको भए पनि देउवा निकटका केन्द्रीय सदस्यहरूले असहमति जनाएपछि उक्त सहमति पनि भंग भएको थियो।

जारी महासमिति बैठकको पूर्वनिर्धारित कार्यतालिकाअनुसार बुधबार नै महासमितिको बैठक सकिनुपर्ने हो तर महासमिति बैठकमा अहिलेसम्म विधान मस्यौदा प्रस्तुत नभएका कारण बैठकको समय शुक्रबारसम्म थपिएको छ तर नेताहरूबीच अहिलेसम्म सहमति नभएका कारण बैठक अझै लम्बिने निश्चित छ। विधान मस्यौदा अन्तिम टुंगो लागे पनि ७१ पृष्ठ लामो मस्यौदाको छपाइका लागि कम्तीमा एक दिन लाग्छ। त्यस कारण शुक्रबारबाट पनि महासमिति बैठक लम्बिने निश्चित छ।

महासमिति बैठकमा विधान मस्यौदा प्रस्तुत नगरिँदा धेरै महासमिति सदस्यहरू भने निराश भएका छन्। एकताको सन्देश दिन बोलाइएको महासमिति बैठकमा नेताहरू झनै गुटगत रूपमा विभाजित भएपछि महासमिति सदस्यहरू भने निराश भएका हुन्। उनीहरूले महासमिति सदस्यहरूलाई नै पार्टीको विधान बनाउन दिन पनि आग्रह गरेका छन्।

‘नेताहरू दुई समूहमा बाँडिएर आफ्ना नेता व्यवस्थापन गर्न मात्रै लागे’, हुम्लाबाट आएका महासमिति सदस्य पदमबहादुर लामा भन्छन्, ‘महासमिति सदस्यले उनीहरूले तयार पारेको विधानमा साक्षी बस्ने जस्तो मात्रै भयो। उनीहरूले आफ्नो मान्छे ल्याउन मात्र महासमिति सदस्यलाई अन्योल बनाए। पार्टीलाई संकट परेर त हामी आएको हो। हामी पनि विधान बनाउन सक्षम छौँ नि!’

महासमिति सदस्यहरूले बेलुकाको खाना र बस्नको व्यवस्था आफैँ गर्नुपर्नेछ। यस कारण महासमिति सदस्यहरूलाई बैठक नसकिँदा आर्थिक रूपमा समस्या भएको महासमिति सदस्यहरूले बताएका छन्। ‘४ गतेसम्मका लागि मात्रै खर्च बोकेर धेरै महासमिति सदस्यहरू आउनुभएको छ’, झापाका महासमिति सदस्य सुरेश सुब्बा भन्छन्, ‘महासमिति बैठक लम्बिँदा व्यवहार नै बिग्रियो। नबसौँ भने कार्यकर्ताले हामीलाई विश्वास गरेका छन्।’

नेताहरूले महासमिति सदस्यका विषयमा नसोच्दा समस्या भएको डडेल्धुरा सभापति कर्णबहादुर मल्ल बताउँछन्। ‘नेतृत्व गरिब सोचबाट ग्रसित हुँदा निर्णय आउन सकेन’, उनले भने, ‘नेतृत्व गुटगत स्वर्थभन्दा माथि उठ्नुपर्‍यो।’ उनले कांग्रेस अहिले जटिल अवस्थामा भएका कारण गुटमा विभाजित नहुने नेतालाई आग्रह गरे। ‘पार्टी अहिले जटिल मोडमा उभिएको छ’, उनले भने, ‘यो अवस्थामा नेताहरूले एकताको सन्देश दिनुपर्छ। आफैँ विभाजित भएर पार्टीलाई एक बनाउन सकिँदैन। पूर्वाग्रहमा बसेर पार्टीलाई अनिर्णयको बन्दी बनाउनुहुँदैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.