|

बिर्तामोड : भजन गायक पण्डित किशोर ढुङ्गानालाई नचिन्ने पूर्वमा कमै होलान्। सुमधुर स्वरका धनी किशोरले पूर्वाञ्चलका विभिन्‍न स्थानमा भजन गाए। उनको घर झापा बुधबारे हो।  पुराण तथा धार्मिक अनुष्ठानमा व्यस्त रहने किशोर कमैमात्र घरमा भेटिन्छन्।

व्यासमा पुराण सुनाइरहेका पण्डितले जब किशोरतिर इशारा गर्छन्, उनी भजन गाउन सुरु गरिहाल्छन्। उनको गाउने शैली पृथक छ। जस्ता भजन पनि गाउन सक्ने क्षमता उनमा छ। भजन गाएरै किशोरले बालकदेखि वृद्धसम्मको मन जिते।

किशोरले भजनसम्राट अनुप जलौटाका भजन हुबहु गाउँछन्। ‘सेम गाउँछस् भन्छन् साथीहरुले,’ उनी भन्छन्, ‘सबैले अनुप जलौटाको भजन गाएको मन पराउँछन्, अनि म पनि गाइदिन्छु।’

किशोरकी श्रीमती सीता पनि भजन गायिका हुन्। मिठा–मिठा भजन गाउँछिन्।

किशोरभन्दा सीता बढी व्यस्त हुन्छिन्। ‘पूर्वमा सीता र किशोरजत्तिको भजन गाउने अरु छैनन् भन्छन्,’ आमा वेदकुमारीले खुशी हुँदै सुनाइन्,‘यस्ता क्षमतावान छोरा–बुहारी पाउने आमा भनेर मलाई धाइजनमा सम्मान पनि गरे।’

भजन गाउँदै हिड्ने क्रममा किशोरले सीतालाई ११ वर्षअघि बुधबारेको मन्दिरमा भेटेका थिए। सीतालाई उनको भजन कला निकै मनपर्‍यो।दुबैको चिनजान भयो। चिनजानको छोटो समयमै विहे भयो। 'अब त छोरी जन्मेको पनि १० वर्ष भयो। नातिनीले पनि कृष्णको भजन गाउँछे। ४ वटाजति,’ हजुरआमा वेदकुमारीले भनिन्।

किशोर ३७ वर्ष भए। उनी धार्मिक वातावरणमा हुर्किए। धार्मिक ग्रन्थ गीता कण्ठ गर्न सक्ने खुबी भएकाले उनका हजुरबुवा ‘गीताचारी’ भनेर चिनिएका थिए। उनका बाबुमा पनि गीताको राम्रो ज्ञान थियो। किशोर आफैँ शास्त्री हुन्।

 किशोर सानो छँदा परिवारको आर्थिक अवस्था कमजोर थियो। आमा वेदकुमारीले ७ वर्षकै उमेरमा संस्कृत पढ्न धनगढी पठाइन्। उनले धनगढीमै वेद पढे, व्याकरण पढे। त्यसपछि वृन्दावन गए। वृन्दावनमै शास्त्रीको परीक्षा दिए। सङ्गीत सिके। घर छाडेको १८ वर्षपछि छोरो पण्डित बनेर फर्किएको आमाले सुनाइन्।

वृन्दावनमा सिकेको सङ्गीत गाउँले र आफन्तलाई सुनाए। गाउँमा आयोजना हुने किर्तन अनि पुराणमा उनले भजन गाएको देख्दा सबै छक्क पर्छन्। बाल्यकालमै गाउँ छाडेका किशोर फर्कदा अब्बल भजन गायक बनिसकेका थिए। भजन सुन्ने सबैले प्रशंसा गर्छन्। पुराणमा उनी प्रायः पण्डित लक्ष्मी खतिवडासँग हिँड्छन्। खतिवडा पनि किशोरका फ्यान हुन्।

जीवनभर भजनमै समर्पित रहन चाहन्छन्

सङ्गीतका पुजारी किशोरलाई र्‍याप भजन मन पर्दैन। प्यारोडी कहिलेकाँही गाउँछन्। प्यारोडीमा गायकको केही योगदान नरहने उनको तर्क छ। ‘अरुको सङ्गीतमा शब्द फेरेर गाउनुलाई प्यारोडी भन्छन्,’ किशोर भने,‘र्‍याप त गाउँदै गाउँदिनँ।’ उनी क्लासिकल र सुगम साङ्गीतिक भजन गाउँछन। भक्तराज आचार्यका भजन उनलाई उत्तिकै प्यारो लाग्छ।

भजनमा पोख्त किशोरले ‘भजन सुधा’ र ‘भक्तिसार’ गरी दुई एल्बम निकालेका छन्। दुबै एल्बममा १०-१० भजन संग्रहित छन्। अधिकांश भजनमा उनले आफैँ सङ्गीत भरेका छन्। भक्तिसार एल्‍बममा किशोर र सीता दुबैको आवाज छ।

केही महिनाअघि किशोर धार्मिक कार्यक्रमकै सिलसिलामा धरान-धनकुटाको बीचमा पर्ने विश्रान्ती मूलघाट पुगे। ७ दिन बसे। खुब भजन गाए। सबैको वाहवाही पाए। ‘छेउमा तमोर नदी कलकल बगेकी,’ उनले सुनाए, ‘त्यहीँनेर वृद्धाश्रम पनि रहेछ, दुःख पाएका मातापिताहरुसँग भेट भयो। उहाँहरुले भजन सुनेपछि सधैं यसरी नै गाउन आशिष दिनुभयो।’

किशोर भजनमै समर्पित हुन चाहन्छन्। यस विधामा लागेर सबैथोक पाएको किशोरको अनुभव छ।‘मलाई चौतर्फी फाइदा छ,’ उनी भन्छन्, ‘सबैमाझ चिनिएको छु, प्रशंसा पाएको छु अनि आत्मसन्तुष्टि पनि।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • yeah, m too the real fyan of the couple .. i find them really outstanding singer$. I'm sure the'll win the contrast of singing .. !!! all the best to mr.Kishor and her compliment Sita for their get up...!!! JSN